coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

न्यायाधीश जोशीले राजीनामा नदिने

काठमाडौं - संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूले राजीनामा नदिने बताएका छन्। सोमबार बालुवाटार निवासमा नागरिकसँग कुरा गर्दै जोशीले राजीनामा नदिई बिदा सकिएपछि अदालत जाने बताए।

राजीनामा दिने सोचमा हुनुहुन्न भन्ने प्रश्नमा उनले भने, ‘वन्स अ जज अल्वेज अ जज, किन दिने राजीनामा!’ न्यायाधीश जोशी अब बस्ने संवैधानिक समितिको बैठकले फेरि आफूलाई प्रधानन्यायाधीश सिफारिस गर्ने आशा लिएर बिदा बसेका छन्। सुरुमा १५ दिन स्वीकृत गरी बिदा बसेका उनी थप ६ दिनको बिदामा छन्। कानुनअनुसार आफू नै वरिष्ठ भएकाले प्रधानन्यायाधीश हुनुपर्ने जिकिर गरे।

समितिबाट अस्वीकृत भएपछि सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मुद्दाका दैनिक सूची तोक्नेदेखिको जिम्मेवारी सम्हालेका छन्। जोशी भने कामु प्रधानन्यायाधीशकै हैसियतमा बालुवाटार सरकारी निवासमा बस्दै आएका छन् । ‘म वरिष्ठ न्यायाधीश हो,’ उनले भने ‘६ दिन बिदा लिएको छु। त्यसपछि कोर्ट जानैपर्छ।’ आफूभन्दा कनिष्ठ कामु प्रधानन्यायाधीशको मातहतमा काम गर्नुहुन्छ भन्ने प्रश्नमा उनले ‘न्यायाधीश जुनियर हुँदै हुँदैन’ भन्ने जवाफ दिए। कुनै पनि न्यायाधीशले स्वतन्त्र रूपले काम गर्नुपर्ने उनले बताए।

शुक्रबार कामु प्रधानन्यायाधीशका हैसियतमा निकालिएको विज्ञप्तिलाई लिएर आफूले कुनै टीकाटिप्पणी नगर्ने भन्दै उनी तर्किए। ‘यसलाई लिएर कुनै टिप्पणी नगरौं। त्यही रहन दिऊँ,’ उनले भने। संवैधानिक परिषद्ले अरूका नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेमा ‘उसैले कानुन नबुझेको हुनेछ’ भन्ने टिप्पणी उनले गरे। संविधानअनुसार परिषद्ले योग्यताको हकमा सिफारिस गर्नुपर्नेमा उनले जोड दिए । उनी लामो समय भने बोल्न भने चाहेनन्।

उनले संसदीय सुनुवाइ समितिले साउन १८ मा आफूलाई अस्वीकृत गरेको निर्णयको प्रतिलिपि थमाउँदै भने, ‘मैले मिडियालाई दिने यही हो, राम्रोसँग पढेर बुझ्नु।’ निर्णयमा लेखिएको छ, ‘संवैधानिक परिषद्को ०७५ जेठ २९ को पत्रानुसार प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि दीपकराज जोशी सुनुवाइ समितिको कार्यविधिबमोजिम सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवका आधारमा पदका लागि अयोग्य देखिनुभएको छ।’

सुनुवाइ समितिको कार्यविधिअनुसार ४५ दिनसम्म सुनुवाइ गरी प्रस्तावित पदका लागि नपठाएमा नियुक्तिका लागि बाधा नपर्ने उल्लेख छ । त्यही नियमका आधारमा आफू नै प्रधानन्यायाधीश हुने उनले जिकिर गरे। उनी राजीनामा दिने मनस्थितिमा नभई फेरि आफूलाई संवैधानिक परिषद्बाट पुनः सिफारिस गराउनका लागि दौडधुपमा देखिएका छन्।

भदौ १ देखि लागू भएको नयाँ मुलुकी देवानी, अपराध संहिता कार्यान्वयनको सन्दर्भमा बालुवाटारबाट एक शुभकामना सन्देश जारी भएको थियो। शुभकामना सन्देशमा कामु प्रधानन्यायाधीशका हैसियतमा उनले हस्ताक्षर गरेका थिए। सञ्चारमाध्यमका लागि उनका छोरा प्रवीन्द्रराज जोशीको इमेलबाट कामु प्रधानन्यायाधीशका तर्फबाट शुभकामना पठाइएको थियो।

दुईजना कामु प्रधानन्यायाधीश भएको टिप्पणीको खण्डन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले भने कामु प्रधानन्यायाधीश दुईजना हुन नसक्ने बताएका थिए। उनले कामुप्रन्या ओमप्रकाश मिश्र नै भएको बताएका थिए।

प्रधानन्यायाधीश पदमा संवैधानिक परिषद्द्वारा प्रस्तावित जोशीको नाम समितिको सम्पूर्ण सदस्यको दुईतिहाइबाट अस्वीकृत गर्ने निर्णय गरेको थियो।

संवैधानिक परिषद्को बैठक बिहीबार
सर्वोच्च अदालत लामो समयसम्म नेतृत्वविहीन भए पनि संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन। परिषद् बैठकले प्रधानन्यायाधीशकोे नाम सिफारिस गर्नुपर्नेछ। लामो समयपछि परिषद् बैठक बिहीबार बस्ने बताइएको छ। परिषद्की सदस्य एवं उपसभामुख शिवमाया तुम्बाहाम्फेले भदौ ७ मा बैठक बस्ने बताइन्। परिषदका सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशबाहिर रहेकाले बैठक बस्न नसकेको बताइएको थियो। सभापति देउवा आइतबार स्वदेश फर्केका छन्।

संवैधानिक परिषद्ले पठाएको दीपकराज जोशीको एकमात्र नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि फेरि नाम पठाउनुपर्ने भएको छ। न्यायपरिषद्ले सर्वोच्चमा वरिष्ठताका आधारमा तीनजनाको नाम पठाएको थियो। तीनजनामध्ये जोशीको नाम सुनुवाइ समितिले अस्वीकृत गरेपछि वरिष्ठताकै आधारमा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषद्मा छ। दुईजनामध्ये एकको नाम संवैधानिक परिषद्ले सुनुवाइ समितिमा पठाउनुपर्नेछ। वरिष्ठताका आधारमा कामुप्रन्या मिश्रको नाम अगाडि छ।

प्रकाशित: ५ भाद्र २०७५ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App