coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एक डलर बराबर ११३ रुपैयाँ

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरप्रति आकर्षण बढेकाले यसको मूल्य फेरि बढेको छ। नेपाली बजारमा डलरको मूल्य एक सय १२ रुपैयाँ नाघेको छ। सोमबार स्वदेशी बजारमा एक अमेरिकी डलर ११२.५५ रुपैयाँमा बिक्री भएको छ । राष्ट्र बैंकले सोमबारका लागि डलरको खरिद दर १११.९५ रुपैयाँ र बिक्री दर ११२.५५ रुपैयाँ तोकेको छ।

अमेरिकी रोजगारी र अर्थतन्त्र सुधारोन्मुख देखिएकाले डलर थप महँगो भएको विज्ञहरू बताउँछन्। अमेरिकी अर्थतन्त्रमा सुधार आएका कारण डलर उकालो लागेको हो । अमेरिकामा बेरोजगारी घटेकाले पनि डलरको मूल्य बढेको उनीहरुको भनाइ छ।

नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको सिधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ । अहिले भारतीय मुद्रा डलरको तुलनामा कमजोर छ।

विश्व बजारमा अमेरिकी डलरको माग उच्च दरले बढ्नु र प्रमुख एसियाली मुद्राहरू कमजोर हुँदै जानुले नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर महँगिएको हो । बजारमा सजिलै डलर पाउन सक्ने अवस्था समेत छैन।

डलर महँगिदा भारतको बाटो हुँदै आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा पर्ने चापले ढुवानी लागत बढ्नेछ। यसले आन्तरिक उत्पादनको मूल्यमा समेत प्रभाव पार्नेछ । हवाई भाडामा हुने परिवर्तनले सडक सञ्जाल नपुगेका दुर्गम क्षेत्रको स्वास्थोपचार नराम्ररी प्रभावित हुनेछ । व्यापार घाटा चुलिनेछ । जनस्तरमा असमानता अझ बढाउनेछ।

भारतीय बजारमा अमेरिकी डलरको माग बढेकाले भाउ महँगिएको नेपाल राष्ट्र बैंकको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, सुन र सेयर बजारमा आएको अस्थिरताका कारण लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्दा डलर महँगिएको एक विज्ञले बताए । ‘विश्व बजारमा सुन, सेयर र तेलको भाउ अस्थिर भएका कारण डलरमा लगानी बढ्दा भाउ उकालो लागेको हो,’ उनले भने, ‘अमेरिकी सेयर बजारप्रति संसारभरका लगानीकर्ताको आकर्षण बढेको बढ्यै छ, यसले डलरलाई थप बलियो बनाउन सहयोग गरेको छ।’

डलर महँगिदा नेपाली उपभोक्ताले आयातित वस्तु तथा सेवामा मूल्य वृद्धिको सामना गर्नु परे पनि निकासीकर्तालाई भने फाइदा हुनेछ। त्यसैगरी, पर्यटकसँग विदेशी मुद्रामा सेवाको मूल्य लिने पर्यटन व्यवसायी पनि यसबाट लाभान्वित हुनेछन् । विदेशबाट आउने रेमिट्यान्स डलरमै आउने हुँदा उक्त रकम प्राप्त गर्ने परिवारले साबिकको तुलनामा बढी पैसा पाउने छन्।

निकासीकर्ताले पनि डलरमै भुक्तानी लिने हुँदा फाइदा लिन सक्ने भए पनि कच्चा पदार्थ आयात गर्दा डलरमै भुक्तानी गर्नुपर्ने भएकाले भने जस्तो नाफा लिन सक्दैनन् । डलर महँगिदा तेस्रो मुलुकबाट आयात हुने सामानको मूल्य बढ्नेछ । न्यून आय भएका नेपालीका लागि अब भारतबाहेक सबै मुलुकबाट आयात हुने सामानको भाउ उच्च दरले बढ्नेछ भने भारतबाटै आयात हुने कतिपय वस्तुको मूल्य पनि अकासिनेछ । डलर महँगिदा नेपालीले खुसी मान्नुपर्ने एउटैमात्र विषय रेमिट्यान्स आप्रवाहमात्रै हो।

डलर महँगिदा सरकारमाथि पनि वित्तीय दायित्व थपिनेछ। विदेशी ऋणको साँवा–ब्याज भुक्तानी गर्दा महँगो डलरनै प्रयोग हुने हुँदा यसले सरकारको वित्तीय दायित्व बढाउँछ। बढ्दो रेमिट्यान्सले बैंकहरूमा लगानीयोग्य पुँजी (तरलता) भने बढाउनेछ।

प्रकाशित: ५ भाद्र २०७५ ०५:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App