७ वैशाख २०८१ शुक्रबार
समाज

बजार अनुगमनमा व्यापारीको हुलहुज्जत

कालीमाटी तरकारीबजारमा अनुगमन गर्न पुगेका सरकारी अधिकारीविरूद्ध उत्रिएका व्यवसायी। तस्बिर : नागरिक

काठमाडौं - तरकारीमा चर्को मूल्य लिएको गुनासो आएपछि अनुगमन गर्न कालीमाटी तरकारी बजार पुगेको सरकारी टोलीलाई व्यापारीले अवरोध गरेका छन्। किसानसँग खरिद गरेभन्दा तीन गुणा बढी मूल्यमा तरकारी बेचिरहेका व्यापारीले कारबाहीमा परिने डरले अनुगमन टोलीविरुद्ध नाराबाजी गरेका हुन्।

बजारमा भएको बेथिति हटाउँदै स्वच्छ व्यावसायिक वातावरण सिर्जना गर्न सघाउनुपर्नेमा व्यापारीले अनुगमनमै अवरोध गरी गैरव्यावसायिक चरित्र प्रदर्शन गरका छन्। बजारमा भएको कालोबजारी नियन्त्रण गर्न अख्तियारी पाएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागको टोलीको काममा बाधा गरी व्यापारीले कानुनलाई हातमा लिने प्रयास गरेका हुन्। व्यापारीको यस्तो कार्यको सर्वत्र विरोध भएको छ।

बजार अनुगमनमा व्यवसायीले हुलहुज्जत गरेपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव कालीमाटी बजार थिए। मन्त्री यादवले हुलहुज्जत गरेर अवाञ्छित गतिविधि गर्ने व्यापारीलाई कारबाही गर्न निर्देशन दिएका छन्।

तरकारी व्यापारीको कार्टेलिङ नियन्त्रण गर्ने प्रयास गर्दा अवरोध गरेको विभागका निरीक्षण अधिकृत दीपक पोख्रेलले बताए। ‘बिलबिजक नभएको एउटा गाडी नियन्त्रणमा लिने प्रयास गरेपछि व्यापारीहरूले अनुगमन टोलीलाई घेराउ गरे,’ पोख्रेलले भने।

तरकारीको भाउ अकासिएको गुनासो आएपछि विभागको टोलीले धादिङ र मकवानपुर पुगेर अध्ययन गरेको थियो । काठमाडौं फर्किएको टोलीले खरिद तुलनामा निकै महँगोमा बिक्री भएको प्रमाण भेटेपछि कालीमाटीमा अनुगमन गरेको हो । ‘व्यापारीसँग न किनेको न बेचेको बिल छ,’ पोख्रेलले भने, ‘उपभोक्ता ठग्नेलाई कानुनी दायरामा ल्याउने प्रयास गर्दा व्यापारीहरू पसल र मूल गेट बन्द गरेर विरोधमा उत्रिए।’

व्यापारीले तरकारी उत्पादन गर्ने किसानलाई न्यून मूल्य दिएर उपभोक्तासँग भने चर्को मूल्य असुल्दै आएका छन्। विभिन्न जिल्लाबाट आउने तरकारीमा बिचौलियाले अत्यधिक मूल्य लिएर बेच्ने गरेका छन्। अहिले बजारमा तरकारीको भाउ निकै महँगो छ।

अनुगमन टोलीमा मन्त्रालय र विभागका अधिकारी तथा उपभोक्ता अधिकारकर्मी संलग्न थिए । अनुगमन टोली सोमबार बिहान ३ बजे कालीमाटीस्थित तरकारी बजारमा पुगेको थियो।

बजार अनुगमन गर्दा व्यापारी विरोधमा उत्रिएको यो पहिलो घटना भने होइन। सरकारले यसअघि दरबारमार्गमा अनुगमन गर्दा पनि संस्थागत रूपमै व्यापारी विरोधमा उत्रिएका थिए। खरिदभन्दा चर्को मूल्य लिने, कार्टेलिङ गर्ने, नाफा लुकाउने, कर छलेर उपभोक्ता र सरकारलाई ठग्ने गरेको आरोप व्यापारीमाथि लाग्दै आएको छ।

कालीमाटी तरकारी बजार अनुगमनका क्रममा बिलबिजकबिना तरकारी ल्याएका दुई ट्रक र अनुगमनमा अवरोध गर्ने एक व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडा छन्। अनुगमन टोलीले ना ४ च ६६३४ नम्बरको ट्रक र चालक सन्दीप दराईलाई नियन्त्रणमा लिएको छ। बा ६ च ६४ नम्बरको ट्रक नियन्त्रणमा लिए पनि चालक कर्मा तामाङ फरार छन्।

बिलबिजक नखुलाई तरकारी ल्याउने दुईवटा ट्रक नियन्त्रणमा लिएपछि व्यापारीले नाराबाजी गरेर अवरोध गरेको अनुगनमा संलग्न राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले बताए। उनले २५ देखि ३० रुपैयाँमा खरिद गरेको काउलीलाई कालीमाटीमा एक सय २५ रुपैयाँमा बिक्री गरेको भेटिएको बताए। ‘तीन गुणा नाफा राखेर बिक्री गरेको भेटियो,’ उनले भने, ‘व्यापारी र बिचौलियाले किसान र उपभोक्तालाई ठगेका छन्।’ सरकारले विगतमा कडाइका साथ कारबाहीको दायरामा नल्याउँदा व्यापारी छाडा हुँदै गएको उपभोक्ता अधिकारकर्मीको आरोप छ।

व्यापारीहरू अनुगमन टोलीविरुद्ध उत्रिएपछि कालीमाटी क्षेत्रमा थप प्रहरी परिचालन गरिएको थियो। अनुगमनमा व्यवसायीले हुलहुज्जत गरेपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव कालीमाटी बजार पुगेका थिए। हुलहुज्जत गरेर अवाञ्छित गतिविधि गर्ने व्यापारीलाई कारबाही गर्न मन्त्रीले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘अनुगमनका क्रममा अवरोध देखिएपछि मन्त्रीज्यूले स्थलगत निरीक्षण गर्नुभयो,’ विज्ञप्तिमा उल्लेख छ, ‘जनताको भान्सासम्म पुग्ने तरकारीको सिन्डिकेट अन्त्य गर्न सरकार कडाइका साथ लागेको छ।’

फलफूल तथा तरकारी व्यवसायी महासंघले भने किसानको सामानको बिल नभएको बहानामा कृषकको तकारी लोड गरी ल्याएका गाडीलाई कब्जामा लिएको भन्दै विरोध जनाएको छ। महासंघले विज्ञप्ति प्रकाशित गरी महासचिव भरत खतिवडालाई पक्राउ गरेको घटनाको निन्दा गरेको छ। महासंघले खतिवडालाई तत्काल रिहा गर्न माग गरेको छ।

प्रकाशित: ५ भाद्र २०७५ ००:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App