६ वैशाख २०८१ बिहीबार
समाज

ठेकदारले समयमा काम नसक्दा स्थानीयलाई सास्ती

तस्बिरः गिरिराज/नागरिक

पाँचथर – पाँचथरको फिदिम नगरपालिका–७ मा रहेको रानीटार मावि छेउमै पिकअप ठेल्नेलाई यात्रु र स्थानीय लागिपरेका थिए। केहि दिन यता कम पानी परेपनि सडकमा रहेको गाडी हिलोमा गाडिएर निकाल्न निक्कै कठिन परेको देखिन्थ्यो। 

यो सडक असार मसान्तसम्ममा नै ग्राबेल भइसक्नुपर्ने हो। ठेकेदार कम्पनीले काम नगरेप्रति चर्को असन्तुष्टि जनाउदै स्थानीय गाडी ठेल्न सगाइरहेका थिए। ‘ठेकेदारले काम नगरेर साह्रै सास्ती पाइयो, गाडीको हालत उस्तै’, चालक खगेन्द्र तामाङ असन्तुष्टि पोख्दै थिए। एक दशक यता यो क्षेत्रमा गाडी चलाइरहेका तामाङले यो वर्षदेखि सडक ग्राबेल हुने आश गरेका थिए। तर सडकको अवस्था जस्ताको त्यस्तै बनेपछि उनी निराश छन्।

मेचीराजमार्गको सुम्निमादेखि रानीटारको नाङलापासम्मको सडक ग्राबेल गर्नका लागि ठेक्का पाएको गजुरमुखि निर्माण सेवाले निर्धारीत समयमा काम नसक्दा स्थानीयले सास्ती भोग्नु परेको छ। डेनिस सरकारको आर्थिक सहयोगमा उन्नती समावेसी कार्यक्रम अन्तर्गत ग्राबेल गर्नकालागि गजुरमुखिले ठेक्का पारेको थियो। तर निर्धारित १२ महिना र थपिएको डेढ महिनामा समेत ठेकेदार कम्पनीले काम नसक्दा स्थानीयले सास्ती पाएका हुन। सडक ग्राबेल गर्नका लागि ७ करोड ९९ लाखमा ठेक्का लगाइएको थियो।

ठुलो बजेटमा नाली सहित सडक ग्राबेल हुनेमा खुसी भएका स्थानीयहरू ठेकेदारले काम नसकिदिँदा असन्तुष्ट छन्। अब के हुने हो भन्ने अन्योल कायमै छ। ठेकेदारको समय सकिएकाले बाँकी काम कसरी हुने, ठेकेदारले बनाएको सडकमा पनि समस्या देखिएकाले कसले ममर्त गर्ला भन्दै स्थानीय चिन्तित छन्। ठेक्काको समय सकिन कामको अनुभूति गर्न स्थानीयले पाएका छैनन्।

सुम्निमा चोकदेखि डिएम चोक भन्दा केही तलसम्म मात्र सडक ग्राबेल छ भने बाँकी सडक लथालिङ्ग देखिन्छ। अलैची, अदुवा, डेरी र चियाको मूल्य श्रृंखला अभिवृद्धि गर्नका लागि तत्कालिन जिल्ला प्राविधिक कार्यालयमार्फत ठेक्का लगाएर सडकको काम अघि बढाइएको थियो। सुरुवात देखि नै ठेकेदार कम्पनीले कामलाई गति दिएका थिएनन्। पटक पटक जिल्लाका सरोकारवाला, स्थानीय, स्थानिय तह र प्रशासनिक नियकाले ताकेता गर्दा समेत काम हुन नसकेको हो। करिब ६२ प्रतिशतको हारहारीमा काम भएको डिभिजनल इन्जीनियर जयराम श्रेष्ठले जानकारी दिए।

ठेकदारले काम नगर्दा ठुलो सास्ती व्यहोर्नुपरेको स्थानीय गणेश गुरुङले बताए। सडक नबन्दा यातायात सञ्चालन गर्न, स्थानीय उत्पादन विक्री वितरण र दैनिक उपभोग्य वस्तु आयतमा समस्या हुनुका साथै बिरामीलाई अस्पताल लैजान समेत समस्या भएको गुरुङको भनाई छ। उपभोक्ता समितिमार्फत डिसेम्बरसम्ममा सक्ने गरी काम अघि बढाउने कि भन्ने चर्चा समेत छ। कसरी अघि बढ्ने भन्ने यकिन नभएको उन्नतीको फिदिम कार्यालयका इन्जीनियर राजेश गिरीले बताए। यो क्षेत्र धेरै कृषि उपज उत्पादन हुने क्षेत्रमा पर्छ। काम नगर्ने ठेकेदारलाई कारबाही हुनपर्ने स्थानीयको माग रहेको छ। 

प्रकाशित: ३ भाद्र २०७५ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App