७ वैशाख २०८१ शुक्रबार
अर्थ

माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा

फाइल फाेटाे

काठमाडौं – नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ।

सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन्। सोबारे द्विपक्षीय सम्झौतामा सोमबार हस्ताक्षर भएको छ।

सम्झौताअनुसार बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब ७६ करोड लगानी गर्ने भएका छन्। त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको ३७ मेगाावाट क्षमताको सो आयोजनामा नबिल बैंकको अगुवाइमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडले ऋण लगानीसम्बन्धी सम्झौता गरेका हुन्।

सम्झौतापत्रमा त्रिशूली जलविद्युत् कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मोहन गौतम र अगुवा बैंकको तर्फबाट नबिलका कर्पोरेट विभाग प्रमुख ज्ञानेश्वर आचार्यले ऋण लगानी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। आयोजनाको कूल लागत  आठ अर्ब २२ करोड छ। निर्माण अवधिको ब्याज मात्रै रु ७८ करोड तिर्नुपर्ने देखिएको छ। सो आयोजनामा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले स्वपूँजीको रूपमा दुई अर्ब ४६ करोड लगानी गर्ने भएका छन्।

आयोजना निर्माणको काम चीनको सिचुवान एनहे हाइड्रोलिक इञ्जिनीयरिङ कम्पनी लिमिटेडले गरिरहेको छ।

विस्तृत डिजाइन, खरिद र निर्माण (इपीसी) ढाँचामा निर्माण हुने सो आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गरिने प्रबन्ध निर्देशक गौतमले जानकारी दिए। सन् २०२१ मार्चमा आयोजना सम्पन्न हुने छ। आयोजनाबाट वार्षिक २९ करोड युनिट बिजुली उत्पादन हुनेछ। आयोजनामा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत, रसुवा र नुवाकोटका गाउँपालिका तथा नगरपालिकाको समान पाँच प्रतिशत, रसुवा र नुवाकोटका स्थानीय बैंक तथा वित्तीय संस्थाको पाँच प्रतिशत तथा रसुवा र नुवाकोटका स्थानीयबासीको दश प्रतिशत शेयर लगानी रहनेछ।

यस्तै आम नेपालीको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर रहने गरी संरचना तयार पारिएको छ। नुवाकोट र रसुवाको सिमानामा निर्माण हुने सो आयोजना प्राधिकरणले हाल निर्माण गरिरहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रि ‘ए’ परियोजनाको सहायक आयोजना हो। सो आयोजनाले स्थानीयवासी र आम नेपालीलाई शेयर दिने अवस्था नभएपछि सहायक आयोजना निर्माण गरेर सबैलाई शेयर लगानी गर्ने वातावरणसमेत बनाइ निर्माण गर्न लागिएको हो।

हाल आयोजनाको प्रारम्भिक काम भइरहेको छ। वन क्षेत्रको जग्गा प्रयोग तथा अन्य काम अगाडि बढिरहेको छ। सो आयोजनाबाट उत्पादित विद्युत् आयोजना नजिकै निर्माण हुने त्रिशूली थ्री ‘बी’ हब प्रसारण लाइन एवं सवस्टशेनबाट राष्ट्रिय प्रणालीमा जोडिनेछ। आयोजनाबाट उत्पादित विद्युत् खरिद सम्बन्धी द्विपक्षीय सम्झौतामा २०७४ भदौ ६ गते हस्ताक्षर भइसकेको छ।

हस्ताक्षर समारोहमा उपस्थित प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना आकर्षक र महत्वपूर्ण रहेकाले सबै क्षेत्रको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्ला दिनमा आफ्नो बैंकले ऊर्जा क्षेत्रमा लगानी गरिरहेको जानकारी दिँदै परियोजना निर्धारित समयमै निर्माण सम्पन्न गर्न आग्रह गरे। (रमेश लम्साल/रासस)

प्रकाशित: ५ भाद्र २०७५ ०५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App