८ वैशाख २०८१ शनिबार
खेल

साइक्लिङमा सहभागिता मात्रै

जकार्ता – राजेश मगरले सोमबार साइक्लिङअन्तर्गत माउन्टेनबाइक डाउन हिलमा सातौं स्थान हासिल गरेका छन् । जम्मा ९ खेलाडी सहभागी प्रतिस्पर्धामा एक खेलाडीले दूरी पूरा गर्न सकेनन् भने राजेशले एक खेलाडीलाई मात्र पछि पार्न सके। 

सुबाङस्थित खे बुङ हिलमा आयोजक इन्डोनेसियाका पापो अरियो तेजातीले निर्धारित दूरी पार गर्न नसक्दा राजेश टिमोर लिस्टेका ली माटियासभन्दा २९ सेकेन्डले अगाडि रहे । उक्त विधामा इन्डोनेसियाकै खोइफुल मुकिबले स्वर्ण पदक जित्दा चाइनिज ताइपेईका शेङसान चियानले रजत तथा सुब्साकुन सुक्छान्याले कांस्य पदक जिते। 

१ हजार ५ सय मिटरको दूरी राजेशले ३ मिनेट १२ः८१६ सेकेन्डमा पूरा गरेका थिए । उनी स्वर्ण विजेता मुकिब (२ मिनेट १४ः५१ सेकेन्ड) भन्दा ५७ः८६५ सेकेन्डले पछि परेका थिए । साइक्लिङको क्रस कन्ट्री रेसमा मंगलबार दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महिलामा लक्ष्मी राई तथा पुरुषमा बुद्धिबहादुर तामाङले मंगलबार क्रस कन्ट्रीमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

सुटिङ :
सुटिङमा कल्पना परियार र सुस्मिता नेपालको चुनौती सोमबार समाप्त भएको छ । जेएससी सुटिङ रेन्जमा भएको महिला १० मिटर एयर राइफलको छनोट प्रतिस्पर्धाको पुछारमा सीमित नेपाली खेलाडीद्वय कल्पनाले ५९४.८ तथा सुस्मिताले ५८७.१ स्कोर गरेका थिए । यसै गरी पुरुषतर्फ ८ सय पूर्णांकमा ५८१.० स्कोर गरेका सुसे चौधरीले ४४ सहभागीमध्ये ४२औं स्थान हासिल गरे । १० मिटर एयर राइफलको पुरुषमा चीनका हाउरन याङले स्वर्ण, भारतका दीपक कुमारले रजत र चाइनिच ताइपेईका शाओचुवान लुले कांस्य पदक जिते । सोही विधाको महिलातर्फ  चीनकै राओझु झाओले स्वर्ण, दक्षिण कोरियाका युनहे जुङले रजत तथा मंगोलियाका नान्दीनजाया गन्खुयागले कांस्य पदक जिते।

टेनिस :
टेनिसमा भने अघिल्लो दिन एकल तथा मिश्रित युगल स्पर्धामा भोगेको हारको पीडामा मलम लगाउने क्रममा राणा दिदी–बहिनी मायंका र माहिकाले महिला युगलको प्रतिस्पर्धामा माल्दिभियन प्रतिद्वन्द्वीमाथि जित हासिल गर्दै सोमबार क्वार्टरफाइनल प्रवेश गर्न सफल भएका छन्। 

पालेम्बाङ टेनिस कम्प्लेक्समा जारी टेनिस प्रतियोगितामा राणा दिदी–बहिनीको जोडीले माल्दिभ्सका इर्फा महिर र जिना अब्दुल रसिदको जोडीमाथि ६–४, ६–१ को सोझो सेटमा जित हासिल गरेको थियो । अघिल्लो दिन एकलतर्फ माहिका भियतनामकी सिसिला फोदोरसँग ६–०, ६–१ तथा मायंका हङकङकी अडिस वोङ चोङसँग ६–०, ६–१ को सोझो सेटमा पराजित भएका थिए । यसै गरी मिक्स युगलमा प्रणव खनाल र माहिकाको जोडी हङकङका पाक लोङ योङ र लिङझाङाके जोडीसँग ६–०, ६–१ ले पराजित भएको थियो। 

यसै गरी पुरुषतर्फ अघिल्लो दिन एकल स्पर्धामा निराशा भोगेका संरक्षकभूषण वज्राचार्य र अभिशेक बाँस्तोलाको जोडी भारतका सुमित नागल र रामकुमार रामनाथनको जोडीसँग ६–१, ६–१ को सोझो सेटमा पराजित भयो । अघिल्लो दिन एकल स्पर्धामा संरक्षकभूषण आयोजक इन्डोनेसियाका मोहम्मद रिफ्की फित्रियीसँग ६–२, ६–२ तथा अभिशेक भियतनामका लिन जियान त्रिन्हसँग १–६, ६–३, ६–३ को सेटमा पराजित भएका थिए। 

 

प्रकाशित: ५ भाद्र २०७५ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App