coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वर्षाले तराई जलमग्न, पहाडमा खडेरीले मकै सखाप

अघिल्लो रात परेको भारी वर्षाले त्रियुगा नगरपालिका १३ बरुवा बाँधेछेउको डुबान बस्ती ।   तस्बिरः महेश्वर

उदयपुर–अहिलेको बर्खामा धेरै ठाउँमा बाढी पहिरो र डुबानको घट्ना सुनिदै आएको छ। उदयपुरकै सदरमुकाम गाईघाटलगायत तराईभेग र भित्री मधेसका कतिपय क्षेत्रमा डुबान समस्या बढिरहँदा जिल्लाकै पहाडी भेग र खोँचमा भने चाहिदो वर्षा नभएपछि मुख्य बाली मानिएको मकै खेतीलाई खडेरीले स्वाहा पारिसकेको छ। 

सिंचाई सुविधा नपुगेका ठाउँ भएकाले आकासे पानीको भरमा किसानले लगाएको मकै बाली पानी अभावमा खडेरीले मारेपछि आउदो बर्खा अनिकाल लाग्ने चिन्ताले किसानहरू पिरोलिन थालेका छन्। वैशाख अन्तिमदेखि असार, साउनमा यो वर्ष नबिराई पानी परिरहेकै भएपनि पहाडी भेगका कतिपय सुख्खा ठाउँमा भने आवश्यकता अनुसार वर्षा नहुँदा मुख्य बाली मकै फल्ने सिजनमै खडेरी लागेपछि उत्पादन स्वाट्टै घट्ने संकेत देखिएको छ। 

मकै बालीलाई असार मध्यदेखि साउन अन्तिमसम्म निरन्तर पानी चाहिनेमा चाहिएकै बेला वर्षा नभएपछि मकै बालीलाई खडेरीले खाएको रौतामाई गाउँपालिका ३ लाफागाउँका किसान नरसेर राईले बताए। यस वर्ष गएको वर्षभन्दा मकै उत्पादन आधा पनि नहुने अवस्था देखिएको उनले बताए।

‘हाम्रो ठाउँ धेरै सुख्खा र रातोमाटे जग्गा भएकाले यो बेला पानी पशस्त चाहिन्थ्यो’ उनले भने ‘तर, यसपाली जेठ पहिलो साता छरेको मकैलाई चाहिएकै बेला पानी नपर्दा सबै खडेरीले खायो।’ रौतामाईकै किसान सिबी राईले चाहिएजति पानी नपर्दा धानचामल निस्कने र खिसा च्याप्ने बेलाको मकै फस्टाउनै नसकेको बताइन्। साउन १५ देखि अन्तिमसम्म मकै धानचामल पसाउने र खिसा च्याप्ने बेला भएकाले त्यो बेला चाहेजति पानी नपरे मकै बाली नफस्टाउने उनको अनुभव छ। 

लिमचुङबुङ ५ जाँतेका कनकसेर राईका अनुसार मकै बालिलाई वर्षा जति हुनुपर्ने हो त्यत्ति यो साल परेको छैन। खिसा च्याप्नेदेखि जुँगा फुल्नेबेलासम्म मकैको दाना लाग्ने हुनाले घामपानीको सन्तुलन मिलेन भने घोगा नलाग्ने उनले बताए। ‘यो वर्ष मध्ये झरी हुनुपर्ने बेला नै पानी परेन’ उनले भने ‘मकैलाई चाहिएको जति पानी नपरेपछि घोगा लाग्ने छाँट देखिएको छैन।’ उष्ण हावापानी भएको बेंसी र सुख्खा क्षेत्रमा जेठ अन्तिमदेखि असार पहिलो साता छरिने मकै भदौ दोस्रो साताभित्र पाकिसक्छ। चिसो ठाउँको मकैलाई खडेरीले प्रभाव नपारे पनि बेंसी र सुख्खा क्षेत्रको मकै खडेरीले पुरै प्रभाव पारेको अर्का किसान गोकुल बुढाथोकीले बताए। 

पहाडी भेगका किसानको मुख्य बालि नै मकै भएकाले वर्षभरी खाने कमाई यही हो । तर, मुख्य बालिकै उत्पादन नहुने भएकाले आउदो वर्ष खानेकुराको दुःख हुने चिन्ता किसानलाई लागेको छ। अन्न उब्जाउ नभएको साल पहाडी भेगका धेरै किसानहरू अतिरिक्त कमाईका लागि भारत छिर्ने गरेका छन्। 

यो वर्ष खडेरीले मकैलाई मुख्य बालिको रुपमा लगाउँदै आएका ताप्ली गाउँपालिका, लिमचुङबुङ र रौतामाई गाउँपालिका तथा कटारी, बेलका र चौदण्डीगढी नगरपालिकाका पहाडी भेगका वडाबासी किसानलाई चिन्तित तुल्याएको छ। 

प्रकाशित: ५ भाद्र २०७५ ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App