७ वैशाख २०८१ शुक्रबार
खेल

एक्युरेसीमा पदकको आशा कमजोर

एक्युरेसी प्रतिस्पर्धामा स्पट ल्यान्डिङ गर्दै नेपाली प्याराग्लाइडिङ पाइलट ।   तस्बिर सौजन्य : शैलन रावत

पोखरा – इन्डोनेसियामा जारी १८औं एसियन गेम्सअन्तर्गत प्याराग्लाइडिङतर्फ एक्युरेसी विधाको प्रतिस्पर्धामा चौथो राउन्ड सकिँदा नेपाली पाइलटले पदक जित्ने सम्भावना भने केही कमजोर बनेको छ। 

हावाको चापले आज मंगलबार दोस्रो दिन खेलाडीको सोचेजस्तो प्रदर्शन भने हुन नसकेको प्याराग्लाइडिङका अफिसियल सानोबाबु सुनुवारले बताए । ‘हामीलाई यो प्रतिस्पर्धा नयाँ हो । तर सोचेभन्दा राम्रो प्रदर्शन गरेका छन्,’ उनले भने, ‘आज बुधबार फाइनल हुनेछ ।’ नेपालले पदकको आशा भने प्याराग्लाइडिङकै अर्को विधा क्रस कन्ट्रीमा गरेको उनले बताए । क्रस कन्ट्रीमा निश्चित दूरी, उचाइमा पुगी फर्किएर ल्यान्डिङ गर्ने हो। 

एकल प्रतिस्पर्धाअन्तर्गत एक्युरेसीतर्फ पुरुषमा विजय गौतम र सुशील गुरुङ छन् भने महिलातर्फको सोही प्रतिस्पर्धामा त्रिशा श्रेष्ठ र प्रतिभा भुजेलले प्रतिस्पर्धा गरिरहेका छन् । दोस्रो राउन्ड सकिँदा २२ अंकसहित तेस्रो स्थानमा रहेका विजय गौतम भने दोस्रो दिन मंगलबार पाँचांै राउन्ड सकिँदा ११औं स्थानमा झरेका छन्। 

एकल एक्युरेसीका अर्का प्रतिस्पर्धी सुशील गुरुङ २५औं स्थानमा छन् । पाचौं राउन्ड सकिँदा पुरुष टिम एक्युरेसी इभेन्टमा नेपाल आठाैं स्थानमै छ । पहिलो स्थानमा आयोजक इन्डोनेसिया, दोस्रोमा चीन, तेस्रोमा मलेसिया, चौथोमा थाइल्यान्ड र पाँचौंमा कोरिया, छैटौंमा साउदी अरेबिया तथा सातौंमा चाइनिज ताइपेई रहेका छन्। 

महिलातर्फको एकल एक्युरेसीमा नेपाली पाइलट त्रिशा श्रेष्ठ भने जापानकी खेलाडीसँग दशौं स्थानमा छिन् । अर्की प्रतिस्पर्धी प्रतिभा भुजेल भने १६औं स्थानमा छिन् । महिला टिम एक्युरेसीमा भने नेपाल चौथो स्थानमा यथावत् छ । इन्डोनेसिया, थाइल्यान्ड र कोरिया नेपालभन्दा अघि छन् । यद्यपि टिम एक्युरेसीमा महिला टिम इभेन्टमा पदकको झीनो आशा भने अझै जीवितै छ । बुधबार अन्तिम राउन्डपछि मात्रै पदकको टुंगो लाग्नेछ । टिम एक्युरेसीमा भने दशौं राउन्डसम्म प्रतिस्पर्धा हुने अफिसियल सुनुवारले बताए।

इन्डोनेसियाको गुनुङ मास पानकाकमा आयोजित प्याराग्लाइडिङको प्रतिस्पर्धाअन्तर्गत नेपालले पदकको आशा गरेको क्रस कन्ट्रीको प्रतिस्पर्धा भने बिहीबारदेखि सुरु हुनेछ । पुरुष टिम क्रस कन्ट्रीमा विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा छन् । त्यसै गरी महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धा गर्ने नेपाली टिमका अफिसियल शैलेन रावतले जानकारी दिए। 

प्रकाशित: ६ भाद्र २०७५ ००:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App