coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘रोजी’ बाट हट्यो इकार

काठमाडौं  – चलचित्र विकास बोर्डमा ‘रोजी’ नाम राखेर दर्ता गरिएको फिल्म ‘रोजी’ अब हलमा ‘रोज’ बनेर आउने भएको छ। आगामी भदौ २२ प्रदर्शनमा आउन लागेको फिल्मको नाम रिलिज मिति नजिकिँदै गएपछि परिवर्तन गरिएको हो।

काठमाडौं वडा नम्बर १५ बस्ने गोविन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग फिल्म ‘रोजी’को कथा परिवेश मिलेको भन्दै पटक–पटक नाम नराखिदिन दबाब दिएपछि निर्माण पक्षले फिल्मको नाम परिवर्तन गरेको हो।

बोर्डमा बिहीबार निर्माता तथा निर्देशक निरक पौडेल, निर्माता मणिकर्ण केसी र मृतक रोजीको परिवारबाट पिता गोविन्द र माता नानीमैयाबीच भएको वार्तामा रोजीको परिवारले छोरीको मृत्यु घटनासँग फिल्मको कथा मिलेको दाबी गरेको थियो । महर्जन परिवारले फिल्म निर्माणको सुरुदेखि नै ‘रोजी’ नाम नराख्न आग्रह गर्दै आएको थियो।

वार्तामा निर्माण पक्षले फिल्मको नाम ‘रोजी’ नराख्ने, फिल्म सत्यघटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता गरेको छ । यस्तै महर्जन परिवारले फिल्म प्रदर्शनताका कुनै पनि प्रकारको बाधा नपु-याउने सहमति पनि भएको छ।

निर्देशक निरकले एउटा मृतकको संवेदनालाई मध्यनजर राखेर फिल्मको नाम परिवर्तन गर्ने निर्णय गरेको बताए । ‘कानुनी रुपमा हामी माथि हुँदाहुँदै पनि कसैको संवेदनालाई बिक्री गरेर पैसा कमाउनु हुन्न भन्ने हाम्रो मान्यता हो । यही कारण नाम फेर्न सहमत भएका हौं ’ उनले भने।

रोजी हत्याकाण्डको बारेमा आफूलाई सुरुमा जानकारी नभएको र महर्जन परिवारले फिल्मको छायांकनमा बाधा पार्न थालेपछि हत्याकाण्डबारे आफूले अध्ययन गरेको निर्देशक पौडेलले दाबी गरे । रोजी हत्याकाण्डको अध्ययनपछि धेरै कुरा फरक पाएकोले आफूहरुलाई नाम परिवर्तन गर्न गाह्राे नभएको उनले जनाए।

फिल्मको छायांकन शुरुताका नै महर्जन परिवारले विकास बोर्डमा उजुरी दिएर छायांकनमा अवरोध गरेको थियो । निर्देशक पौडेलले महर्जन परिवारलाई नाममा चित्त नबुझेमा पनि परिवर्तन गरिदिने बताएपछि छायांकन सुचारु भएको थियो।

गोपिकृष्ण मुभिजको व्यानरमा निर्मित फिल्ममा प्रदीप खड्का, परमिता राज्यलक्ष्मी राणा, मिरुना मगर, कर्मालगायतका कलाकारको अभिनय छ । केही दिनमै ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको फिल्मले हप्ता दिन अघि मात्र ‘रोजी’ नाममै गीत सार्वजनिक गरेकोे थियो।

प्रकाशित: ४ भाद्र २०७५ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App