coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपाको जिल्ला अध्यक्षका लागी हानथाप सुरु

ताप्लेजुङ – जिल्ला अध्यक्ष कसको भागमा पर्ने हो भन्ने विषयको कुनै टुङ्गो नलाग्दै पूर्व नेकपा एमाले र पूर्व नेकपा(माओवादी)केन्द्रका नेताहरूबीच ताप्लेजुङको नेतृत्वका लागी हानथाप सुरु भएको छ। 

पूर्व नेकपा एमालेले त जिल्ला अध्यक्षका लागी दुईजनाको नाम कार्यदलमै सिफारिस गरिसकेको छ। यता पूर्व माओवादी केन्द्रले ताप्लेजुङबाट प्रदेश कमिटीमा ७ जनाको नाम सिफारिस गरेको छ। पूर्व माओवादी केन्द्रका तत्कालिन जिल्ला ईञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग)ले पूर्व माओवादी केन्द्रलाई ताप्लेजुङको नेतृत्व गर्ने अवसर आएमा प्रदेश कमिटीमा सिफारिस भएका नाम भित्रैबाट अध्यक्षको चयन हुने बताए।

नेकपा जिल्ला अध्यक्षको लागि पूर्व एमालेबाट दुई जनाको नाम सिफारिस गर्ने निर्णय भएको छ। पूर्व एमाले भित्रमा सहमति जुटाउन बसेको कार्यदलकोे बैठकमा सहमति जुट्न नसकेपछि तत्कालिन एमालेका जिल्ला उपाध्यक्ष मातृकाप्रसाद भट्टराई र सचिवालय सदस्य सन्तोष खतिवडाको नाम कार्यदल समक्ष सिफारिस गरिएको हो।

पूर्व एमालेबाट नेकपाको अध्यक्षका आकाक्षीहरू पूर्व सांसद डम्वरध्वोज तुम्वाहाम्फे र तत्कालिन जिल्ला विकास समितिका पूर्व उपसभापति रामप्रसाद सुवेदी समेत आकाँक्षी थिए तर पछिल्लो समय तुम्वाहाम्फे र सुवेदी दुबैले नेकपाको अध्यक्षको दावी छाडेपछि भट्टराई र खतिवडाको मात्र दावी केन्द्रीत भएको हो।

तुम्बाहाम्फेले पूर्व एमालेले नै जिल्लाको नेतृत्व गर्न पाउने वा नपाउने भन्ने विषय अझै अन्योल रहेको अवस्थामा आफुले आकांक्षा त्यागेको बताए। ‘निर्वाचित कमिटीको नेतृत्व भएर जिल्लाको संगठन चलाउने हो’ घुमाउरो पारामा तुम्बाहाम्फेले अधिवेशनबाट चुनिने नेकपाको जिल्ला अध्यक्षका लागि तयार हुँदै गरेको संकेत पनि गरेका छन्। 

स्रोतका अनुसार तत्कालिन एमाले जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ प्रदेशसभा सदस्य बनेपछि कार्यवाहक अध्यक्ष समेत रहेका उपाध्यक्ष भट्टराईलाई अध्यक्षमा सर्वसम्मत सिफारिस गर्न पूर्व एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईको आग्रह थियो। भट्टराईले सर्वसम्मत रुपमा नाम सिफारिस गर्न कार्यदलमा रहेका तत्कालिन ताप्लेजुङ ईन्चार्ज भाष्कर काफ्ले र अध्यक्ष तथा प्रदेशसभा सदस्य साम्सोहाङलाई सुझाएका थिए। काफ्लेले खतिवडा पक्ष र साम्सोहाङ्ले भट्टराईको पक्ष लिएपछि सहमति बन्न नसकेको स्रोतको भनाई छ।

गृह जिल्ला र आफ्नो प्रतिष्ठासँग समेत जोडिएको विषय भएकोले प्रतिनिधिसभाका सांसद भट्टराईले सर्वसम्मत नेतृत्व छान्न गरेको प्रयास असफल भएपछि पूर्व एमाले कार्यदलले प्रदेश कार्यदललाई दुई जनाको नाम सिफारिस गरेको हो। जिल्लागत कार्यदलमा नेकपाका केन्द्रीय सदस्यहरू भाष्कर काफ्ले र तीलकुमार मेन्याङ्वोका साथ पूर्व एमालेका जिल्ला अध्यक्ष साम्सोहाङ छन्।

स्रोतका अनुसार नेकपा ताप्लेजुङको जिल्ला ईञ्चार्ज बन्ने तयारीमा रहेका मेन्याङ्वोले सुरुमा अध्यक्षका लागि खतिवडाको पक्ष लिएका थिए। पछि तत्कालिन ईञ्चार्ज काफ्ले र प्रदेशसभा सदस्य साम्सोहाङलाई मिलाउने जिम्मा दिएर मेन्याङ्वोले मध्यमार्गी भूमिका लिएको स्रोतको दावी छ। उता पूर्व माओवादी केन्द्रको तर्फबाट त्तकालिन जिल्ला ईन्चार्ज बुढाक्षेत्री तत्कालिन जिल्ला संयोजक बिजय किराँती दुबै नेकपा जिल्ला अध्यक्षको दौडमा रहेका छन्  दुबैले अहिलेसम्म दावी नछाडि आ–आफ्नो पकड कायम राख्न प्रयत्न जारी राखेको बुझिएको छ। 

प्रकाशित: ५ भाद्र २०७५ ०५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App