४ वैशाख २०८१ मंगलबार
राजनीति

चार्टर्ड फ्लाइटबाट सुडान पुगेकाे सेनाकाे टाेली पासपोर्ट छुटेपछि प्लेन लिएरै फर्कियाे

काठमाडौं- नेपाली सेनाले देशको ऐनकानुन पालना गर्न नमान्दा राष्ट्र नै लज्जित हुनुपरेको छ। मंगलबार संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र दक्षिण सुडानमा सुरक्षार्थ खटिन पुगेको नेपाली सेनाको २ सय ३२ जनाको टोली अपमानित भएर फर्कनुपर्‍यो। अपमानित हुनुपर्ने कारण थियो– उनीहरु कसैसँग पनि साथमा पासपोर्ट थिएन।

सुडान अध्यागमनले 'इन्ट्री' (प्रवेश) हुन पासपोर्ट मागेपछि मात्र नेपाली सेनाको टोलीले आफूहरुसँग पासपोर्ट नभएको थाहा पाएको थियो। त्यसपछि अध्यागमनले उनीहरु सबैलाई जुन विमानमा गएका थिए, त्यही विमानमा नेपाल फिर्ता पठाएको थियो।

'असावधानीले सबै नेपाली सेनाको पासपोर्ट त्रिभूवन विमानस्थलमै छुटेछ। यसै कारण दक्षिण सुडानको अध्यागमनले उनीहरुलाई नेपाल नै फिर्ता पठाएको रहेछ,' नेपाली सेनाका सहप्रवक्ता रामनाथ ढुंगानाले जानकारी दिए। सुडानले फिर्ता पठाएपछि बुधबार बिहान काठमाडौं आइपुगेको सैनिक जवानहरुको टोली छुटेको पासपोर्ट लिई पुनः बुधबारै सुडान प्रस्थान गरेको थियो।

राष्ट्रसंघको चार्टर्ड विमान भए पनि नेपाल फिर्ता हुँदा र पुनः फर्किंदा लाग्ने करोडौं रुपैयाँ खर्च सेनाले व्यहोर्नुपर्नेछ। एक वायुसेवा कम्पनीका अनुसार उडान गर्दा जुनजुन देशको आकाश प्रयोग हुन्छ, त्यसको भाडा, अवतरण र पार्किङ भाडा, इन्धनलगायत खर्च जोड्दा सुडानबाट नेपाल र नेपालबाट सुडान जाँदा ५ करोड रुपैयाँभन्दा बढी खर्च लाग्छ। ठूला विमानले प्रतिघन्टा उडान गरेको सामान्यतया २० हजार अमेरिकी डलर लिने गर्छन्।

'खर्च कसले व्यहोर्ने, कसको कमजोरीले यो घटना भयो भन्नेबारे छानबिन हुन्छ,' ढुंगानाले भने। पशुपतिप्रसाद गणको झन्डामा सैनिक टोली सुडान गएको थियो।

'देशको नियमकानुनअनुसार सर्वसाधारण जाने बाटोबाट सेना गएको भए यति ठूलो दुर्घटना हुँदैनथ्यो। सेनाले सर्वसाधारण जाने टर्मिनलबाट जान मान्दैन,' स्रोतले भन्यो, 'उनीहरु चढ्ने जहाजै अतिविशिष्ट कक्षनजिक लगिन्छ र त्यहीँबाट चढ्ने/ओर्लने काम हुन्छ। उनीहरु जाँदा तथा आउँदा के सामान लान्छन् तथा ल्याउँछन् न विमानस्थल अध्यागमनलाई थाहा हुन्छ न भन्सार।'

सेनाको २ सय ३२ जना जवान बोकेको राष्ट्रसंघले चाटर्ड गरेको इथोपियन एयरलाइन्सको विमान मंगलबार बिहान सुडानतर्फ उडेको थियो। युगान्डा विमानस्थलमा तेल भरेर विमान दक्षिण सुडान पुगेको थियो।

'सुडानको कानुन अनुसार हाम्रो सैनिक जवानसँग कागजात नहुँदा त्यहाँ बस्न मिलेन, त्यसैले सबै सैनिकलाई लिएर विमान नेपाल आई छुटेको कागजात लिएर गएको हो,' ढुंगानाले भने।

सुडानले फिर्ता पठाएपछि नेपाली सेना बोकेको राष्ट्रसंघको चार्टर्ड विमान बुधबार राति १ः४० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो। एक घन्टा १० मिनेट विमानस्थलमा बसेर आवश्यक कागजात लिई विमान बुधबार बिहान २ः५० बजे पुनः सुडानतर्फ प्रस्थान गरेको थियो। त्रिभुवन विमानस्थल राति १२ः३० देखि बिहान ६ बजेसम्म सधैँ बन्द गरिने भए पनि सुडानबाट फिर्ता पठाइएको विमान आउने जानकारी पाएपछि खोलिएको थियो।

'युगान्डाबाट फिर्ता आएको नेपाली सेना चढेको राष्ट्रसंघको चार्टर्ड विमान बुधबार बिहान १ः४० बजे विमानस्थल अवतरण गरेको थियो,' त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए, 'राष्ट्रसंघ मिसनका लागि उड्ने सैनिक चढ्ने विमानलाई उनीहरु चढ्ने स्थानमा गई हामी सहजीकरण गर्छौं।'

सैनिक सहप्रवक्ता ढुंगानाले भने सेनाले उडान भर्दा देशको नीतिनियम नमिचेको बताए। उनले भने, 'राष्ट्रसंघको शान्ति मिसनमा सैनिक जाँदा सर्वसाधारणले प्रयोग गर्ने टर्मिनलबाट नगए पनि हाम्रो सम्पूर्ण जाँच सम्बन्धित निकायका अधिकारीले गर्छन्।'

अध्यागमन जिम्मेवारी सम्हालेको गृह मन्त्रालय र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले सेनालाई राष्ट्रसंघको शान्ति मिसनमा जाँदा सर्वसाधारणले प्रयोग गर्ने टर्मिनल प्रयोग गर्न बारम्बार आग्रह गरे पनि सेनाले नसुनेझैं गर्दै आएको छ। 'सेना सर्वसाधरणले प्रयोग गर्ने टर्मिनलबाट गएका थिए भने पासपोर्ट छुट्ने थिएन। २ सय ३२ जना राष्ट्रिय सेनाले अर्को देश पुगेर साथमा पासपोर्ट छैन भन्दा देशको इज्जत के भयो होला?' गृह उच्चस्रोतले भन्यो।

सानो संख्यामा (१०/१५ जना) सेना विदेश जाँदा भने सर्वसाधारणले प्रयोग गर्ने टर्मिनल प्रयोग गर्ने गर्छन् तर राष्ट्रसंघको चार्टर्ड विमानमा ठूलो संख्यामा सेना शान्ति मिसनमा जाँदा भने अति विशिष्ट कक्ष आडबाट चढाउने र ओराल्ने गरिन्छ। उनीहरुले लाने तथा ल्याउने सामान पनि त्यही बाटो हुँदै जान्छ र आउँछ। सबै सैनिक जवानको पासपोर्ट एक जनाले बोकेर अध्यागमन अधिकृतसमक्ष आउँछन्, अधिकृतले प्रस्थान छाप लगाइदिन्छन्। अध्यागमन प्रक्रिया यसरी नै चल्दै आएको छ।

'हामीकहाँ एकसाथ दुई सय बढी सैनिकको पासपोर्ट ल्याइन्छ। ती सबै पासपोर्ट एक जना सैनिकले बोकेर ल्याउँछन्। हामीले कसैको अनुहारै नहेरी ती पासपोर्टमा प्रस्थान छाप लगाइदिने हो,' स्रोतले भन्यो, 'फर्कने बेला पनि प्रक्रिया यही हो।'

मंगलबार सुडान प्रस्थान गर्दा पनि यसरी नै पासपोर्ट एक जना व्यक्तिले राखेको थिए र उनले विमानमा राख्न बिर्सिए। युगान्डा पुगेपछि थाहा भयो, सबै जनाको पासपोर्ट काठमाडौंमै छुटेछ।

'कुनै पनि देशमा सेनालाई यसरी सर्वसाधारणलाई भन्दा विमान चढ्दा तथा ओर्लंदा विशेष सुविधा हुँदैन। सबैले सर्वसाधारणले प्रयोग गर्ने टर्मिनल नै प्रयोग गर्नुपर्छ। हामीकहाँ किन यस्तो भइरहेको छ, बु‰न सकिएको छैन,' स्रोतले भन्यो।

नेपाली सेनाले सन् २०११ बाट दक्षिण सुडानस्थित राष्ट्रसंघिय शान्ति मिसनमा सैनिक पठाउन थालेको हो। अहिले दक्षिण सुडानमा १ हजार ५ सय ८९ नेपाली सेना कार्यरत छन्। राष्ट्रसंघका सबै शान्ति मिसनमा अहिले ४ हजार ४ सय १६ जना नेपाली सेना खटिएका छन्।

प्रकाशित: ३० भाद्र २०७३ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App