८ वैशाख २०८१ शनिबार
अर्थ

मनाङ एयरका उडानमा प्रतिबन्ध

काठमाडौं - मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरको उडानमा प्रतिबन्ध लगाएको छ।

गत साउन २९ गते हुम्लाको हिस्लास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको एउटा हेलिकोप्टरको पछाडिको पंखाले लागेर एक भारतीय पर्यटकको घटनास्थलमै मृत्यु भएपछि प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको हो।

‘हेलिकोप्टर उडान सञ्चालनमा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि मनाङ एयरको सम्पूर्ण उडान रोकेका छौं,’ उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले आइतबार नागरिकसँग भने, ‘अब मनाङको आन्तरिक सुरक्षा मूल्यांकन गर्नेछौं र त्यसमा सन्तुष्ट भएमात्र उसलाई पुनः उडान सञ्चालन गर्न दिइनेछ।’

मनाङको ‘९एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस३५०बिथ्री–ई’ सिरिजको हेलिकोप्टरको पछाडिको पंखाले लागेर भारत मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको घटनास्थलमै मृत्यु भएको थियो।

प्राधिकरणका अनुसार मेहताको टोली तिब्बतस्थित धार्मिक गन्तव्य मानसरोवर दर्शन गर्न आएको थियो। उनको टोली कैलाश ट्रेकर्स कम्पनीको व्यवस्थापनमा मानसरोवर गइरहेको थियो। काठमाडौंबाट नेपालगन्ज जहाजमा गएर त्यहाँबाट मनाङको हेलिकोप्टरमा हुम्लाको सिमिकोट गएका मेहताको टोली सिमिकोटबाट हिल्सा गएको थियो।

हुम्लाको हिल्सामा हेलिकोप्टर अवतरण गर्नासाथ यात्रु बाहिर निस्किए पनि मेहता भने मोबाइल फोनमा ‘सेल्फी’ खिच्ने भन्दै हेलिकोप्टरको पछाडिपट्टि गएका थिए। तर, भर्खरै अवतरण गरेको हेलिकोप्टरको पंखा तीव्र गतिमै घुमिरहेको थियो, बन्द भएको थिएन। तर, दुर्भाग्यवश मेहताले पछाडिको पंखा घुमेको देखेनन् र त्यही पंखा उनको टाउकोमा पर्न जाँदा उनको तत्कालै मृत्यु भएको थियो। घटनाको भोलिपल्ट काठमाडौंस्थित भारतीय दूतावासको सहयोगमा मेहताको शव भारत लगिएको थियो।  
 
‘आफ्ना यात्रुको सुरक्षाको जिम्मेवारी वायुसेवा कम्पनीकै हुन्छ, हेलिकोप्टरमा चढ्ने कसरी र अवतरणपछि उत्रेर कसरी सुरक्षित बाहिरिने भन्ने जस्ता सुरक्षाका विधि उड्नुअघि नै यात्रुलाई सिकाउनुपर्छ,’ प्राधिकरणका अर्का एक अधिकारीले भने, ‘यस्ता विषयमा मनाङले गम्भीर खेलाँची गरेको पुष्टि भएको छ।’

हेलिकोप्टरबाट उत्रिएपछि यात्रुलाई दायाँबायाँ जान दिनु मनाङको गल्ती भएको उनले बताए। जुन हेलिकोप्टरमा चढेर गएको छ, त्यही हेलिकोप्टरको पंखाले लागेर यात्रुको ज्यान जानु भनेको गम्भीर विषय भएको उनको भनाइ छ । नेपालगन्ज–सिमिकोट–हिल्सा अहिले हेलिकोप्टर उडान हुने प्रमुख गन्तव्य भएका छन्।

मानसरोवर जाने पर्यटक ओसार्न हेलिकोप्टर कम्पनीलाई भ्याइनभ्याइ छ। त्यसमाथि हिल्सास्थित स्थानीय निकायले हेलिकोप्टरमा आएका प्रत्येक यात्रुसँग १ हजार १ सय रुपैयाँ ‘कर’ उठाउने गरेका छन्।

घटनापछि ‘गल्ती भएको’ भन्दै मनाङले आफ्नो उड्डयन सुरक्षा सुधारका कार्यक्रम प्राधिकरणमा पेस गरेको छ। ‘उसले पेस गरेको सुरक्षा सुधारका कार्यक्रम सबै विस्तृतमा अध्ययन र मूल्यांकन गर्छौं,’ उपमहानिर्देशक पोखरेलले भने, ‘सन्तोषजनक भएमात्र मनाङलाई पुनः उडान सञ्चालन गर्न दिने छौं।’

हिल्साको घटनाबाट उडान प्रतिबन्धमा परेको मनाङ फर्जी उद्धार उडानमा पनि संलग्न रहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कारबाहीका लागि सम्बद्ध निकायलाई सिफारिस गरेको छ। फर्जी उद्धार उडानमा मनाङसँगै हेलि एभरेस्ट र एयर डाइनेस्टी लगायत हेलिकोप्टर सेवा प्रदायक कम्पनी पनि संलग्न रहेको र कारबाहीको दायरामा परेका छन्।

२१ वर्षअघि सन् १९९७ मा स्थापना भएको मनाङ एयरका सञ्चालक सतिशप्रसाद प्रधान हुन्। लामो समय चलेर तीन वर्ष बन्द भएको मनाङले २०७१ जेठबाट पुनः व्यापारिक उडान सुरु गरेको थियो। उसले सुरुमा एकथान एएस३५०बिथ्री–ई सिरिजको हेलिकोप्टर ल्याएको थियो भने हाल यस्ता चारथान सञ्चालनमा छन्।

सन् २००९ सम्म मनाङसँग रहेको एकथान ‘एमआई–१७’ मोडेलको हेलिकोप्टरले उडान गरिरहेको थियो। त्यो हेलिकोप्टर दुर्घटनामा परेपछि उडान बन्द भएको थियो। दुईवटा एमआई–१७ हेलिकोप्टरमध्ये एउटा अर्को हेलिकोप्टर सेवा कम्पनी श्री एयरलाइन्सलाई बेचेको थियो।
 
हेलिकोप्टर नभएर उडान नभए पनि मनाङले वर्षैपिच्छे नागरिक उड्डयन प्राधिकणमा वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) नवीकरण गरिरहेका थियो। मनाङले स्वदेशी तथा विदेशी यात्रुलाई हेलिकोप्टर यात्रा, धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन भ्रमण, पर्वतीय दृश्यावलोकन, उद्धार तथा कार्गो उडानलगायत सेवा उपलब्ध गराउँदै आएको थियो।

प्रकाशित: ४ भाद्र २०७५ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App