coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘गुपचुप नहोस् छानबिन प्रतिवेदन’

जुम्ला अस्पतालमा उपचार गराउन आएका बिरामीका कुरुवा : डिबी/नागरिक

जुम्ला - घरको छतबाट लडेर छोराको खुट्टा भाँचिएपछि उपचार गराउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आएका तातोपानी गाउँपालिका २ का रामबहादुर रावतको अस्पताल बसाइ राम्रो भएको छैन। उनी अस्पताल क्षेत्रमा असुरक्षाको अनुभूति गर्ने गरेका छन्। अस्पतालको हाताभित्र आगजनी गरिएको भवनको दुरवस्थाका कारण उनको मनमा त्रास रहने गरेको छ। साउन ३ गते डा. गोविन्द केसीलाई काठमाडौं लैजाँदा भएको तनाव सम्झिँदा उनी झनै झस्किन्छन्। ‘अस्पतालमा चिकित्सकलाई देख्दा रोग आधी बिसेक हुने विश्वास छ,’ उनले भने, ‘तर, जुम्ला अस्पताल घटनापछि यहाँ भय र त्रासको वातावरण छ।’

एक साताअघि अस्पताल आएका उनी छोराको खुट्टा छिट्टै निको हुने र घर फर्कन पाउने दिनको पर्खाइमा छन्। ‘अस्पतालजस्तो पवित्र स्थानमा झडप र आगजनीका घटना नहुनुपर्ने हो, तर, आँखैअगाडि चिकित्सक, कर्मचारी, विद्यार्थी कुटिएको र बेडमा पल्टिएका बिरामी छटपटिएको सम्झँदा मुटु बिझेर आउँछ,’ उनले भने।

घटना सामान्यजस्तै लाग्थ्यो तर अहिले आफैं अस्पतालमा आउँदा घटनाको त्रास अझै सकिएको रहेनछ भन्ने महसुस गरेँ। अस्पतालजस्तो संवेदनशील क्षेत्रमा झडपको अवस्था सिर्जना हुनुमा राज्य र डा. गोविन्द केसी समर्थक दुइटै पक्षको कमजोरी हुनुपर्छ । दुवैका कमजोरी केलाउने गरी छानबिन हुनुपर्छ। - जग्गी महतारा, बिरामीका कुरुवा

कालिकोट पलाता गाउँपालिका खिन गाउँका विष्णु बुढा बच्चालाई नसासम्बन्धी रोगले च्यापेपछि तीन दिन हिँडेर जुम्ला अस्पतालमा आए। गाउँबाट हिँड्दा अस्पतालमा निकै चमक होला भन्ने उनले सोचेका थिए। तर, उनी यहाँको दुर्दशा हेरेर आत्तिए। आगजनी भएको भवनलगायत केही दिनअघि यही ठाउँमा उपद्रो भएको भान हुने दृश्यका कारण अस्पताल परिसरमा उनले अनौठो अनुभव गर्ने गरेका छन्। उनले भने, ‘यहाँका बिरामी र कुरुवाको कुरा सुन्दा अस्पतालमा ठूलै घटना भएको र त्यसकारण उनीहरूमा असुरक्षाबोध रहेको पाएँ ।’ घटनाको तत्काल छानबिन भई दोषी पत्ता लागेमा बिरामी ढुक्क हुने उनको बुझाइ छ। ‘जुम्ला अस्पताल घटनाको छानबिन गर्न कर्णाली सरकारको टोली यतातिर आएको खबर पाएका छौं,’ उनले भने, ‘यो टोलीको छानबिन प्रतिवेदन गुपचुप नहोस् भन्ने हाम्रो इच्छा छ।’

कालिकोटकै जग्गी महतारा छोरीको आखाँ उपचारका लागि जुम्ला आएका छन्। उनले जुम्ला अस्पतालको घटनाका बारेमा रेडियोबाट सुनेका र पत्रपत्रिकामा पढेका थिए। ‘घटना सामान्यजस्तै लाग्थ्यो तर अहिले आफैं अस्पतालमा आउँदा घटनाको त्रास अझै सकिएको रहेनछ भन्ने महसुस गरेँ,’ उनले भने। अस्पतालजस्तो संवेदनशील क्षेत्रमा झडपको अवस्था सिर्जना हुनुमा राज्य र डा. गोविन्द केसी समर्थक दुइटै पक्षको कमजोरी भएको उनको कथन छ। दुवैका कमजोरी केलाउँदै छानबिन हुनुपर्ने र छानबिन प्रतिवेदनका आधारमा दोषीलाई कारबाही हुनुपर्ने उनको माग छ।

तातोपानी गाउँपालिकाका वडासदस्य मुनबहादुर डाँगीले यसअघि विभिन्न घटनाका छानबिन समितिका प्रतिवेदन सार्वजनिक हुन नसकेकाले कर्णाली प्रदेश सरकारको कार्यदलको काम गराइप्रति विश्वस्त हुने आधार नरहेको बताए । उनले भने, ‘घटनापछि छानबिन समिति बन्छ, प्रतिवेदन लेखिन्छ तर सार्वजनिक हुँदैन। कथंकदाचित प्रतिवेदन सार्वजनिक भए पनि दोषीउपर कारबाही भएको रेकर्ड छैन। त्यसैले कार्यदलको छानबिनप्रति विश्वास गर्न गाह्रो भएको हो।’ संवेदनशील क्षेत्रमा हिंसात्मक क्रियाकलाप गर्नु अपराध भएकाले कार्यदलले मसिनो तरिकाले अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनले बताए।

उनका अनुसार तीन वर्षअघि हेल्थ असिसटेन्टको परीक्षामा अनियमितता भएको भन्दै सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको थियो। तर, अहिलेसम्म समितिको प्रतिवेदन कार्यान्वयन भएको छैन। परीक्षामा भएको अनियमितताका बारेमा सिनेट बैठकमा छलफल भए पनि दोषीउपर कारबाही हुन सकेन। त्यसपछि कर्णाली अस्पतालभित्रकै ओपिडी भवनमा आगजनी गरियो। अस्पतालमा आगजनी हुँदा बिरामीको बिचल्ली भयो। अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिइयो तर अहिलेसम्म प्रतिवेदन आउन सकेको छैन। दोषी पत्ता लागेको छैन । डाँगीले भने, ‘अहिलेसम्म अस्पताल क्षेत्रमा भएका घटनाको छानबिन मात्रै हुने तर प्रतिवेदन नआउने भएकाले यो कार्यदलप्रति जनतामा विश्वास छैन।’ उनले पहिलेकै छानबिन समितिका प्रतिवेदनजस्तै यो सरकारी कार्यदलको प्रतिवेदन गुपचुप राखिए सरकारप्रतिको विश्वासमा कमी आउने बताए।

चिकित्साशिक्षा सुधारको माग गर्दै केही समयअघि जुम्लामा अनशनरत डा. केसीलाई सरकारले काठमाडौं लैजाँदा भएको कर्णाली अस्पताल घटनाको छानबिन गर्न कर्णाली प्रदेश सरकारले कलानिधि पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदल जुम्ला आएसँगै विगतका छानबिन प्रतिवेदनका बारेमा विभिन्न चोक, चियाचौतारीमा छलफल भइरहेका छन्। तीन दिनदेखि जुम्लामा रहेर छानबिन गरिरहेको कार्यदलले घटनाका सरोकारवाला विभिन्न निकायका व्यक्तिसँग लिखित तथा मौखिक बयान लिइरहेको छ । डाँगीले भने, ‘समितिले निकै राम्रो काम गरिरहेको छ। यसको प्रतिवेदन सार्वजनिक हुनैपर्छ।’ भदौ २ गते जुम्ला आएको कार्यदलले सर्वसाधारण, प्रत्यक्षदर्शी, प्रतिष्ठान पदाधिकारीलगायतको बयान लिइरहेको छ। जुम्ला आएको पहिलो दिन प्रमुख जिल्ला अधिकारी र प्रतिष्ठानका पदाधिकारीसँग छलफल गरेको कार्यदलले दोस्रो दिनमा लिखित बयान थालेको हो।

छानबिनको तेस्रो दिन बिहानैदेखि बयान लिने कामलाई निरन्तरता दिइएको छ। कार्यदलका संयोजक पौडेलका अनुसार जिल्ला समन्वय समिति उपप्रमुख कार्मा बुढा, विद्यार्थी नेता तथा पत्रकार महेन्द्रबहादुर कार्की, स्थानीय नारायणबहादुर शाहीसँग सोमबार बयान लिइएको छ। सर्वसाधारणसँग पनि सोधपुछ भइरहेको उनले जानकारी दिए। उनले भने, ‘जुम्ला अस्पताल घटनाको वास्तविक अवस्था चित्रण गर्नका लागि सबैको मत बुझ्ने काम भइरहेको छ, छानबिन कार्यलाई निष्पक्ष बनाउनका लागि कार्यदल लागिरहेको छ। अस्पताल घटनाको छानबिनमा कुनै शंका नगर्न आग्रह गरिएको छ।’

अस्पतालमा घटना हुनुभन्दा पहिले, घटना भइसकेपछि र हालको अवस्थाका बारेमा कार्यदलले अनुसन्धान गरिरहेको छ। डा.केसी अनशन बसेका बेला सरकारले उनलाई काठमाडौं लैजाने क्रममा जुम्ला अस्पतालमा क्षति भएको थियो। पौडेलले भने, ‘कर्णाली अस्पतालभित्र र बाहिर भएका घटनाको वास्तविक अवस्था बुझ्नका लागि सिसी क्यामराको फुटेज हेर्ने काम भइरहेको छ। यो घटनाको वास्तविकता बाहिर ल्याउन प्रतिवदन तयार गरिनेछ।’

जुम्ला घटनाको वास्तविक कुरा पत्ता नलागेसम्म जुम्लामै बसेर छानबिन अघि बढाइने कार्यदलले जनाएको छ। कर्णाली प्रदेश सरकारले एक सातामा प्रतिवेदन बुझाउने गरी कार्यदल गठन गरेको थियो। छानबिनको काम बिहानैदेखि भएर अबेरसम्म हुने गरेको छ।

प्रकाशित: ५ भाद्र २०७५ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App