८ वैशाख २०८१ शनिबार
खेल

सागको तयारीप्रति सहभागी अन्य राष्ट्रको असन्तुष्टि

जकार्ता – दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो खेलमेला दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आउँदो फागुनमा गर्ने घोषणा गरे पनि नेपालले तयारीमा देखाएको उदासीनताप्रति सहभागी अन्य देशले असन्तुष्टि जनाएका छन्।

इन्डोनेसियाको जकार्तामा एसियाली खेलकुदका लागि पदाधिकारीहरू जम्मा भएको मौकामा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा नेपालको तयारीमा शंका व्यक्त गर्दै सहभागी देशहरूले चासो व्यक्त गरेका हुन् । नेपालको तयारीप्रति विश्वस्त हुन नसकेको श्रीलंकाले आफूलाई वैकल्पिक आयोजकका रूपमा प्रस्तुत गर्ने क्रमलाई यो बैठकमा पनि निरन्तरता दियो। 

नेपालले गर्न नसक्ने ठहरका साथ श्रीलंकाले आन्तरिक रूपमा तयारी पनि गरिरहेको भारतीय ओलम्पिक संघका एक पदाधिकारीले नागरिकलाई बताए । २००६ मा दशौं साग गरेको श्रीलंकाले यसअघि पनि थुप्रै पटक नेपालले नसके आफू सागको १३औं संस्करण आयोजना गर्न तयार रहेको प्रस्ताव गरेको थियो।

दक्षिण एसियाली ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले अन्य देशका पदाधिकारीले नेपालको तयारीप्रति चासो देखाएको स्विकारे । श्रेष्ठका अनुसार सदस्य राष्ट्रहरूले नेपाललाई तत्काल औपचारिक निमन्त्रणाको पत्र लेख्न अनुरोध गरेका थिए। 

नेपालले गर्न नसक्ने ठहरका साथ श्रीलंकाले आन्तरिक रूपमा तयारी पनि गरिरहेको भारतीय ओलम्पिक संघका एक पदाधिकारीले नागरिकलाई बताए।

‘नेपाल सरकार र ओलम्पिक कमिटीले पत्राचार गरेपछि मात्रै सागमा सहभागी सबै देशका सरकारले औपचारिक तयारी थाल्छन् । त्यै भएर उनीहरुले हामीबाट औपचारिक पत्र खोजेका हुन्,’ श्रेष्ठले भने, ‘खेलाडीले कुनै पनि प्रतियोगिताको घोषणा भएपछि त्यही समयका लागि विशेष रुपमा तयारी थालेका हुन्छन् । खेलाडी नै खेलकुदका सर्वेसर्वा हुन् । तर समयमा गर्न सकिएन भने सम्पूर्ण खेलाडीमाथि ठूलो अन्याय हुन्छ।’

२०१६ मा भारतको गुवाहटीमा १३औं संस्करण आयोजनाको लागि झन्डा बोक्दा नेपालले २०१८ को मार्चमा साग गर्ने वाचा गरेको थियो । त्यसअनुसार नेपालले वाचा गरेको समय बितेको पनि पाँच महिना भइसकेको छ । २०१८ को मार्चमा गर्न नसक्ने भएपछि १ वर्ष ढिलो सार्ने निर्णय गरेको नेपालले त्यो समयमा पनि साग आयोजना गर्न नसक्ने संकेत देखिएको छ।

काठमाडौंमा अघिल्लो महिना सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले आगामी फागुन (अर्को वर्ष मार्च ९ देखि १८ सम्म) मा नेपालमा १३औं साग गर्ने घोषणा गरेको थियो। 

श्रीलंकाले साग आयोजनाका लागि पुनः प्रस्ताव गरेको स्विकार्दै श्रेष्ठले थपे, ‘प्राविधिक वा प्रशासनिक कारणले नेपालले साग आयोजना गर्न नसके अर्को मुलुक अघि सर्ने कुरा स्वाभाविक हो । यो भइरहन्छ । तर नेपालको सट्टा अर्को राष्ट्रले साग आयोजना गरे नेपालका लागि निकै ठूलो घाटा हुनेछ।’

साग आयोजनाका लागि नेपालले युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरे पनि भौतिक पूर्वाधार लगायतका अत्यावश्यक तयारी सुरु गर्न सकेको छैन । उद्घाटन तथा समापन गर्ने भनिएको देशकै एक मात्र दशरथ रंगशाला २०७२ सालको भुइँचालोमा भत्किएपछि अहिलेसम्म पुर्ननिर्माण भएको छैन । खण्डहरको अवस्थामा रहेको रंगशाला पुनर्निर्माण कछुवा गतिमा भइरहे पनि राखेप तथा एनओसीले फागुनमा साग गर्ने रट लगाउन छोडेका छैनन् । तथापि एनओसी अध्यक्ष श्रेष्ठले समयमै साग हुने दाबी गर्न भने छोडेनन्। 

‘हामीले मार्च ९ देखि १८ मा साग गर्ने भनेका छौं । त्यसमा हामी अहिले पनि कायम छौं । सरकारसँगको छलफलअनुसार काम अगाडि बढिरहेको हामीले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा जानकारी गराएका छौं,’ श्रेष्ठले भने, ‘हामीले सरकारका मन्त्रीसँग पटकपटक छलफल गरेका छौं । सरकार पनि तोकिएकै मितिमा गर्नुपर्छ भन्नेमा छ । तर यसमा सिरियस्ली रिभ्यु गर्नुपर्छ । राखेपले समयमै सवै पूर्वाधार निर्माण सम्पन्न हुन्छ भनेको छ । सबै काम सकिए आयोजना गर्नु समस्या होइन । सरकारले बजेट विनियोजन गरेको छ । तर, तत्कालै तयारीको काम थाल्नुपर्ने आवश्यकता छ।’

प्रकाशित: ५ भाद्र २०७५ ०३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App