७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरीकै होलोग्राम किर्ते

काठमाडौं–प्रहरीले आफ्नै होलोग्राम किर्ते गर्ने समूहलाई पक्राउ गरेको छ । सरकारी कागजपत्रहरु किर्ते नहुन भनेर तयार पारेका र प्रयोगमा ल्याएका होलोग्राम नै किर्ते गर्ने गिरोहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले बुधबार पक्राउ गरेको हो ।

महाशाखाका अनुसार गिरोहले नेपाल सरकार, नेपाल प्रहरी, यातायात ब्यवस्था विभाग, सरकारी कार्यालय,  विश्व विद्यालय र शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने संस्थाको होलोग्राम र नक्कली प्रमाणपत्र केही हजार रुपैयाँमै तयारगर्दै आएको थियो । महाशाखाले घटनाका मास्टर माईन्ड शोभाकर खनाल र सहयोगीहरु श्रीराम अर्याल, मुक्तिनाथ ढकाल, निर्मल खडका, प्रविण कार्की, शालिकराम अर्याल, अशोक सिंह विष्ट र बालकृष्ण श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार गिरोहले ब्यवस्थित र नियोजित रुपमा किर्ते कारोबारलाई उद्योगका रुपमा संचालन गर्दै आएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । पक्राउ परेकामध्ये मुख्य भनिएका खनालले भारतको नौतुनवामा आफै गएर सरकारी र शैक्षिक संस्थाका होलोग्रामको नक्कली नमुना उपलब्ध गराउदै आएका थिए । नौतुनवामा रहेका गिरोहका सदस्यले उपलब्ध गराएकै नमुना अनुसारका होलोग्राम खनाललाई उपलब्ध गराउँदै आएको प्रहरीले जनाएको छ ।

गिरोहले सरकारी कार्यालयहरुको छाप, दस्तखत तथा होलोग्राम समेत किर्ते गरी सवारी चालक अनुमति पत्र, नागरिकता प्रमाण पत्र, विवाह दर्ता, जन्मदर्ता, मृत्यु दर्ता तथा विभिन्न शैक्षिक प्रमाण पत्रहरू सक्कल जस्तै बनाएर ग्राहकलाई उपलब्ध गराउदै आएका थिए ।

महाशाखाले गरेको दुईदिन लामो अप्रेसनमा गिरोहका सदस्य बालकृष्ण श्रेष्ठले डिल्लीबजारमा देवी टाईपिङ इन्स्टिच्युट नामको कार्यालय संचालन गरी किर्ते कागजात तयार गर्ने गरेको पत्ता लागेको थियो । यस्तै अर्का सदस्य मुक्तिनाथ ढकालले उपत्यकाका विभिन्न आर्ट पसलहरुसँग समन्वय गरी विभिन्न सरकारी कार्यालयका छाप तयार गरी ल्याउने गरेका थिए  । गिरोहकै सदस्यहरु श्रीराम अर्याल, शालिक राम अर्याल र अशोक सिंह विष्टले विभिन्न व्यक्तिहरुलाई सक्कली कागजात तयार गरिदिने भनी विश्वासमा पारी रकम असुल्ने गरेको अनुसन्धानमा खुलेको हो । उनीहरुले नै  ग्राहकहरुको नेपाली नगारिकता लगायतका फोटोकपि तथा फोटो  प्रविण कार्कीलाई दिने र उनले निर्मल मार्फत बालकृष्णको किर्ते उद्योगमा पठाउने गरेका थिए ।

‘नियोजित, योजनाबद्ध र समूहमा मिलेर उपत्यकामा संचालित एउटा किर्ते उद्योग नै रहेछ, अन्य बाहेक प्रहरीकै परिचयपत्रमा टास्ने हलोग्राम किर्ते गरेको भेटियो,’ महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने । उनकाअनुसार विभिन्न सरकारी कार्यालयमा बिचौलिया गर्ने ब्यक्ती, वैदेशिक रोजगार र शैक्षिक परामर्सदाता कम्पनीको सम्पर्कमा रहेर गिरोहले ग्राहक फेला पार्दै आएका थिए । उनले थपे ‘चाहिएको कागजपत्र उपलब्ध गराउने जिम्मेबारी अन्यको र बनाएर दिने जिम्मा गिरोहले लिने गरेको पाईयो,’ ।

महाशाखाले गिरोहका साथबाट संयौ थान त्रिभुवन विश्वविद्यालय, उच्च माध्यमिक शिक्षा परिषद,  नेपाली नागरिकता, यातायात ब्यवस्था विभाग, नेपाल सरकार सिटिभिटि र नेपाल प्रहरीको होलोग्राम बरामद गरेको छ । यस्तै विभिन्न ब्यक्तीका नाममा तयार रहेको सवारीचालक अनुमति पत्र, नागरिकता प्रमाण पत्र, स्थानीय पञ्जाधिकारीको पत्र र राहदानीको फोटोकपि बरामद गरेको छ ।

महाशाखाले पक्राउ परेका आठैजना बिरुद्ध सरकारी छाप किर्ते दस्तखत र ठगी मुद्दामा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

प्रकाशित: २९ भाद्र २०७३ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App