७ वैशाख २०८१ शुक्रबार
खेल

युनाइटेड हार्दा माउरिन्होलाई दबाब

लन्डन – नयाँ सिजनका लागि खेलाडी सरुवा बजारमा चासो नदिएको भन्दै नयाँ सिजन कठिन हुने बताएका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होको टोलीले इङ्लिस प्रिमियर लिगको दोस्रो खेलमा ब्राइटनलाई २–० को नतिजा सुम्पिएपछि प्रशिक्षक दबाबमा परेका छन्।

क्लब व्यस्थापनका साथेै मिडफिल्डर पाउल पोग्बासँगको सम्बन्धमा चिसोपना आएको चर्चा चलिरहँदा सिजनको दोस्रो खेलमै भोगेको हारले माउरिन्होमाथिको दबाब थप बढेको हो।

यस हारसँगै माउरिन्होले अपनाएको रणनीतिमा समेत प्रश्न उठ्न थालेको छ । यसअघि रियाल मड्रिडको प्रशिक्षण सम्हाल्दाको तेस्रो सिजन र चेल्सी सम्हाल्दाको दोस्रो सिजन क्लबलाई सोचेअनुरूप नतिजा दिलाउन नसकेको भन्दै माउरिन्हो बर्खास्तगीमा परेका थिए।

गत सिजन उपाधिविहीन बनेको भन्दै माउरिन्होले टोली बलियो बनाउन यस सिजनमा सेन्ट्रल रक्षक अनुबन्धन गर्न क्लब व्यवस्थापनलाई आग्रह गरेका थिए । तर क्लबले सरुवा बजारमा खासै चासो नदेखाएको र त्यसका लागि यो सिजन आफूहरूका लागि कठिन हुने प्रतिक्रिया दिएसँगै माउरिन्होे र क्लब व्यवस्थापनको सम्बन्धमा तिक्तता आएको थियो।

माउरिन्होले रक्षापंक्ति भरपर्दो नभएको बताइरहँदा युनाइटेडले रक्षक भिक्टर लेन्होफ र इकिर बेइल्लीको गल्तीमा ब्राइटनविरुद्ध पहिलो हाफमा तीन गोल खाएको थियो । २५औं मिनेटमा ग्लेन मुरेको गोलमा ब्राइटनले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै सेन डुफेले गोल गर्दैै ब्राइटनको अग्रता दोब्बर पारेका थिए । ३४औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने संकेत गरेका थिए।

मध्यान्तर हुन एक मिनेट बाकी हुँदा पास्कल ग्लोबले गोल गर्दै ब्राइटनको अग्रता ३–१ मा पुर्याएका थिए । इन्जुरी समयको पाँचाैं मिनेटमा पोग्बाले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन । यसअघि गत साता पहिलो खेलमा लेस्टरमाथि २–१ को जित हात पार्दा पनि पोग्बाले पेनाल्टीमा गोल गरेका थिए ।
तर क्लबका कार्यकारी उपाध्यक्ष इड उडवार्डले भने गत सिजन बोल्ली र लेन्डोफलाई भित्र्याउन सात करोड ६० लाख डलर खर्चिएको भन्दै माउरिन्होले उनीहरूमाथि विश्वास नगरेको भन्दै उनको शैलीको आलाचना गर्दै आएका छन्।

‘युनाइटेडको सेन्ट्रल रक्षापंक्ति निकै फितलो देखियो, जुन इङ्लिस प्रिमियर लिगमा महँगो साबित बन्न सक्छ,’ युनाइटेडका पूर्वखेलाडी ग्यारी नेभिलले भने, ‘खेलाडी सरुवा बजारमा सेन्ट्रल रक्षक भिœयाउने असफल प्रयासले टोलीमा असर परेको हुन सक्छ । टोलीमा अहिले भएका ४ रक्षकको प्रदर्शनमा युनाइटेडले उपाधि जित्ने कुनै आधार छैन।’

खेलाडी सरुवा बजारको अन्तिम दिन क्लबका उडवार्डले  माउरिन्होको योजनाभन्दा पनि क्लबले दीर्घकालीन योजनाका बारेमा सोचिरहेको बताएका थिए । जनवरीमा क्लबसँगको सम्झौता २०२० सम्म लम्ब्याएका माउरिन्होले जारी सिजन सुखद नतिजा दिनेमा क्लब आशावादी थियो । गत सिजन युनाइटेडले दोस्रो स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो।

उडबार्डले माउरिन्हो र पोग्बा तथा एन्थोनी मार्सियलबीच सम्बन्ध राम्रो नभए पनि उनीहरूलाई क्लबमा राख्न चाहेको बताएका थिए । लागातार दोस्रो खेलमा कप्तानीको जिम्मेवारी पाएका पोग्बाले ब्राइटनविरुद्धको खेलमा भने टोलीको नेतृत्व गर्न सक्ने क्षमतालाई प्रमाणित गर्न सकेनन्।

‘ब्राइटन जितका लागि आतुर थियो,’ पोग्बाले भने, ‘मैले आफ्नो जिम्मेवारीलाई न्याय दिन सकिन ।’ यसअघि सिजनपूर्वको अभ्यासमा समयमा नफर्किएको भन्दै माउरिन्होले सार्वजनिक रूपमै मार्सियलको आलोचना गर्दैै आएका छन् । साथै क्लबले मार्सियलमाथि जरिवानासमेत तिराएको थियो।

एलेक्सिस सान्चेज चोटका कारण मैदानबाहिर रहने भएकाले पहिलो रोजाइमा स्थान बनाएका मार्सियलले आफूलाई प्रमाणित गर्न भने पुन एक पटक असफल भए । युनाइटेडले अर्को साता घरेलु मैदान ओल्ड ट्राफोर्डमा टोटेनह्यामलाई आतिथ्यता प्रदान गर्नेछ। 

 

प्रकाशित: ५ भाद्र २०७५ ०४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App