coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पेट्रोल स्टक क्षमता पाँच दिनमा झ-यो

काठमाडौं थानकोटमा रहेको नेपाल आयल निगमको इन्धन भण्डारण डिपो। तस्बिरः नागरिक

काठमाडौं - भारतबाट पेट्रोलियम पदार्थ आयात एक–दुई दिनमात्र रोकिए मुलुकमा पेट्रोलियम पदार्थको हाहाकार हुने भएको छ। पेट्रोलियम पदार्थको खपत वार्षिक २० प्रतिशतले बढे पनि भण्डारण क्षमता नबढाउँदा पेट्रोल स्टक क्षमता पाँच दिनमा झरेको छ।

पेट्रोल ढुवानीमा अवरोध भए आमउपभोक्तालाई पेट्रोल आपूर्ति गर्न कठिन हुने नेपाल आयल निगमले जनाएको छ।

‘पेट्रोल भण्डारण क्षमता पाँच दिनलाईमात्र छ,’ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘पेट्रोलियम पदार्थको खपत वृद्धि भए पनि भण्डारण क्षमता बढ्न सकेन।’

यो अवस्थामा सामान्य अवरोधमै बजारमा पेट्रोल अभाव सुरु हुनेछ

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा पेट्रोल खपत क्षमता २० प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष ०७३/७४को तुलनामा गत आव ०७४/७५मा पेट्रोल २० प्रतिशतले, डिजेल २३ , मट्टीतेल १५, हवाई इन्धन १८ र एलपिजी ग्यास १८ प्रतिशतले खपत वृद्धि भएको छ । अघिल्लो आवमा चार लाख दुई हजार दुइ सय ७८ किलोलिटर पेट्रोल खपत भएकोमा गत आवमा चार लाख ८४ हजार सात सय ८१ किलोलिटर पेट्रोल खपत भएको छ।

पेट्रोल दैनिक १५ सय किलोलिटर र डिजेल करिब ३५सयदेखि चार हजार किलोलिटर खपत हुन्छ। निगमका अनुसार पेट्रोल पाँच दिन, डिजेल, आठ दिन र हवाई इन्धन १० दिनलाई स्टक राख्न सक्ने क्षमता छ। निगमसँग मुलुकभर पेट्रोलियम पदार्थ भण्डारण क्षमता ७१ हजार सात सय नौ किलोलिटर मात्र छ।

प्रदेश नं १को विराटनगर र झापामा ११ हजार नौ सय ७४ किलोलिटर, प्रदेश नं २को अमलेखगञ्ज, वीरगञ्ज, जनकपुरमा २३ हजार चार सय ७०, प्रदेश नं ३को काठमाडौं थानकोट र सिनामंगल २२ हजार आठ सय ९७ किलोलिटर रहेको छ। प्रदेश नम्बर ४को पोखरामा तीन हजार चार सय ५४ किलोलिटर, प्रदेश ५को रुपन्देही भलवारी, नेपालगञ्ज, दाङमा सात हजार एक सय ९९, प्रदेश ६को सुर्खेतमा एक सय पाँच र प्रदेश ७को धनगढी, दिपायलमा दुई हजार छ सय १० किलोलिटर भण्डारण क्षमता रहेको छ।

मुलुकमा मासिक साढे दुई लाख किलोलिटर इन्धन खपत हुन्छ । निगमका अनुसार गत जेठमा दुई लाख ६६ हजार आठ सय ४१ किलोलिटर र असारमा दुई लाख ४१ हजार एक सय ९८ किलोलिटर इन्धन खपत भएको छ।

इन्धनको खपत वार्षिक वृद्धि हुँदा भण्डारण स्थल वृद्धि नभएको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए। ‘सामान्य अबरोध हुनासाथ इन्धन व्यवस्थापनमा हम्मे पर्छ,’ गोइतले भने, ‘सवारी साधनको चाप बढेकाले इन्धन खपत ह्वात्तै बढेको छ।’

पछिल्ला पाँच वर्षमा इन्धन खपत एक सय प्रतिशतले बढेको नेपाल निगमले जनाएको छ। जनसंख्या वृद्धिसहित सवारी साधनको बढ्दो प्रयोगले पेट्रोलियम पदार्थ खपत बढेको हो। यही दरमा इन्धनको माग बढ्दै जाँदा अबको आठ वर्षपछि आर्थिक वर्ष ०८२/८३ मा १० लाख आठ हजार सात सय ६९ केएल निगमले जनाएको छ । ०८१/८२मा पुग्दा भण्डारण क्षमता घटेर पेट्रोलको तीन दिन, डिजेलको पाँच दिन, हवाई इन्धनको छ दिनमा झर्ने निगमको प्रक्षेपण छ ।
उपभोक्तालाई सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमले इन्धन भण्डारण क्षमता पाँच गुणा बढाउने तयारी गरे पनि जग्गा खरिदमा अनियमितता भए पछि रोकिएको छ । सातै प्रदेशमा भण्डारण क्षमता बढाउने योजना अनुसार चितवन, भैरहवा, झापा, सर्लाहीको जग्गा खरिद विवादमा आएपछि रोकिएको हो। निगमले भण्डारण क्षमतालाई संरचनागत रुपमै बढाई करिब ३९ करोड लिटर पु-याउने योजना बनाएको थियो।

इन्धन भण्डारण प्रक्रिया अघि बढाउने विषयमा तालुक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि ठोश योजना अघि बढाउन सकेको छैन । निगमले सातै प्रदेशमा इन्धन भण्डारण अन्तरगत जग्गा खरिदको लागि गत आव ०७४/७५मा विनियोजन गरेको सात अर्ब सात करोड र पूर्वाधार निर्माणको चार अर्ब गरी ११ अर्ब सात करोड रुपैयाँ मध्ये एक रुपैयाँ पनि खर्च हुन सकेन । गत आवमा करिब एक सय ५५ अर्ब रुपैयाँको इन्धन आयात भएको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए । गत आव ०७३/७४ मा १०८ अर्बको इन्धन आयात भएको थियो।

डलरले लागत ६० करोड बढ्यो
पछिल्ला दुई महिनामा अमेरिकी डलरको भाउ चार रुपैयाँ वृद्धि हुँदा नेपाल आयल निगमको ६० करोड रुपैयाँ लागत मूल्य थपिएको छ । गत दुई महिनामा अघि एक डलरको सटहीदर एक सय आठ रुपैयाँ रहेकोमा अहिले विनिमय दर एक सय १२ रुपैयाँ ५५ पैसा पुगेको छ । निगमले एक महिनामा खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य अनुसार एक रुपैयाँ प्रति डलर वृद्धि हुँदा निगमलाई १५ करोड रुपैयाँ अतिरिक्त भार परेको निगमका निमित्त निर्देशक भट्टराईले बताए । ‘डलरको भाउ बढ्दा निगमलाई ठूलो घाटा भएको छ,’ उनले भने, ‘अन्र्तराष्ट्रिय बजारमा पेट्रोलको भाउ एउटै हुँदा पनि ६० करोड रुपैयाँ लागत मूल्य थपियो।’

प्रकाशित: ३ भाद्र २०७५ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App