coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सञ्जुद्वारा तीन राष्ट्रिय कीर्तिमानमा सुधार

जकार्ता – भारोत्तोलनमा सञ्जु चौधरीले मंगलबार तीन राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छिन् । जेआई एक्स्पोस्थित भारोत्तोलन हलमा महिला ५३ केजी तौलसमूहको प्रतिस्पर्धामा स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। 

आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमान तोड्ने क्रममा सञ्जुले मंगलबार स्न्याचमा ७२ केजी तौल उचालेकी थिइन् भने क्लिन एन्ड जर्कमा ८६ तथा समग्रमा १ सय ५८ केजी भार उठाइन् । यसअघि स्न्याचमा ७१, क्लिन एन्ड जर्कमा ८५ तथा समग्रमा १ सय ५६ केजी तौलको राष्ट्रिय कीर्तिमान उनकै नाममा थिए । चौधरीले यसअघि सबै तीन कीर्तिमान जेठमा काठमाडौंमा सम्पन्न अन्तरक्लब भारोत्तोलन च्याम्पियनसिपमा बनाएकी थिइन्। 

कीर्तिमानी प्रदर्शन गर्नाका बावजुद सञ्जु प्रतिस्पर्धामा सहभागी १२ खेलाडीमध्ये पुछारमा सीमित थिइन् । फिलिपिन्सकी हिडिलिन डियाज स्न्याचमा ९२, क्लिन एन्ड जर्कमा १ सय १५ तथा कुलमा २ सय ७ केजी तौल उचाल्दै स्वर्ण पदक जित्न सफल हुँदा तुर्कमेनिस्तानकी क्रिस्टिना शेर्मेटोभाले रजत तथा थाइल्यान्डकी सुरोडचना खम्बाओले कांस्य पदक हात पारे ।  क्रिस्टिनाले स्न्याचमा ९३, क्लिन एन्ड जर्कमा १ सय १३ तथा कुलमा २ सय ६ केजी भार उठाएकी थिइन् भने खम्बाओले स्न्याचमा ८६, क्लिन एन्ड जर्कमा १ सय १५ तथा कुलमा २ सय १ केजी उचालेकी थिइन्। 

‘एसियाली खेलकुदमा हामीले पदक जित्ने सम्भावना छैन । हामी यहाँ पदक जित्ने लक्ष्य लिएर आएका पनि थिएनौं । हाम्रो लक्ष्य भनेकै बढीभन्दा बढी राष्ट्रिय कीर्तिमान बनाउने हो । आज सञ्जुले अपेक्षाअनुसार राम्रो गरिन् । समग्रमा आजको प्रदर्शन सुखद रह्यो।’

सञ्जुले स्न्याचतर्फ पहिलो प्रयासमा सफलतापूर्वक ६८ केजी तौल उचालेकी थिइन् । दोस्रो प्रयासमा ७२ केजी उचालेकी उनले ७३ केजी उचाल्न गरेको तेस्रो प्रयास असफल भएको थियो । यसै गरी क्लिन एन्ड जर्कमा पनि उनले पहिलो प्रयासमा ८२ तथा दोस्रो प्रयासमा ८६ केजी सफलतापूर्वक उचालेकी थिइन् । तर ८८ केजी उचाल्ने तेस्रो प्रयास भने सफल भएन। 

अन्तिम स्थानमा सीमित भए पनि राष्ट्रिय कीर्तिमानमा सुधार हुनु ठूलो उपलब्धि भएको नेपाली टिमका व्यवस्थापक विजेन्द्र शाहले बताए । भारोत्तोलनमा थप राष्ट्रिय कीर्तिमान बन्ने सम्भावना बलियो रहेको बताउँदै उनले थपे, ‘एसियाली खेलकुदमा हामीले पदक जित्ने सम्भावना छैन । हामी यहाँ पदक जित्ने लक्ष्य लिएर आएका पनि थिएनौं । हाम्रो लक्ष्य भनेकै बढीभन्दा बढी राष्ट्रिय कीर्तिमान बनाउने हो । आज सञ्जुले अपेक्षाअनुसार राम्रो गरिन् । समग्रमा आजको प्रदर्शन सुखद रह्यो।’

बास्केटबल :
थ्री बाई थ्री बास्केटबलमा नेपाली पुरुष टोलीले मंगलबार दुई पराजय सामना गरेको छ । जकार्ता कन्भेन्सन सेन्टरस्थित जिबिके बास्केट हलमा नेपालले समूह ‘सी’ अन्तर्गतका खेलमा जापानलाई सडनडेथमा २२–११ तथा कतारलाई पनि सडनडेथमै २१–८ ले नतिजा सुम्पियो। 

जापानविरुद्धको खेलमा झन्डै आधा समयसम्म प्रतिस्पर्धात्मक प्रदर्शन गरेको नेपाली टोली त्यसपछि भने ओइलाएको थियो । ४ मिनेट ५७ सेकेन्डसम्म १०–१२ को स्कोरमा पछि रहेको नेपालले त्यसपछि लगातार विपक्षीलाई अंक सुम्पिएको थियो । जापानले पछिल्लो पाँच मिनेट नेपाललाई पूरा दबाबमा राख्दै स्कोर गरिरहेपछि नेपाल पूरा १० मिनेट  कोर्टमा टिकिरहन सकेन । थ्री बाई थ्री बास्केटबलको पहिला २१ स्कोर गर्ने टिमले जित्ने नियमअनुसार जापानले निर्धारित  समयको १ मिनेट ३६ सेकेन्ड समय बाँकी रहँदै सडनडेथमा नतिजा हात पार्यो।  

नेपाली टोलीका लागि निश्चल महर्जन र मविन्द्र भण्डारीले एक–एक दुई प्वाइन्टरका साथ समान ४ स्कोर गरे । आशिष बस्नेतले २ तथा अजय कुशवाहले एक स्कोरको योगदान गरे। जापानका लागि योसियुकी मात्सुवाकीले सर्वाधिक ११ स्कोर गर्दा आयाते आराकावाले ७ तथा यासुकी मियाकोसी र तेन्सो सुगिमोतोले समान २ स्कोरको योगदान गरे । 
कतारविरुद्धको खेलमा थप निरीह रूपमा प्रस्तुत भएको नेपाली टोलीको चुनौती ५ मिनेट ५३ सेकेन्डमै टुंगिएको थियो । निर्धारित १० मिनेटको खेलमा कतारले ४ मिनेट ७ सेकेन्ड बाँकी रहँदै २१ स्कोर गरेर सडनडेथ प्रणालीमा नतिजा हात पारेको थियो।

नेपाली टोलीका प्रशिक्षक विकास शाहीले पहिलो खेलमा जापानविरुद्ध आफ्ना खेलाडीले राम्रो प्रदर्शन गरे पनि कतारसँग खेलको दोस्रो मिनेटमै निश्चल महर्जन घाइते हुनु दुर्भाग्यजनक रहेको बताए । निश्चल महर्जन सुरुमै घाइते भएपछि नेपालले कतारविरुद्धको खेलमा खेलाडी फेर्न समेत पाएको थिएन । तीन खेलाडीको एउटै सेटले पूरा समय खेल्नुपरेको थियो । विपक्षी खेलाडीसँग ठोक्किएर लड्दा निश्चलको टाउको काट्नुका साथै खुट्टामा पनि चोट लागेको थियो । त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालमा उनको टाउकोको एमआरआई गर्नुपरेको थियो। 

‘कतारले निक्कै बल प्रयोग गरेर खेल्यो । हाम्रा खेलाडीको टाउको काटेको छ । टाँका लगाउनुपर्छ भनेको छ । खुट्टा पनि टेक्न गाह्रो भइरहेको छ । एमआरआई र अरू रिपोर्ट आएपछि आगामी खेलमा खेल्न मिल्ने÷नमिल्ने विषयमा डाक्टरले सल्लाह दिनेछन्,’ प्रशिक्षक शाहीले नागरिकसँग भने। 

टोलीले समूह चरणअन्तर्गतका खेलमा बिहीबार माल्दिभ्स, सिरिया र जोर्डनसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्नेछन्। 

आर्चरी :
ज्ञानु अवाले महिला व्यक्तिगत रिकर्भको एलिमिनेटरका लागि छनोट हुँदा पुरुषतर्फ तिलक पुन मगर र रोशन नगरकोटी पनि अघिल्लो चरणलाई छानिएका छन् । पुरुष व्यक्तिगत विधामा असीम शेरचन र मीनप्रसाद गौचन भने मंगलबारको र्याङकिङ राउन्डमै असफल भए। 

महिलातर्फ ज्ञानुले ७० मिटरको पहिलो चरणअन्तर्गत ३६ एरोमा २ सय ८६ स्कोर गरेकी थिइन् । दोस्रो चरणमा ३ सय स्कोर गर्दा उनको कुल स्कोर ७ सय पूर्णांकमा ५ सय ८६ पुगेको थियो । कुल ६६ सहभागीमध्ये ५५औं स्थान हासिल गर्दै उनी बिहीबारको एलिमिनेसन चरणका लागि छानिएकी थिइन् । र्याङकिङ चरणमा शीर्ष ६४ भित्र पर्ने खेलाडी अघिल्लो चरणलाई छानिने प्रावधान छ। 

पुरुषमा तिलकले पहिलो चरणको ७० मिटरमा ३६ एरो प्रहार गर्दा ३ सय २४ तथा दोस्रो चरणमा ३ सय १७ गरी कुल ७ सय पूर्णांकमा ३ सय ४१ स्कोर गरेका थिए । यो तिलकको व्यक्तिगत उच्च स्कोर हो । उनले यसअघि ३  सय ४० भन्दा बढी स्कोर गर्न सकेका थिएनन् । उनी कुल ७९ सहभागिमध्ये ३७औं स्थान हासिल गर्न सफल भएका थिए। 

यसै गरी रोशनले पहिलो चरणमा ३ सय १८ तथा दोस्रोमा ३ सय १९ गरी कुल ६ सय ३७ स्कोर गर्दै ४०औं स्थान हासिल गरे । शीर्ष ६४ मा पर्न सफल भएपछि रोशन पनि तिलकसँगै व्यक्तिगत विधाको अघिल्लो चरणका लागि छनोट भए। 

असीम र मीनप्रसादका लागि मंगलबारको दिन सुखद रहेन । असीमले पहिलोमा २ सय ९२ तथा दोस्रोमा ३ सय १६ गरी कुल ६ सय ८ स्कोर गरेका थिए भने मिनप्रसादले पहिलोमा ३ सय ८ तथा दोस्रोमा २ सय ८९ गरी कुल ५ सय ९७ स्कोर गरेका थिए । असीम ६८ तथा मीनप्रसाद ७१औं स्थानमा सीमित भएपछि व्यक्तिगततर्फ अघिल्लो चरण पुग्न सफल भएनन् । तर टिम स्पर्धामा भने चारै खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले जानकारी गराए । पुरुषतर्फका टिम र व्यक्तिगत दुवै इभेन्ट्स बिहीबार नै हुनेछन्। 

अध्यक्ष गुरुङले तयारीअनुसार तिलक र रोशनको प्रदर्शनबाट आफू उत्साहित रहेको बताए । ‘तिलकले अहिलेसम्म ६ सय ४० हान्न सकेको थिएन । रोशनले त ६ सय ३५ कटाउन सकेको थिएन । आज दुवैले आफ्नो व्यक्तिगत स्कोरमा सुधार गरेका छन् । एउटामा ३ सय २८ सम्म हाने पनि अर्कोमा ३ सय पनि नपुग्ने समस्या थियो । प्रदर्शनमा एकरूपता थिएन।

आज दुवैले दुवै चरणमा एकरुरूको प्रदर्शन गरेका छन्, यो खुसीको कुरा हो,’ नागरिकसँगको कुराकानीमा उनले भने, ‘जितबहादुर मोक्तानले ६ सय ४२ स्कोर गरेर दुई वर्षअघिको रियो ओलम्पिकमा वाइल्ड कार्ड अपिल गरेको हो । त्यसैका आधारमा जितबहादुरले ओलम्पिक खेल्न पाएका थिए । आज तिलक जितबहादुरको त्यो स्कोरभन्दा एक अंकले मात्र पछि परे । यो प्रदर्शनलाई निरन्तरता दिँदै थप सुधार गर्नु हाम्रो अबको चुनौती हो।’

उसु : 
लुमन्ती श्रेष्ठ मंगलबार सान्सौको ६० केजी तौलसमूहमा थाइल्यान्डकी सुचाया बुआलुआङसँग चेज प्वाइन्टका आधारमा पराजित भएपछि १८औं एसियाली खेलकुदको उसुमा नेपालले पदक जित्ने सम्भावना व्यवहारिक रूपमा समाप्त भएको छ । सोझै क्वार्टरफाइनल खेल्न पाएकी लुमन्तीबाट नेपाली उसु टोलीले पदक आशा गरेको थियो । मंगलबारको खेलमा जित हासिल गर्न सकेको भए उनले कम्तीमा कांस्य पदक जित्ने थिइन्। 

मंगलबारै दक्षिण एसियाली खेलकुदका रजत पदक विजेता युवराज थापा पुरुष थाउलुमा राम्रो प्रदर्शनका बावजुद पदक जित्न सफल भएनन् । दुई वर्षअघि भारतमा सम्पन्न १२औं सागमा स्वर्ण पदक जित्ने खेलाडीको भन्दा बढी ९.२० स्कोर गरेका उनले कुल सहभागी २३ खेलाडीमध्ये १७औं स्थान हासिल गरेका थिए । उनीभन्दा पछि पर्नेमा भारतका पुनसिभा मेइटेई मायाङग्लामबम, अफगानिस्तानका जम्सेद इब्राम र पाकिस्तानका मोहम्मद दाउद थिए । उक्त इभेन्ट्समा मकाउका जुन्हुवा हुवाङले ९.७३ स्कोरका साथ स्वर्ण पदक जित्दा भियतनामका क्युक खान्ह फामले ९.७१ स्कोरका साथ रजत तथा कोरियाका योङमन लीले ९.७१ स्कोरका साथ रजत पदक जिते।

नेपालका प्रशिक्षक अमरबहादुर थिङले उसुबाट पदक जित्ने व्यावहारिक सम्भावना सकिएको स्विकारे । ‘हामीले राम्रै खेलिरहेको हो । आज लुमन्तीबाट पदक आशा गरेका थियौं । तर सकिएन । अब भोलि एक जनाले थाउलुमा मात्र खेल्न बाँकी छ । त्यसमा पदक जित्न सजिलो छैन,’ उनले भने । उसुमा अब नेपालबाट बुधबार थाउलुअन्तर्गत छाङ छ्वानमा सुस्मिता तामाङले प्रतिस्पर्धा गर्नेछिन्। 

प्रकाशित: ५ भाद्र २०७५ १५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App