coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्र हितविपरीत जान्नँ : दाहाल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण राजनीतिकभन्दा पनि आर्थिक मुद्दामा केन्द्रित हुने भएको छ। प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र्र मोदीको निमन्त्रणमा आज (बिहीबार) चार दिने भ्रमणमा जाँदै छन्।

भ्रमणक्रममा प्रधानमन्त्री दाहालले आर्थिक विकासका लागि नयाँ सम्झौताभन्दा पनि विगतमा गरिएका सम्झौता तथा समझदारीलाई नै प्राथमिकतामा राख्ने भएका छन्। बुधबार संसद्मा भ्रमणबारे जानकारी दिने क्रममा उनले यसपटकको भ्रमण आर्थिक विषयमा केन्द्रित रहने बताए। भारत भ्रमण असल नियतका साथ विश्वासको वातावरण बनाउनेतर्फ केन्›ित रहने जानकारी दिए। 'यसपटक भ्रमणमा हाम्रो प्राथमिकता धेरै विषय उठान गर्नुभन्दा असल नियतका साथ नेपाल र भारतबीच विश्वास निर्माण गर्ने रहनेछ,' भ्रमणबारे जानकारी दिँदै दाहालले भने, 'नेपालको हित हुने गरी यसअघि सहमतिमा पुगेका परियोजनाको प्रभावकारी र शीघ्र कार्यान्वयन गर्न जोड दिइनेछ।'

दाहालले भ्रमणमा भारतीय भूमि हुँदै 'बल्क कार्गो' विशाखापट्नम बन्दरगाहबाट नेपालका नाकासम्म ल्याउन रेल सेवा सञ्चालनका लागि दुई देशबीच विद्यमान रेल सेवा सम्झौतालाई संशोधन गर्नेसम्बन्धी पत्र आदान–प्रदान गर्ने, भारतसँग नेपालको व्यापार घाटा कम गर्ने उपायबारे छलफल गर्ने, गौरीफन्टा तथा दोधारा–चाँदनीबाट व्यापार तथा पारवहनमार्ग सञ्चालनको सम्भावनाबारे कुराकानी गर्ने, दुई देशबीच सीमापार रेलवे स्थापना गर्ने सम्बन्धमा भइरहेका कामलाई चाँडो सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राखिएको बताए।

भ्रमण समयमा विगतका सम्झौता पालना गराउनेतर्फ पनि कुरा गरिने उनले जनाए। उनले हुलाकीमार्गको पहिलो चरणको निर्माण र दोस्रो चरणको सहायताबारे छलफल गर्ने बताए। 'विषयवस्तुका दृष्टिले हुलाकी मार्गबारे नेपाल र भारतबीच भएको समझदारीपत्रअनुसार पहिलो चरणको निर्माण कार्यको शीघ्र थालनी प्रमुख प्राथमिकता हुनेछ,' उनले भने, 'साथै हुलाकीमार्गको दोस्रो चरणका लागि समेत भारतीय सहयोगको सम्भावनाबारे कुराकानी हुनेछ।'

अर्को प्रमुख प्राथमिकतामा रहेको ऊर्जा क्षेत्रमा सहयोग सम्बन्धमा यसअघि सम्पन्न भइसकेको ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयनलगायत पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन शीघ्र अनुमोदन गरी अन्य कार्यारम्भ गर्ने विषयमा समेत पहल हुने दाहालले जानकारी दिए।

भूकम्पपछि पुनर्निर्माणमा भारतीय सहयोगसम्बन्धमा छलफल गर्ने, नेपाल–भारत सीमाको वीरगन्जमा एकीकृत चेकपोस्ट निर्माण यथाशीघ्र सम्पन्न गरी विराटनगर, भैरहवा र नेपालगन्जमा समेत निर्माण कार्य आरम्भ गर्ने एवं भारत सरकारबाट घोषणा भएको सहुलियतपूर्ण ऋणको पूर्वाधारका क्षेत्रमा उपयोग गर्नेबारे भ्रमण समयमा छलफल हुने उनले बताए।

साथै, सीमाक्षेत्रमा देखिएका डुबानसम्बन्धी समस्या समाधानका लागि छलफल हुनेछ। दुवै पक्षबाट आन्तरिक निर्णयका प्रक्रिया यथासमय पूरा भएको अवस्थामा नेपाल गुणस्तर तथा नापतौल विभाग र भारतीय मानक ब्युरोका बीच सहयोगसम्बन्धी समझदारीसमेत हुने उनले जानकारी दिए।

'नेपालले प्रस्तुत गर्ने तयारी गरेका विषय एवं भारतीय पक्षबाट आउने प्रस्तावसम्बन्धमा हाम्रो तर्फबाट नेपालको सर्वोत्तम हित हुने गरी छलफल, विचार–विमर्श एवं समझदारी हुनेछ,' प्रधानमन्त्री दाहालले भने।

भ्रमणक्रममा प्रधानमन्त्री दाहाल राष्ट्रपति कार्यालयमा बस्ने छन्। उनी ३० गते नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। ३१ गते राष्ट्रपति भवनमा आयोजना हुने औपचारिक स्वागत समारोहमा सहभागी हुने, त्यसपछि राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। सोही दिन प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग भेट्नुका साथै प्रधानमन्त्री नरेन्› मोदीसँग औपचारिक बैठकमा सहभागी हुने कार्यक्रम छ।

भ्रमण अवधिमा दाहालले भारतको हिमाञ्चल प्रदेशस्थित नाथपा झाक्री जलविद्युत आयोजना अवलोकन गर्नुका साथै त्यहाँको औद्योगिक उत्पादन एकाइको निरीक्षण गर्ने छन्। नयाँ दिल्लीमा भारतका विद्वतवर्ग तथा व्यापारिक समुदायसँगको अन्तरक्रियासँगै भारतमा रहेको नेपालीसँग समेत भेटघाट गर्ने कार्यक्रम छ।

प्रकाशित: ३० भाद्र २०७३ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App