१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

राष्ट्र बैंकले भन्याे : आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्नुस्

काठमाडाैं- नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५/७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ। 

प्रतिनिधिसभा, आर्थिक समितिको मंगलबारको बैठकमा बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्ला दुई वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रमा भएको आर्थिक वृद्धिदरको विश्लेषणपछि गरिएको ८ प्रतिशत कायम हुने पर्याप्त आधार भएको बताए। सरकारको ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पु-याउने, लगानीयोग्य साधन अभिवृद्धि गर्ने र दीर्घकालीन प्रकृतिका ब्याजदरमा कमी ल्याउने मौद्रिक नीति अघि सारेर बैंकले काम गरिरहेको उनले जानकारी दिए। 

बैंक तथा वित्तीय संस्थाको निक्षेप रु दुई हजार ७४२ अर्ब पुगेको तथा यो कुल गार्हस्थ्य उत्पादनको ९१.२ प्रतिशत भएकोे बैंकले जनाएको छ। बैंक तथा वित्तीय क्षेत्र संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा २२५ प्रतिशतले वृद्धि भई दुई हजार ४०० अर्ब पुगेको र यो कुल गार्हस्थ्य उत्पादनको ७९.८ रहेको जनाइएको छ। 

आव २०७४/७५ मा कूल वस्तु आयात २५.५ प्रतिशतले बढेर एक हजार २४२ अर्ब ८३ करोड पुग्नाका साथै निर्यात भने रु ८१ अर्ब १९ करोड बराबरको भएको तथ्याङ्क प्रस्तुत गरिएको छ। आव २०७४/७५ मा विस्तृत मुद्राप्रदाय १९.४ प्रतिशतले बढेको जानकारी दिँदै बैंकले अघिल्लो वर्ष उक्त मुद्राप्रदाय १५.५ प्रतिशतले बढेको तथ्याङ्क प्रस्तुत गरेको थियो। 

कुल वस्तु व्यापारमा अहिले वार्षिक बजेट घाटा रु एक हजार १६१ अर्ब ६४ करोड पुगेको छ भने विप्रेषणको अवस्था वार्षिक रुपमा रु ७५५ अर्ब छ करोड रहेको छ। अघिल्लो वर्ष रु ८२ अर्ब ११ करोडले बचतमा रहेको समग्र शोधानान्तरण स्थिति समीक्षा वर्षमा रु ९६ करोडले मात्र बचत रहेको पनि डा नेपालले जानकारी दिए। बैंकिङ क्षेत्रसँग कुल विदेशी विनिमय सञ्चिति रु एक हजार १०२ अर्ब ५९ करोड छ। कुल विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बैंकले अनुमान गरेको छ। 

गत असार मसान्तसम्म २८ वाणिज्य बैंकमध्ये २५ र ३३ विकास बैंकमध्ये २१ तथा २५ वित्त कम्पनीमध्ये ११ वटाले तोकिएको चुक्ता पूँजी पु-याएको समितिलाई जानकारी दिइएको छ। समस्याग्रस्त घोषणा भएका १६ मध्ये दुई संस्था खारेजीमा गएको तथा नौ संस्था रिजोलुसनपछि सञ्चालनमा आएको बताइएको छ। 

ढुकुटीमा रु एक खर्ब ३८ अर्ब 

बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल असार मसान्तसम्ममा छ हजार ६५१ पुगेको तथा ७५३ मध्ये हालसम्म ६३७ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति रहेको बताइएको छ। मुलुकको ढुकुटीमा अहिले नगद मौज्दात रु १३८ अर्ब रहेको छ भने रु २८ अर्ब बराबरको सुनचाँदी छ। समग्रमा एक नेपालीले रु १०० कमाउँदा रु आठ मात्र बचत गर्ने तथा बाँकी रकम उपभोग र विलासिताका वस्तुमा खर्च गर्ने प्रवृत्ति देखिएको छ। 

भावी कार्ययोजना 

राष्ट्र बैंकले राष्ट्रिय बैंकको शाखा पु-याउन बाँकी स्थानीय तहमा शाखा विस्तार गर्ने, प्रणालीगत रुपमा महत्वपूर्ण रहेका बैंकको पहिचान, नियमन र सुपरीवेक्षणका लागि विशेष संरचना निर्माण गर्ने तथा कर्जामा लिइने र निक्षेपमा दिइने ब्याजदरको अन्तर आगामी तीन वर्षभित्र ४.४ प्रतिशतमा ल्याइने भावी कार्ययोजना अघि सारेको छ। रासस

प्रकाशित: ५ भाद्र २०७५ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App