१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोलाले आफ्नो बाटो खोजेको हो

सत्यमोहन जोशी, संस्कृतिविद्

काठमाडौं - अहिले काठमाडौं उपत्यकाका ठाउँठाउँमा भेलबाढी आएको छ। घरघरमा खोला (भेलबाढी) पसेको छ। हामीले अहिलेसम्मकै ठूलो वर्षा भयो, खोलाले अहिलेसम्म नगरेको विनाश ग-यो भनिरहेका छौैं तर आफूले गरेको विगतको भूललाई हेक्का राखेका छैनौं। हामीले हिजो खोलाको बहावक्षेत्र कति थियो, उपत्यकाका खोला कसरी बग्थे भनेर सोधीखोजी पनि गरेनौं। खासमा काठमाडौंका खोलाले विनाश ल्याएका होइनन्, यहाँका मानिस र गैरजिम्मेवार सरकारी निकायका कारणले यस्तो भएको हो।

आजभन्दा ७० वर्षअघि उपत्यकामा लगातार १० दिनसम्म मुसलधारे वर्षा हुन्थ्यो। त्यतिबेला स्थानीय खोला उर्र्लिन्थे। उर्लेका खोलाले रूख र काठका मुडा बगाएर ल्याउँथे तर घरभित्र खोला पस्ने र मानवीय क्षति भने हुँदैन्थ्यो।

अहिले लगातार दुई घन्टा वर्षा हुँदानहुँदै यिनै खोलाले सारा सहरलाई डुबानमा पारिदिन्छन्। यसको कारण सहरमा बस्ने मानिससँग जोडिएको छ । खोलाको जग्गा नखोसेको भए, खोलामा पर्खाल लगाएर घेरा नतोकिदिएको भए र खोलाकिनारमा गगनचुम्बी भवन नबनाएको भए यस्तो विनाश कुनै हालतमा पनि हुने थिएन। सरकारी निकायले विकासका नाममा खोला साँघुरो पारेर दायाँबायाँ पर्खाल लगाउने र खोलाकिनारमा घर बनाउन नक्सापास गरिदिने जस्ता गलत कार्य गरेका छन् । यही कारणले पनि अहिले उपत्यकाका खोलाले विनाश निम्त्याएका हुन्। खोलालाई पुरानै रुट (धार) मा बग्न नदिने हो भने कंक्रिटको सहर अझै बढी डुबानमा पर्छ।

‘खोलाको बाटो कहिल्यै पनि सीधा हुँदैन । खोला नागबेली आकारमा बग्छ । स्वतन्त्र रुपमा बगिरहेका खोलाको बाटो थुन्न खोजेपछि घरबस्तीमा भेलबाढी पसेको होे । खोलाले पहिला आफू बगेको बाटो खोजेको हो, जहाँ अहिले क्रंक्रिटका गगनचुम्बी भवन छन् ।’

विकासका नाममा जब खोलाको बाटो खोसियो, अतिक्रमण गरियो, थुनियो। यसबाट खोला आफ्नो लयमा बग्न पाएन । वास्तवमा खोलाले बाटो बिराएको होइन, पुरानो बाटो खोज्दै जाँदा खोला घरघरमा पसेको हो। खोलाको बाटो नखोसिदिएको भए अहिले यतिविधि घरबस्ती डुबान समस्या आउने थिएन।

सत्तरी वर्षअघि पनि उपत्यकामा आजभन्दा निकै ठूलो वर्षा हुन्थ्यो, भलबाढी आउँथ्यो । खोला आफ्नै गतिमा बगेका हुन्थे। १० दिनसम्म लगातार वर्षा भइरहन्थ्यो। त्यतिबेला यहाँ मूल फुटेका हुन्थे। ठाउँठाउँमा पानी रसाएको हुन्थ्यो। खोलाको पानी खेतबारीमा पसेर बाली डुबाइदिन्थ्यो। किसान चिन्तित हुन्थे। ४० वर्षअघिसम्म त खोला सुसाएको सुनिन्थ्यो। त्यसपछि भने खोला सुसाएको सुन्न छाडियो।

नागबेली खोलालाई सीधा पार्नु भूल
खोलाको बाटो कहिल्यै पनि सीधा हुँदैन। खोला नागबेली आकारमा बगेको हुन्छ। करिब ३०÷३५ वर्षअघिसम्म काठमाडौंका खोला लगभग यही लयमै बगेका थिए। बागमती, विष्णुमती, हनुमन्ते, कर्मनासा, धोबीखोलालगायत खोलामा निकै ठूलो बाढी आउँथ्यो। तर, खोला आसपास धेरै घर बनेका थिएनन्। खोला स्वतन्त्र रूपमा नागबेली आकारमा बगिरहेका हुन्थे। भौतिक विकास/निर्माण र बसाइँ सराइका क्रममा खोलाको जग्गा मासिँदै गएको हो। खोलाकिनारका जग्गा किनबेच हुन थाल्यो। पहिला खोलाले चर्चेको भाग अतिक्रमण गरी साघुँरो बनाइयो।

उपत्यकाका वा उपत्यकाबाहिरबाट आएका मानिसले खोलाकिनारका जग्गालाई निजीजस्तै बनाउन थाले। त्यसले खोलाको बाटो साँघुरो बन्दै गयो। मानिसले पछि निम्तिने विनाशको पर्वाह नगरी खोलाको जग्गामा घर बनाउन थाले। खोलाको जग्गा हडप्ने प्रवृत्ति बढ्यो। नागबेली आकारमा बगेका खोलालाई सीधा बनायौं। खोला बग्ने भाग पनि दायँबायाँबाट मिचेर साँघुरो बनायौं। अहिले खोलाले निम्त्याएको विनाशको कारण यही हो।

कंक्रिटका भवनले गर्दा जमिनले पानी सोस्न पाएन
पचास वर्षअघिसम्म विशुद्ध ग्रामीण भेषभूषामा रहेको उपत्यकालाई अहिले घरैघरले ढाकेको छ। घर पनि मौलिक र पुरानै शैलीका भए त हुन्थ्यो नि। सहरको अस्तित्व र मौलिकता नै कायम नरहने गरी सहरमा सिमेन्ट र इँटाका घर बनेका छन्। समयसापेक्ष बलियो घर बनाए पनि त्यसमा मौलिकता त हुनुपथ्र्यो। तर, सहरको पुरानो अस्तित्व/अवशेष नै बाँकी नरहने गरी घर निर्माण भएका छन्। यसले सहरको मौलिकता त खोस्यो नै आकाशे पानी जमिनमा पस्न पाएन। जमिन सिञ्चित हुन पाएन। जसका कारण आकाशे पानी सीधै खोलामा मिसिन थाल्यो। सबैतिरको पानी जमिनमा नपसी खोलामा मिसिँदा खोला उर्लिन थाले।

पानीका स्रोत सुके
करिब ३०/३५ वर्षअघिसम्म उपत्यकामा धेरै भवन थिएनन्। खुला ठाउँ धेरै थियो । ३०/३५ वर्षयता कंक्रिट भवन यतिधेरै बने जसको रेकर्ड सरकारी निकायले समेत राख्न सकेन। यो निकै ठूलो भूल हो भन्ने लाग्छ मलाई। तीन दशकअघिसम्म उपत्यकामा पानीका स्रोत ढुंगेधारा, पोखरी, इनार थिए । सीधै सङ्लो पान पिउन सकिन्थ्यो। गाईबस्तु चराउन जाँदा चिसो पानी पिएपछि आन्नदको अनूभूति हुन्थ्यो । जब काठमाडौंमा बाहिरबाट बसाइँ सरेर आउने क्रम बढ्यो तब खाली ठाउँ क्रमशः सबै भरिन थाल्यो । मानिसले टुक्राटुक्रा जमिन किनेर घर बनाउन थाले। सबैतिर सिमेन्टका घर बन्न थालेपछि जमिनले पानी सोस्न पाएन, जसका कारण पुराना पानीका सोत सबै सुके।

चोभारमा दह बन्थ्यो
उपत्यकाका खोला दक्षिणकाली चोभारतर्फ बगेका छन्। २०४० सालसम्मको अवस्था हेर्ने हो भने पनि उपत्यकाका खोलामा निकै ठूलो बाढी आउँथ्यो । पानी परेका दिन गाईबस्तु चराउन डर हुन्थ्यो। छिनमै घाम लाग्ने र छिनमै पानी पर्ने भएका कारण कतिबेला बाढी आउँछ भन्ने थाहै हुँदैनथ्यो । बाढीले बगाएर गाईबस्तु धेरै मर्थे । बागमती र विष्णुमतीमा निकै भेलबाढी आउँथ्यो । सबै खोला मिसिएपछि चोभारमा दह बन्थ्यो। चर्न गएका गाईबस्तु गोठ नफर्किएपछि किसानहरू बाढीले बगाए–नबगाएको पत्ता पाउन चोभारको दहमा पुगेर हेर्थे।

यसरी साँघुरिए खोला
तीन दशकअघिसम्म उपत्यकाका तीन जिल्लाको अवस्था लगभग उस्तैउस्तै किसिमको थियो। काठमाडौंमा पढ्न र जागिरका लागि बाहिरबाट मानिस आउँथे । शिक्षण संस्था र अन्य सरकारी संस्था पनि काठमाडौंमै थिए। उनीहरूले घडेरी काठमाडौंमै किन्न थाले । काठमाडौं भरिन थालेपछि ललितपुर र भक्तपुरतिर सर्न थाले मानिस। त्यतिबेला जग्गा किन्नेहरू खोलाकिनार र खुला ठाउँमा बढी ‘फोकस’ भए । उनीहरूले आफूले किनेको खोलाछेउको जग्गामा खोलाले चर्चेको जग्गा पनि अतिक्रमण गरेर मिलाए । यसबाट खोला बग्ने भाग साघुँरो बन्यो। अर्कातर्फ सरकारी निकायले पनि खोलाकिनार जग्गा अतिक्रमण रोक्ने प्रयास गरेन । यस्तै–यस्तै प्रवृत्तिले सहरमा अहिले खोलाको डर हुन थालेको छ।
(नागरिककर्मी शिवहरि घिमिरेसँगको कुराकानीमा आधारित)

प्रकाशित: ४ भाद्र २०७५ ००:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App