मकवानपुर - प्रदेश ३ को राजधानी हेटौंडाका ३ पानी (मिनरल) उत्पादन कम्पनीद्वारा उत्पादित पानी पिउन उपयुक्त नभएको भन्दै प्रशासनले उत्पादन र बिक्री बन्द गरेको छ। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको मकवानपुर वेभरेजको उत्पादन माई च्वाइस, शुभम् वेभरेजको उत्पादन आक्वा टाइम र नेचुरल वेभरेजको अमृत जल पिउनका लागि योग्य नरहेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुगमन टोलीले उत्पादन र बिक्री बन्द गरेको हो।
अनुसन्धानका लागि पटक–पटक नमुना संकलन गरेर परिक्षण गर्दा ती वेभरेज कम्पनीद्वारा उत्पादीत पानी मानव स्वास्थ्य अनुकुल नपाईएको खाद्य अनुसान्धान तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख राजकुमार रिजालले बताए। अनुगमन टोलीले खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालयको ल्यावमा परिक्षण गर्न साउन १७ गते ३ वटै वेभरेजबाट उत्पादित पानीको नमुना संकलन गरेको थियो। परिक्षणमा उत्पादीत पानीमा कोलिफर्म, पिएच र इस एण्ड मोल्ड नामक शुक्ष्म जिवाणु पाइएको थियो। परिक्षण रिपोर्टका आधारमा जिल्ला प्रशासनले पानी उत्पादन बन्द गर्न निर्देशन दिएसँगै अनुगमन टोलीले आइतबारै तीनवटै पानी उत्पादक कम्पनीको उत्पादनमा रोक लगाएको प्रमुख रिजालले बताए।
उपभोक्ताको गुनासोपछि अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय मकवानपुर, उपभोक्ता हीत संरक्षण मञ्च र खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालयको टोलीले संयुक्त अनुगमन गरेको थियो। खाद्य नियमावली २०२७ को दफा ८ ‘ग’ अनुसार ३ वटै कम्पनीको उत्पादन बन्द गरिएको बताउँदै जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले नियमित गुणस्तरको ग्यारेण्टी नभएसम्म उत्पादन र बिक्री बन्द रहने बताए।
प्रकाशित: ३ भाद्र २०७५ १५:४० आइतबार