८ वैशाख २०८१ शनिबार
राजनीति

‘प्रधानमन्त्री र मन्त्रीहरु माफियाबाट सञ्चालन भएका छन्’

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले प्रधानमन्त्री कार्यालय र हरेक मन्त्रालयहरु माफियाहरुले चलाएको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबमा मंगलबार आयोजित साक्षात्कारमा उनले भने, ‘सरकार त कम्युनिष्ट नामधारी मात्रै हो। कामधारी होइन्। सरकारसँग दुई तिहाई भएकोले केही गर्छ कि भन्ने आशा थियो। तर, केही गर्न सकेन्।’

पूर्वमन्त्रीसमेत रहेका सांसद देवले सरकारले सिण्डिकेट र सुन काण्डमा कति राम्रो गर्यो भन्ने देखिएपनि रिजल्ट जिरो आएको आरोप लगाए। उनले भने, ‘वास्तवमा बाबुरामजी र सिपी मैनालीले भनेजस्तै यो सरकार दलाल, पुँजीपतिमात्रै नभएर आसेपासे पुँजीपतीको पछि लागेको छ। त्यस्ता पुँजीपतीहरुको यो सरकारले संरक्षण गरिरहेको छ।’
सदस्यता पार्टीको र माफियाकरण शिक्षा, स्वास्थ्य र हवाई क्षेत्रको गर्नेहरुले सरकारलाई घेरेको र निर्देशित गरेको उनको आरोप छ।  

‘सरकारले ६ महिनामा भाषणबाहेक केही गरेन’

राजपाका सह–अध्यक्ष एवम् संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारले ६ महिने कार्यकालमा एउटापनि राम्रो काम गर्न नसकेको आरोप लगाए। 

‘६ महिने कार्यकालमा प्रधानमन्त्री र मन्त्रीहरुको काम नै भाषण मात्रै गर्ने देखियो। उहाँहरुको भाषण हेर्दा त नेपाल कहाँबाट कहाँ पुगिसक्योजस्तो लाग्छ। तर, काम केही पनि गरेको छैन्’, उनले भने।

कुनै मन्त्रालयको काम, कृति ठिक ढंगको नभएको आरोप लगाउँदै उनले भने, ‘गाउँभित्रका सडकहरु बनेका छन्। तर, गाउँ जोड्ने मूल सडकहरुको कन्तबिजोग छ। अरु त परै जाओेस मोटरसाइकल समेत चल्न सकेको छैनन्।’ सरकारको ६ महिने कार्यकालबारे कामको मुल्यांकन गर्ने हो भने त जिरो नै रहेको उनको दाबी छ। 

फरक प्रसँगमा नेता कर्णले प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ को प्रदेश सभामा गरेको भाषणलाई आफूहरुले वाहवाही नगर्ने स्पष्ट पारे। उनले भने, ‘ओलीजीको भाषणमा हामीले वाहवाह गर्नुपर्दैन्। ओलीले आश्वासनबाहेक अरु केहीपनि दिएनन्। संविधान संशोधनमा पनि उनले हामीलाई आश्वासन दिएका छन्। तर संविधान संशोधन गर्नको लागि कुनै चासो र गृहकार्य गरेको देखिँदैन्।’

मधेश आन्दोलनका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएको बताउँदै उनले भने, ‘अझैसम्मपनि मुद्दा फिर्ता गरिएको छैन। बन्दी रिहाई गरिएको छैन। तर प्रधानमन्त्रीले हामीसँग सहमति गर्नुभएको छ।’

‘सरकार उड्नुपर्ने हो, तर हिँड्नपनि दिइएन’

सत्तारुढ दल नेकपाका नेता एवम् निवर्तमान कानूनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारकोविरुद्धमा वर्तमान सरकार कठोर रुपमा प्रस्तुत हुने बताएका छन् । 

उनले भने,‘सरकारले न्यायालयलगायत अन्य क्षेत्रमा हस्तक्षेप गर्यो भनेर गलत प्रचार गरिएको छ । तर, सरकार भ्रष्टाचारीलाई कडा कारबाही गर्नेगरि अघि बढेको छ । बलात्कारीले नारीको अस्मिता लुट्छ, तर भ्रष्टाचारीले त मुलुकको अस्मितामाथि बलात्कार गर्छ । यसबारेमा सरकारले मृत्युपर्यन्त जेल सजाय दिनेसम्मको कानून अघि बढाउँदैछ ।’

सरकारलाई काम गर्नको लागि केही अप्ठ्याराहरु रहेको सुनाउँदै तामाङले भने,‘अहिले सरकारलाई हिँड्न दिईएको छैन । सरकार कुद्नेमात्रै होइन यतिवेला उड्नुपर्ने हो । तर हिँड्नसमेत दिईएन् ।’

संघीय कानूनको अभावमा केही स्थानीय तहरुले कर उठाउन थालेको विषयलाई ठूलो ईस्यु बनाईएको पनि उनको गुनासो छ । उनले भने,‘केही स्थानीय तहहरुले सबै अधिकार हामीमा आयो भन्ने ठानेर केही ठाउँहरुमा कर उठाएको देखियो । कानूनको अभावमा यस्तो भयो । अब सबै कुरा व्यवस्थित् हुन्छ । सरकारले करको दायरा र शीर्षक निक्र्यौल गर्नुपर्छ ।’

सुनुवाई समितिको पछिल्लो कदमबाट अब न्यायालय स्वच्छ, सक्षम र पारदर्शी हुने आफ्नो विश्वास रहेको पनि उनको भनाई थियो । उनले भने,‘उच्च नैतिकवान र आदर्शवान व्यक्तिमात्रै अब न्यायाधीश बन्न पाउँछन् । उनीहरुले गरेको फैसला पीडकको नभई पीडितको पक्षमा हुनेछन् ।’

प्रकाशित: ५ भाद्र २०७५ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App