coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘सहरवासीले सरकारलाई टेरेनन्’

खुश्वु खड्का, नायिका

तपाईको विचारमा सहर केहो?
सहर सुगम र सहज ठाउँ हो । सहरमा हरेक सेवा–सुविधा चुस्त हुन्छन् । सहरको सुरक्षा व्यवस्था पनि कडा पारिएको हुन्छ । धेरै जनसंख्या भएको ठाउँलाई कसरी व्यवस्थित पार्न सकिन्छ भन्ने जिम्मा त्यहाँको सरकारले लिएको हुन्छ।

घुमेकामध्ये मनपर्ने सहर कुन हो?
मलाई पोखरा मनपर्छ । त्यहाँ सुन्दर ठाउँहरू छन् । वरीपरीका दृश्यहरू मनमोहक छन् । विकासको हिसाबले व्यवस्थित पनि छ । धुवाँधुलो र प्रदूषण पनि खासै देखिँदैन । फराकिलो सडक, फेवाताल र सहर वरपरका पर्यटकीय मार्गले पोखरा धेरै पर्यटकहरूको आर्कषकको केन्द्र मानिन्छ।

उपत्यका कस्तो लाग्छ?
उपत्यका आफैमा नराम्रो सहर होइन । प्रकृति र परम्पराले उपत्यका अग्रपंतीमा छ । तर, मानवीय रूपमा भएका कामहरू सहर सापेक्ष भएनन् । काठमाठौंमा बस्नेहरूले सहरको विकास भन्दा पनि आफूलाई बनाउनतर्फ लागे । कसैले पनि आफू बसेको ठाउँलाई व्यवस्थित र मौलिक बनाउनुपर्छ भनेर सोचनन् । अहिले यहाँको अस्तव्यस्त सम्झँदा दिक्क लाग्छ । उपत्यका सबैतिर दिक्कलाग्दो भइसकेको छ । सहरवासीकै हेलचेक्रयाइले बिग्रिएको हो । किनकि सहरमा बस्नेले सरकारलाई टेरेनन्।

नेपालभन्दा बाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ?
त्यति धेरै घुमेकी छैन, केही देशका सहर पुगेकी छु । दुबई, कतार, बैंकक, लगायत देशका सहर घुम्ने मौका पाएँ।

त्यहाँका सहर कस्तो लाग्यो?
आधुनिक छन्, त्यहाँका सहर । सरकारी नियकाले सबैतिर व्यवस्थित पारेको छ । अर्कोकुरा बाहिरी मुलुकका सहर जति घुमे पनि दिक्क लाग्दैन । त्यहाँका सहर हेरेरहँ लाग्ने खालका छन् । सहरमा मन लोभ्याउने किसिमका दृश्यहरू हुन्छन्।

नेपालका सहरमा के भिन्न रहेछन्?
मौलिकताको हिसाबले हामी एकदमै अगाडि छौं । संसारमै नेपाल जस्तो मौलिकता भएको सहर छैन जस्तो लाग्छ । यहाँका मौलिक संस्कृति र ऐतिहासिक क्षेत्रहरू हेर्न विश्वका कुना–कुनाबाट पर्यटकहरू आउने गरेका छन् । यो खुशीको कुरा हो । अर्को पक्ष, आधुनिकतालाई हेर्दा हामी पछि छौं । अरु देशका सहर धेरै विकसित भइसक्दा पनि हाम्रोमा अझै सडक चौडा पार्ने काम सकिएको छैन । भौगोलिक र प्राकृतिक पक्षलाई ध्यानमा राखेर काम गर्ने हो भने नेपाल संसारमै भिन्न मूलुक भनेर स्थापित हुन सक्छ।

सहर विकास हुन नसक्नुको कारण के होला?
सरकार जिम्मेवार भएन । सहरवासी पनि जिम्मेवार भएनन् । सहरको विकासलाई ध्यान दिएनन् । ऐतिहासिक, मौलिक र प्राकृतिक पक्षलाई नियाल्दा नेपाल धेरै अगाडि छ।

तपाईंकोे कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
फराकिलो सडक, वरीपरी रूखैरूख । व्यवस्थित यातायात सेवा, प्रशस्त घुम्ने ठाउँ होस् । एकले अर्कोलाई अवरोध गरेको देख्न नपरोस् । सहर समान होस् । सहरभित्रका सेवा सुविधा सहजै लिन सकियोस्।

काठमाडौं कसरी व्यवस्थित बन्ला त?
सरकारले यहाँ भएका सुविधा अन्त सार्न सकेन । भत्काइएका सडक समयमै मर्मत भएनन् । यसमा सरकार नै गैर–जिम्मेवारी देखिन्छ । यहाँ भएका सुविधा विकेन्द्रीकरण गर्नुपर्छ । यसो भए मानिसहरू भीडभाड केही कम हुन्छ।

उपत्यकाको मुख्य समस्या के–के देख्नुभएको छ?
यहाँको मुख्य समस्या भनेको खानेपानी र अव्यवस्थित सडक नै हो।

उपत्यकाको मन नपर्ने पक्ष?
खाल्डाखुल्डी सडक, ट्राफिक जाम, धुवाँधुलोलगायत सहरका मुख्य समस्या हुन् । सहरमा हिड्दा धेरैपल्ट खाल्डोमा परेकी छु।

सहरलाई सफा राख्न के गर्नुपर्ला?
जथाभावी फोहर नफ्याक्ने, विकास निर्माणका काम छिटो सक्ने, वृक्षरोपण गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित पार्ने, सडक चौंडा पार्ने, ठाउँ–ठाउँमा आराम स्थल बनाउनेजस्ता काम हुनुपर्छ।

काठमाडौंको मनपर्ने पक्ष के हो?
यहाँको मौसम सदावहार छ । संसारमै नभएका मठ–मन्दिर छन् । सबैखाले सेवा–सुविधा पनि यहीँ छन् । यो यहाँको राम्रो पक्ष हो।

सहरवासीको दायित्व के होला?
सहरलाई विकास गर्न त्यहाँ बस्ने स्थानीयको भूमिका मुख्य हुन्छ । सबैले मिलेर सहरको विकासका जुट्ने हो भने सहरको विकास छिटो हुनसक्छ।

सहरमा बस्नेहरुको बानी–व्यवहार कस्तो लाग्छ?
सहरवासी निकै स्वार्थी छन् । सबैले आफ्नो मात्रै हेर्छन् । कसैले पनि यो ठाउँको विकास गर्नुपर्छ भनेर लाग्दैनन् । आफ्नो ठिक भएपछि अरू बिग्रिएपनि चासो दिँदैनन् । एकअर्कोप्रति कठोर व्यवहार गर्छन्।

सहरमा घुम्न कता जानुहुन्छ?
सहरमा घुम्ने पर्याप्त ठाउँहरू छैनन् । प्रायः सुटीङकै शिलशीलामा विभिन्न ठाउँहरु घुमेकी हुन्छ । तर, घुम्नकै लागि भनेर हिड्न ठाउँ भेट्दिनँ।

यहाँको मनपर्ने खानेकुरा के हो?
नेवारी परिकार ज्यादै मनपर्छ।

मन भएर पनि घुम्न नपाएको ठाँउ कुन हो?
मलाई आफ्नै देशको तिलिचो ताल घुम्न मन छ । यो ताल ४ हजार ९ सय मिटर उचाईमा छ।

सहरको सपिङ गर्ने ठाउँ?
म सधैं एउटा ठाउँमा किन्दिनँ । जहाँ मौका मिल्यो र आवश्यक प-यो त्यही किन्छु।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ४ भाद्र २०७५ ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App