७ वैशाख २०८१ शुक्रबार
राजनीति

गण्डकी प्रदेशमा ‘हेलो मुख्यमन्त्री’ टेलिफोन सेवा सुरु

पोखरा - गण्डकी प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ टेलिफोन सेवा सुरु गरेको छ। जनताको गुनासो सिधै मुख्यमन्त्रीले सुन्ने व्यवस्थाका लागि ‘हेलो मुख्यमन्त्री’ सेवा सुचारु गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि नागरिकको गुनासोको सुनुवाई र सम्बोधन गर्न ‘हेलो मुख्यमन्त्री’ विद्युतीय प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिने जनाएको थियो।

जनताले सिधै हेल्लो मुख्यमन्त्री टेलिफोन सेवाको नम्बर १०९४ मा फोन गरेर गुनासो तथा सल्लाह र सुझावहरु टिपाउन सक्नेछन्। प्रदेश सरकार अन्तर्गतका विषयवस्तुहरुको सन्दर्भमा सुझाव, प्रतिक्रिया, गुनासोहरुको सुनुवाईका लागि कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। सेवा मार्फत सबै नागरिकका गुनासो, सल्लाह र सुझाव सम्बोधन गरिने उनले जानकारी दिए।

सुशासन कायम राख्न पनि ‘हेलो मुख्यमन्त्री’ सेवाले सहजता पुर्‍याउने भन्दै मुख्यमन्त्री गुरुङले जनता र नेताहरूबीचको सम्बन्ध नजिक बनाउने बताए। सरकारले बनाउने योजनकालागि जनताको सुझाव महत्त्वपूर्ण हुने उनको भनाइ छ। प्राकृतिक विपद लगायतका जनताका अन्य थुप्रै समस्या थाहा पाउनका लागि पनि उक्त सुविधा सञ्चालन गरिएको उनले जानकारी दिए।

कार्यक्रमको उद्धाटनमा उनले फोनमार्फत २ जना नागरिकको गुनासोको जवाफ समेत दिए। पोखराका सिमपानीका कृष्ण पौडेल र पोखराकै नदीपुरबाट उपेन्द्र पौडेलले राखेको जिज्ञासाको जवाफ मुख्यमन्त्री गुरुङले दिएका थिए। प्रश्नकर्ताले पर्यटन, पर्यटकको सुरक्षा तथा बसाई लम्ब्याउनुपर्ने जिज्ञासा राखेका थिए। मुख्यमन्त्री गुरुङले पर्यटनलाई प्रदेशले पहिलो प्राथमिकतामा राखेको र योजनाबद्ध कार्यक्रम मार्फत अगाडि बढिने जवाफ दिए।

उक्त नम्बरमा फोन गरी सर्वसाधारणले आफ्नो सुझाव तथा समस्या बताउनुका साथै मौखिक रूपमा उजुरी समेत दिन सक्नेछन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव लालमणि ओझाका अनुसार तत्कालको लागि यो सेवा कार्यालय समय १० बजेदेखि साँझ ५ बजेसम्म मात्र सुचारु हुनेछ। त्यो समयसम्म नागरिकको गुनासो सुनुवाईका लागि २ जना कर्मचारी नै खटिनेछन् भने अन्य समयमा आएको उजुरी सिधै रेकर्ड गराउन सक्ने व्यवस्था रहेको छ।

गुनासाहरु टिपाउनका लाागि एन्ड्रोइड मोवाइल प्रयोगकर्ताहरुले Hello CM Android App डाउनलोड गरि सोही App मार्फत पनि गुनासाहरु टिपाउन सक्नेछन। यस्तै, hello.gandaki.gov.np  र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको इमेल hellocm@gandaki.gov.np मा इमेल गरेर पनि गुनासाहरु टिपाउन सकिनेछ।

सरकारले यसअघि नै मन्त्रालयको वेवसाईट ocmcm.gandaki.gov.np सञ्चालनमा ल्याईसकेको छ। वेवसाईट मार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेशमा रहने मन्त्रालय, मन्त्रालयका अधिकार, मन्त्रिपरिषदको बैठकका निर्णय सहित प्रदेशका महत्वपूर्ण कार्यक्रमहरु सार्वजनिक गर्दै आईरहेको छ।

प्रकाशित: ४ भाद्र २०७५ ११:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App