६ वैशाख २०८१ बिहीबार
राजनीति

राप्रपाले सदस्यता वितरण अभियानलाई तिव्रता दिने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्य वितरण अभियानलाई तिव्रता दिने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनको हातबाट सक्रिय सदस्यता लिए। यसैगरी अध्यक्ष कमल थापाले उपाध्यक्ष बुद्धिमान तामाङ, टंक ढकाल, महामन्त्री राजेन्द्र लिङ्देन, वरिष्ठ नेता बालाराम घर्ती मगर, कोषाध्यक्ष उद्धब पौडेल, सह-महामन्त्री चन्द्रबहादुर बहादुर गुरुङ, सचिवालय प्रमुख भास्कर भद्रा लगायतका पदाधिकारी र सदस्यहरु र पाँच सय भन्दा बढी विभिन्न तहका सदस्यलाई सक्रिय सदस्यता प्रदान गरे।

 अभियानको आइतबार शुभारम्भ भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नयाँ सरकार बने यताका छ महिनाका क्रियाकलापले राप्रपाले अवलम्बन गरेको हिन्दु राष्ट्र, राजसंस्था र स्थानीय स्वायत्त शासनको आवश्यकता बढेर गएको प्रमाणित हुँदै गएको बताए। उनले जनताको ढाड सेक्ने गरि भइरहेको करवृद्धि र सामान्य सुझबुझ समेत नराखी लागू गरेको मुलुकी देवानी संहिता लगायतका विषयले जनतामा असन्तुष्टि बढ्दै गएको पनि बताए। दुई तिहाइको सरकारले जनताको आशा अनुरुप सामान्य उज्यालो पनि देखाउन नसकेकोमा उनले चिन्ता व्यक्त गरे।

अध्यक्ष थापाले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता मुलुकले धान्न नसक्ने दोहोर्‍याए। नयाँ व्यवस्था अनुसार पुरानो सदस्यताको अनिवार्य नवीकरण र चालू वर्षमा थप पचास हजार सक्रिय सदस्य बनाउने लक्ष्य राप्रपाले लिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।

राप्रपालाई स्मार्ट पार्टी बनाउने अभियान अन्तर्गत सफ्टवेयर बनाएर सबै किसिमका सदस्यको इलेक्ट्रोनिक अभिलेखिकरणको तयारी गरिएको उनले बताए।

प्रकाशित: ३ भाद्र २०७५ १२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App