७ वैशाख २०८१ शुक्रबार
समाज

वर्षामा हिलो, हिउँदमा धुलो

निर्माण पूरा नहुँदा बेलहिया–बुटवल ६ लेन सडकमा जमेको पानी। तस्बिरः विनोद

रुपन्देही- प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी बुटवल–भैरहवा दैनिक आउजाउ गर्छन्। मन्त्रालय बुटवल र निवास भैरहवा भएकाले उनी दैनिक आउजाउ गर्नुपर्छ। चौधरी मन्त्री हुँदा हिउँद भएकाले सडक धुलाम्य थियो। अहिले वर्षाले सडक हिलाम्य छ।

चौधरीले मन्त्री पद सम्हालेलगत्तै निर्माणाधीन बुटवल–बेलहिया सडक आयोजनालाई छिटो सम्पन्न गर्न निर्देशनसमेत दिए । तर, अपूरो सडक भने उही गतिमा छ । भौतिक पूर्वाधार मन्त्री आफै खाल्डा परेका सडकमा सकसपूर्ण यात्रा गरिरहेका छन् । ‘बुटवल–भैरहवा यात्रा गर्न गाह्रो छ,’ उनले भने, ‘म्याद नथप्ने समय सीमाभित्रै सक्न भनेर सरकारले भनेको छ, तर कामको गति हेर्दा पूरा होलाजस्तो छैन।’

मन्त्री चौधरीले ६ महिना मात्रै भयो, धुलो र हिलाम्य सडकमा यात्रा गरेको। बुटवल–भैरहवाका यात्रुले भने हिउँदमा धुलो र वर्षामा हिलाम्य सडकको यात्रा गर्न थालेको ६ वर्ष पूरा भएको छ । तीन वर्षमा सक्ने योजनाका साथ सुरु गरिएको बेलहिया–बुटवल ६ लेन सडक समयमा पूरा नहुँदा यात्रुले पाउनुसम्मको सास्ती पाएका छन् । नेपाली लगानी र नेपालकै इन्जिनियरिङ डिजाइनमा निर्माण भएकाले यो सडकलाई नेपालकै नमुना सडकको रूपमा हेरिएको छ।

आर्थिक वर्ष २०६८/०६९ देखि निर्माण सुरु भएको यो सडकको ११ किलोमिटर मात्रै कालोपत्रे भएको छ। करिब १३ किलोमिटर सडक निर्माण हुन बाँकी छ। आर्थिक वर्ष २०७०/०७१ मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालदेखि बुटवल राजमार्ग चौराहादेखि बेलहियानाकासम्म २४ किलोमिटर सडक निर्माण सुरु भएको थियो।

व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकका लागि तीन अर्ब तीन करोड ८३ लाखमा ठेक्का दिइएको थियो ।  आर्थिक वर्ष २०७३ /७४ देखि राजमार्ग चौराहादेखि गोलपार्कसम्म  ३.५ किलोमिटर सडक थपिएको छ । यो समेत गरी पाँच अर्ब ८६ करोड रुपैयाँमा बुटवलदेखि बेलहियानाकासम्मको २७.५ किलोमिटर सडक ‘सिक्सलेन’ बनाउने योजना हो । तर, आयोजना सुरु भएको सात वर्ष हुँदा पनि समयमा पूरा हुने छाँटकाट देखिएको छैन।

मणिग्रामदेखि बेलहियासम्म यात्रा गर्दा नागरिकले धुलो र हिलोको सास्ती भोग्नुपरेको छ। तिलोत्तमा–१२ का लक्ष्मण पोखरेलले हिलाम्य सडकका कारण यात्रा गर्दा सकस भएको बताए। ‘मन्त्री त सिसावाला गाडीमा यात्रा गर्छन्, हामीजस्ता सर्वसाधारण धुलो र हिलोमा छ्यापिँदै हिँड्नुपर्छ,’ उनले गुनासो पोखे।

एउटै सडकमा लामो समयदेखि समस्याग्रस्त हुँदा पनि निर्माणको गति बढ्न नसक्नुमा सरकार मुख्य दोषी रहेको पश्चिम नेपाल बस व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष जीवन बन्जाडे बताउँछन् । सडक खाल्डाखुल्डी हुँदा जोखिमपूर्ण यात्रा भइरहेको उनले बताए । २५ देखि ३० मिनेटको बाटो एक घन्टा लाग्ने गरेको उनी बताउँछन् । उनले भने, ‘निर्माणमा किन ढिलाइ भइरहेको छ, त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।’ निर्माण ढिलाइ भएकाले ठेकेदारलाई बोलाएर सोध्न नसक्नु सरकारको कमजोरी भएको उनले बताए । सडकको संरचनाले गर्दा यातायात व्यवसायीलाई भन्दा बढी मर्का यात्रुलाई परेको उनको भनाइ छ।

वर्षौंदेखि निर्माणको नाममा सडक पूरा नहुँदा यातायातका पार्टपूर्जा बिग्रँदा खर्चसमेत बढेको यातायात व्यवसायीको गुनासो छ । तिलोत्तमा नगर क्षेत्रका सर्वसाधरण भने सडकको धुलोका कारण समस्यामा परेका छन् । सडकको धुलो घरको भान्छासम्म आउने गरेको स्थानीयको गुनासो छ।

आयोजनाले भदौ मसान्तसम्म ६ लेन सडक पूरै सम्पन्न गर्ने अन्तिम लक्ष्य राखेको छ । तर, यो अवधिमा सम्पन्न गर्न नसक्ने लगभग पक्का भइसकेको छ । बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडकभित्र परेका भौतिक संरचना हटेको छैन । आयोजनाले डोजर लगाएर भत्काउन खोजे पनि अदालतको आदेशपछि यसको प्रक्रियानै अवरुद्ध भएको छ । निर्माणाधीन मणिग्रामदेखि भैरहवासम्मको सडक तोकिएको समयभित्र नसकिने भएको छ।

भदौ मसान्तसम्म सडक निर्माण पूरा गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले भने समयमा काम सक्न नसक्ने जनाइसकेको छ ।

आयोजना प्रमुख जीवेन्द्र मिश्रले आफूहरू म्याद थपको पक्षमा नभएको बताउँदै ठेकेदार कम्पनीलाई जसरी पनि काम सम्पन्न गर्न दबाब दिएको बताए । तर, भदौसम्ममा काम सम्पन्न हुनेमा उनी पनि विश्वस्त छैनन् । ‘जादूको छडीले जसरी काम सम्पन्न हुँदैन,’ उनले भने, ‘चित्तबुझ्दो स्पष्टीकरणबिना म्याद थप हुँदैन।’ उनले विभागले नै यसको प्रक्रिया अघि बढाउने भएकाले निर्माणमा भइहेको ढिलाइबारे पनि उसले निर्णय गर्ने अधिकार रहेको बताए । आयोजनाले सडक निर्माणका लागि विभिन्न कम्पनीलाई ठेक्का दिएको छ ।

सुरुवातको वर्ष राजमार्ग चौराहादेखि मणिग्रामसम्म बोलपत्र आह्वान समयमै गरेकाले निर्माण पनि सम्पन्न गर्न सकेको उनको भनाइ छ । उनले नागरिकले धुलो खान बाध्य भएको विषय यथार्थ रहेको बताउँदै अब पुससम्ममा जसरी पनि निर्माण पूरा हुने दाबी गरे । ठूला आयोजना समयमा पूरा नहुने हुनाले आमनागरिकले सास्ती पाउने गरेका छन्।

 

 

प्रकाशित: ४ भाद्र २०७५ ०७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App