७ वैशाख २०८१ शुक्रबार
विचार

७५ मा संन्यासी कि विद्यार्थी?

रणबहादुर शाहसँगै बनारसबाट विसंं १८६० मा यहाँ आएर खजान्ची भएका थिए, उदय गिरि । इन्द्रचोक चोखाछेँ गल्लीमा घर थियो, उनको । २०७२ को भुइँचालोमा घर भत्कियो । उदयका खनाति भूपेन्द्र गिरिले इतिहासकार महेशराज पन्तलाई सम्पर्क गरे । उनले भने— मसँग केही पुराना पुस्तक छन्, यहाँलाई दिन्छु।

— किन र, यत्रा सार्वजनिक पुस्तकालय छन्, अभिलेखालय छन्, मेरो घरमा राख्ने ठाउँ पनि छैन।

— सरकारी पुस्तकालय, अभिलेखालयबाटै अमूल्य सामग्री हराएको–चोरिएको सुन्छु, लिने भए लिनुस्, नत्र वाग्मतीमा बगाइदिन्छु म त।

२०७२ माघ २ गते पन्तले गिरिबाट लिएका बोराका बोराका पुस्तकमध्ये एउटा लामै हस्तलिखित लेखोट पनि रहेछ । पूरै पाना नभएको, तलमाथि भएको त्यो लेखोटलाई पन्तले सम्पादन गरेर इतिहासप्रधान त्रैमासिक पत्रिका ‘पूर्णिमा’को पछिल्लो १४४ औँ अंकमा छापेका छन् । जसमा जंगबहादुरको प्रशंसात्मक जीवनचरित्र छ।

भूूतपूर्व प्रधानमन्त्रीको घरसँगै काँडेतारभित्रै पन्तको पाँच तले घर छ । जसलाई उनले विसं २००९ मा स्थापना भएको संशोधन मण्डल (नेपालको इतिहास र संस्कृत विद्याको खोजी गर्ने संस्था) को कार्यालय बनाएका छन् । यो घर उनले २०६२ सालमा बनाएका हुुन् । त्यहाँ एक तलाबाहेक सबै तलामा, सबै कोठामा किताब, पत्रपत्रिका, अभिलेख के–के हो के–के पोकापुन्तुरा भरिभराउ छन् । उनकै भाइ प्राज्ञ दिनेशराज पन्त ठाट्टिक शैलीले भन्छन््, ‘दाइले भाडामा दिएको भए महिनावारी एक लाख रुपियाँ कमाउनुहुन्थ्यो । यो घाटा त छँदै छ, विभिन्न स्टाफलाई मासिक ६५ हजार रुपैयाँ त तलबमै दिनुहुन्छ।’

विश्वविद्यालय फर्जीदेखि दल–दलालहरूको नेतृत्वमा भएको हुँदा पन्तको सपना पूरा हुने सम्भावना चाहिँ कमसेकम यो जुनीमा छैन।

२०५५ सालदेखि हिसाब गर्दा २० वर्ष भयो । २० वर्षदेखि उनी आफ्नै खर्चमा चार जना स्टाफ राखेर धमाधम काम गराइरहेका छन् । हाल यो घरमा चिनीकाजी महर्जन, शर्मिला मल्ल, युवेश वज्राचार्य र नारायण भण्डारीले कम्प्युटराइज गर्न सघाइरहेका छन् । उनलाई लाग्छ, यो गतिले काम गर्दा अबको २५ वर्षसम्म पनि काम सकिन्न । आजदेखि ७५ वर्ष टेकेका उनलाई यो पनि लाग्छ— अब हदै भए २० वर्ष जति सक्रिय रहन सकूँला, लेखपढ गर्न सकूँला । पर्याप्त पैसा र पर्याप्त स्थान हुनेथियो भने उनी अझै केही कर्मचारी थपेर ‘जानु’अघि घरमै व्यवस्थित इ–लाइब्रेरी तयार पारेर जान चाहन्छन् । पाठक–अनुसन्धाताले प्रयोग गरून्–नगरून्, चासो दिऊन्–नदिऊन् उनलाई फिक्री छैन।

उनको घरको एक कोठामा ठेली र ठ्यासफूले घेरिएको टेबुलमा जुनु बासुकला रञ्जितकार हराइरहेकी छन् । उनी हुन्, बौद्ध दर्शनमा विद्यावारिधि गरेकी त्रिवि लेक्चरर । २०६४ सालमा विद्यावारिधिका लागि प्रपोजल हालेपछि उनले महेशराज पन्तको नाम सुनिन । उनी पन्त खोज्दै आइन् । भन्छिन्, ‘पहिलो दिन त गाली खाएँ । भन्नेले उहाँलाई घमण्डी भन्छन्, तर त्यो ज्ञानप्रतिको विश्वास, आफूप्रतिको आत्मविश्वास हो । पीएचडी सक्न मैले कुनै लाइब्रेरी धानु परेन । उहाँ मेरो इन्फर्मल सुपरभाइजर नै हो । कुनै गुरुभेटी चढाउनु परेन । यो जुनीमा त उहाँको ऋण तिर्न सक्दिनँ होला ।’ २०७२ मा पीएचडी सकेपछि पनि उनी बरोबरजसो आइरहँदिरहिछन्, लेखपढ गर्न।

बासुकलाकै पहलमा उनका केही साथी जम्मा भएका छन् । ती प्रायः शिक्षक–प्राध्यापक छन् र बढीजसो नेवार समुदायकै छन् । बासुकलासहित उनका साथीहरूलाई महेशराज पन्त हर शनिबार बिहान वसन्तपुरको विद्यालयको एक कोठामा संस्कृत भाषा सिकाउँछन् । उनीहरू कोही त अब ‘पन्त सर’को निर्देशनमा संस्कृतबाट अनुवाद पनि गर्दैछन्।

डा.महेशराज पन्त आजदेखि ७५ वर्ष टेक्दैछन् । भन्ने हो भने यो उनको संन्यास आश्रममा प्रवेश गर्ने विन्दु हो। के उनी अब संन्यासको घोषणा गर्दैछन्? काम देखेर उनलाई घरीघरी अत्यास लाग्छ। भन्छन्, ‘समयाभाव, अर्थाभाव, शिष्याभावले गर्दा म एक्लो छु।’

महेशराजको घर अगाडि बाइक रोकियो । उनी ढोका खोल्न गए । पत्रिका बाइन्डिङ भएर आएछ । उनी आफैँले पनि पत्रिकाको बाइन्डिङ–बन्डल चौथो तला चढाए । उनले २१ सय रुपैयाँ टक्र्याए । चारओटा बुक ¥याकै हिजै मात्र अर्डर पनि गरेका छन्, महेशले।

उनी नेपाली र अंग्रेजी भाषाका सबै दैनिक, सबै म्यागेजिनहरूका ग्राहक छन् । पहिले द हिन्दु, टाइम्स अफ इन्डिया, जनसत्ता, टाइम पनि ल्याउँथे । तर, राख्ने ठाउँ कम भएपछि न्युयोर्क टाइम्स चाहिँ ल्याइरहेका छन्, जुन रिपब्लिका दैनिकसँगै आउँछ । पन्त बिहान ती सबै सरसर्ती हेर्छन् । आफ्नो रुचिको लाग्यो भने पूरै पढ्छन् अनि चिनो लगाई छोड्छन् । उनका कर्मचारीले त्यसलाई कम्प्युटरमा इन्ट्री गर्छन् । नेपाल भाषाका पत्रिका, केही साप्ताहिक पत्रिका हेर्न–किन्न उनी हरेक दिन साँझपख वसन्तपुर दरबार क्षेत्र जान्छन् । १०–१२ ओटा पत्रिका जहिल्यै बोकेर घर फर्किन्छन्।

उनको जायजेथा बाँकी रहेको भनेको अब यही एउटा घर हो । उनका छोराछोरी कोही नेपालमा छैनन् । उनी आफ्नो पेन्सन यता खर्च गरेर रमाइरहेका छन् । ‘अरू पैसा लिएर, प्रपोजल लेखेर मात्र अनुसन्धान गर्छन्, म आफ्नै पैसा खर्च गरेरै काम गरिरहेको छु । श्रीमती त ‘यो काम भएन भने पागल हुन्छ’ पनि भन्छिन्।’

परिवारमा त उनका उत्तराधिकारी भएनन् नै तर बाहिर पनि उनको बाटो पछ्याउने कोही भएनन् । पन्त–पाठशाला बन्द छ । संशोधन मण्डलबाट २०२१ सालदेखि निस्किरहेको पूर्णिमाका सुरुदेखिका सम्पादक हुन्, महेशराज पन्त । पत्रिका कस्तो हालतमा निस्किरहेको छ भने, कुनै समय यसका ३०० सम्म ग्राहक थिए, अहिले २५ कपी पनि जाँदैन । पन्तको ‘वान म्यान सो’जस्तो भएको छ, पूर्णिमा।

‘यो रुचिको कुरा हो, किन लाद्ने ?’ अलिबेर पछि भन्छन्, ‘म मान्छेहरूमा उत्साह बढाउन सक्दिनँ । शिष्य नभएका होइनन्, तर उनीहरू टिकेनन् ।’ विदशी दाताको सहयोग नलिने अनि सरकारले हरेक वर्ष बाँड्ने हन्डी पनि भागमा नपर्ने भएपछि संशोधन–मण्डल सुक्नु स्वाभाविकै हो।

उनकी आठ वर्षे नातिनी नेपाल आएकी छिन् । हजुरबाको सबै कोठाचोटा चहारेपछि उनले भनिन्— यी सबै पढ्नुभएको छ ? के हुन् यी ? तपाईंको अकुपेसन के हो?

नातिनीको निश्छल प्रश्नले उनलाई अवाक् बनायो । अँ साँच्ची, मेरो अकुपेसन के हो?

आठ वर्षे नातिनीको जस्तो पनि सामान्य भ्रमण र शोधन कुनै उच्च शासक–प्रशासकबाट भएको छैन । सत्ता, शक्ति र शासकप्रति अतिशय मोह पाल्नेहरू विद्वान् हुनै नसक्नै उनको तर्क छ।

पन्तलाई अखबारमा छापिने त्रुटिपूर्ण सामग्रीले बिहानभर वाक्कदिक्क बनाउँछ । कहिलेकाहीँ त अति नै हुन्छ, र उनी अखबारमै मुख छोडेर पनि कमेन्ट लेख्छन् । अखबार के झन् झन् बिग्रिएका छन् ? ‘तथ्यमा हुने गल्ती त उस्तै हो, पहिले पनि धेरै न हुन्थ्यो । तर, अहिले भाषा चाहिँ हेरिनसक्नु छ।’

अखबारको के कुरा ? उनीकहाँ राष्ट्रिय अभिलेखालयले छाप्ने किताबदेखि विश्वविद्यालयका शोधप्रबन्धसम्म आउँछन्, हेरिदिन भनेर । उनी शब्द–शब्द पढछ्न, महिनौँ लगाएर । छुट्टै चार–पाँच पानामा टाइप गरेरै ‘मिलाउनुपर्ने कुरा’ भनेर दिन्छन् । तर, ती छापिएर, पास भएर आउँदा केही सच्याइएको हुँदैन । उनले राष्ट्रिय अभिलेखालयबाट नसच्याई छापिएको हालैको किताब र आफ्नो चिठी देखाए।

पन्त ब्रदर्सले हाल लेखिरहेका लेख धेरै त पुनरावृत्ति जस्तो मात्र भइदिएको छ । ‘यो गल्ती हो भनेर हामीले पचासौँ वर्षअघि देखि लगातार लेखिरहेका छौँ, तर पनि गल्ती र भ्रमकै विस्तार भइरहेको छ।’

‘जस्तो?’

‘हालै निस्किएका पुस्तक–पत्रिकामा चाँगुनारायणको स्थापना मानदेवले गरे भनिएको छ । उनीभन्दा अगाडि नै चाँगुनारायणको स्थापना–प्रतिष्ठा भइसकेको थियो । मानदेवले त त्यहाँ पूजाआजा मात्र गरेका हुन् भन्ने कुरा उनकै अभिलेखमा छ । यक्ष मल्लले तीन जना छोरालाई राज्य बाँडे भनेर अझै लेखिरहिएकै छ । उनी मरेपछि छोराहरू आफैँले बाँडेका हुन् । यसलाई २०११ सालमै सच्याइएको हो । यी त केही उदाहरण मात्र हुन्।’

‘हामीबाट गल्ती किन भइरहन्छ?’

‘गम्भीर कुरा पढ्ने बानी नै हरायो । धेरै नै हरायो । टिभी आएपछि पढ्ने बानी कम भएजस्तो लागेको थियो, अहिले त सबै मोबाइल फोनमै घोप्टिएको देख्छु।’

बिजोग कतिसम्म छ भने हनुमानढोका क्षेत्रको काष्ठकलाको सूचीपत्र युनेस्कोको खर्चमा पुरातत्व विभागले हालै छाप्यो तर सूचीपत्रमा प्रतिमाहरूको पहिचान खास मिलेको छैन । भन्छन्, ‘यहाँ यत्रा यत्रा विश्वविद्यालय छन्, इतिहास, संस्कृति, पुरातत्व विभाग छ, तर गतिलो आइकनोग्राफर (प्रतिमा लक्षणविद्) र इपिग्राफर (अभिलेखविद्) एक जना पनि छैन।’

यस सन्दर्भमा उनी सम्झिन्छन्, ‘संस्कृत पाठशालाका पण्डितहरूले १०–५ पढाएर स्वयंसेवी रूपमा तयार पारेको वीर पुस्तकालयको विस्तृत क्याटलगको जोडाको सूचीपत्र अहिलेसम्म छैन।’

भुइँचालोमा उनको पुस्तकालय पनि लड्यो, बिग्रियो । तर, उनले अढाइ लाख रुपियाँ खर्च गरेर ६ महिनामा ठीकठाक पारे । हस्तलिखित केही किताब–पानाको क्रम मिलाउनेबाहेक उनको चार तले–१२ कोठे लाइब्रेरी व्यवस्थित भइसकेको छ । तर, हाम्रा सरकारी पुस्तकालय अहिले पनि बोरामा, पानीमा, भग्न धरापमा छन् । ती चाँडै व्यवस्थित हुने भन्दा पनि चाँडै बिलाएर जाने सम्भावना धेरै छ । एउटा व्यक्तिले आफ्नै खर्चमा यति गर्न सक्छ, तर सरकार?

‘सरकारी मान्छेहरूमा जाँगर नै छैन।’

‘जाँगर किन छैन, पैसा नभएर?’

‘पैसा भएर,’ बिब्ल्याँटो जवाफले म अवाक्।

पन्तलाई नेपालीहरू बहुमुखी प्रतिभाका धनी लाग्छ । एउटै मात्र काम गहिरिएर गर्ने व्यक्ति भेट्न गाह्रो छ । यहाँ एउटै व्यक्ति इतिहास, अर्थ, समाज, वातावरणदेखि राजनीतिसम्मका वेत्ता हुन सक्छ । दुनियाँमा यस्तो कहीँ हुँदैन।

पिता नयराज पन्त बितेपछि लक्ष्मीपति–नयराज संग्रह छुट्टै छ, उनको घरमा । ‘अंशबन्डा’ कसरी गरेका छन् भने पिताका हस्तलिखित सामग्री उनीसँग छन् भने छापिएका चाहिँ भाइ दिनेशसित।

नेपाली, संस्कृत, अंग्रेजी र हिन्दीमा लेख्न–पढ्न सक्ने पन्त पढ्न चाहिँ यी भाषालगायत प्राकृत, नेपाल, जर्मन, फ्रेन्च, मराठी, बंगाली पनि सक्छन् । उनका दुई सयभन्दा बढी शोधलेख प्रकाशित छन् । जर्मनी र भारतबाट एकएक गरी नेपालबाट उनका सातवटा पुस्तक प्रकाशित छन् । यही वर्ष उनका तीनवटा किताब प्रकाशित हुँदैछन्।

डा.महेशराज पन्त आजदेखि ७५ वर्ष टेक्दैछन् । भन्ने हो भने यो उनको संन्यास आश्रममा प्रवेश गर्ने विन्दु हो । के उनी अब संन्यासको घोषणा गर्दैछन् ? तर, कुरो उल्टो छ । उनी गधेपच्चीसी जोसमा बौद्धिक गृहस्थमा पो प्रवेश गर्दैछन् । उनलाई अझै २५ वर्ष बाँचेर काम सिध्याउन मन छ । अबको समय निकै छोटो लागेको छ तर गरिसक्नुपर्ने काम निकै लामो । काम देखेर उनलाई घरीघरी अत्यास लाग्छ । भन्छन्, ‘समयाभाव, अर्थाभाव, शिष्याभावले गर्दा म एक्लो छु।’

महेशराज पन्तको सपना छ । सपना कस्तो भने पूरा नै नहुने सपना । उनी त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति र पुरातत्व विभागको पाठ्यक्रम र पाठ्यसामग्री निःशुल्क बनाइदिन, हस्तान्तरण गर्न तयार छन्।

तर, विश्वविद्यालय फर्जीदेखि दले–सेनाहरूको नेतृत्वमा भएको हुँदा यो उनको सपना पूरा हुने सम्भावना चाहिँ कमसेकम यो जुनीमा छैन । त्रिविको नेपालीबाहेक कुनै पनि विभागले उनलाई अहिलेसम्म गेस्ट प्रोफेसरका रूपमा बोलाएको छैन । अब त उनी यति व्यस्त छन् कि हार्वर्ड विश्वविद्यालयका प्राध्यापक माइकल विट्जेलको हालैको पुस्तक छाप्ने प्रस्ताव अस्वीकार गरिदिएका छन्।

यावज्जीवमधीते विप्रः।

प्रकाशित: ४ भाद्र २०७५ ०२:५२ सोमबार

विश्वविद्यालय विद्यार्थी इतिहासकार महेशराज_पन्त पुस्तक