८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

विश्वकै गरीब पूर्वराष्ट्रपतिले पेन्सन लिन मानेनन्

आफ्नो घरबाहिर तस्बिर खिचाउँदै उरुग्वेका पूर्वराष्ट्रपति जोस मुजिका। फाइल तस्बिर : एजेन्सी

मोन्टेभिडियो (बिबिसी) – विश्वकै गरीब पूर्वराष्ट्रपतिको छवि बनाएका उरुग्वेका नेता जोस मुजिकाले सांसद रहेको बेलादेखिको कुनै पनि प्रकारको पेन्सन लिन  आफू इच्छुक नरहेको बताएका छन्।

साधारण जीवनका लागि विश्वभर परिचित पूर्वराष्ट्रपति मुजिकाले सन् २०१५ देखि सम्हाल्दै आएको सांसद पदबाट मंगलबार राजीनामा दिएका थिए। राष्ट्रपतिका रूपमा उनको पाँच वर्षीय कार्यकाल सन् २०१५ मा नै समाप्त भएको थियो। त्यसपछि उनी देशको सांसद मात्रै रहेका थिए।

लामो यात्राका कारण आफू अत्यन्तै थकित भएको भन्दै पूर्वराष्ट्रपति मुजिकाले संसद्को सन् २०२० सम्म रहेको कार्यकाल पूरा गर्न नसक्ने भन्दै मंगलबार सांसद पदबाट राजीनामा दिएका थिए। पूर्व वामपन्थी विद्रोही मुजिका हाल ८२ वर्षका भए। पूर्वराष्ट्रपति मुजिकाले आफ्नो राजीनामा पत्र सिनेटका प्रमुख लुसिया टोपोलान्स्कीसमक्ष पेश गरेका छन्। उरुग्वेकी उपराष्ट्रपतिसमेत रहेकी लुसिया १३ वर्षसम्म मुजिकाकी पत्नी रहेकी थिइन्।

‘राजीनामाको कारण व्यक्तिगत हुन्। म त्यसलाई लामो यात्रापछिको थकानका रूपमा व्याख्या गर्न चाहन्छु,’ पूर्वराष्ट्रपति मुजिकाले सिनेट प्रमुख लुसियालाई हस्तान्तरण गरेको राजीनामा पत्रमा उल्लेख गरिएको छ। ‘यद्यपि मेरो दिमागले काम गरेसम्म मेरो एकता र विचारको लडाइँबाट कदापि राजीनामा दिने छैन,’ राजीनामा पत्रमा उल्लेख गरिएको छ।

अत्यन्तै मिठासपूर्ण भाषा र सिधा कुराका लागि प्रख्यात मुजिकाले देशको कार्यकारी पदमा रहँदा आफ्नो तर्कका दौरान कोही पनि सहकर्मीको चित्त दुखाएको भए त्यसका लागि माफीसमेत राजीनामा पत्रमार्फत नै मागेका छन्।

अर्जेन्टिनाकी तत्कालीन राष्ट्रपति क्रिस्टिना फर्नान्डेज डी किर्चिनरलाई ‘बुढी बोक्सी’ र उनका पति एवं अर्जेन्टिनाका पूर्वराष्ट्रपति नेस्टर किर्चिनरलाई ‘डेडो आँखा भएको मान्छे’ भनेपछि सन् २०१३ मा मुजिकाले माफी माग्नु परेको थियो। एउटा पत्रकार सम्मेलनमा उनले यस्तो भनेका थिए र उनले माकक अन भएको भेउ नै पाएका थिए । सन् २०१६ मा उनले भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोलाई ‘बाख्राजस्तै पागल’ भनेका थिए। यस्तै प्रतिक्रिया दिने हुँदा उनी विभिन्न समयमा आलोचितसमेत हुने गरेका छन्।

राष्ट्रपति रहँदा राष्ट्रपति भवनमा बस्न नमानेका कारण उनी विश्वभर प्रख्यात भएका थिए। राष्ट्रपति भएदेखि हालसम्म उनी साधारण जीवन बिताउने व्यक्तिका रूपमा विश्व प्रसिद्ध रहेका छन्। सँगै गुरिल्ला युद्ध लडेको महिलासँग उनले सन् २००५ मा विवाह गरेका थिए । उनी पत्नीसँगै मोन्टेभिडियोबाट बाहिर रहेको एउटा साधारण घरमा बसिरहेका छन् । राष्ट्रपति रहँदा आएको तलबको लगभग सबै भाग उनले च्यारिटीलाई दान गरेका थिए। सन् २०१० मा राष्ट्रपति पदबाट बिदा लिने बेला उनको स्वामित्वमा सन् १९८७ भोल्क्सवागेन बिटल गाडी मात्रै रहेको थियो। हलुका निलो रंगको उक्त गाडी यति प्रख्यात भयो कि सन् २०१४ मा उनलाई सो गाडीका लागि १० लाख अमेरिकी डलरको प्रस्तावसमेत आएको थियो । प्रस्ताव स्वीकार गरे तीन वटामात्रै खुट्टा भएको आफ्नो कुकुरलाई हिँडडुल गर्न यात्राको कुनै पनि माध्यम बाँकी नरहने उनले बताएका थिए।

मुजिकाको राजीनामालाई उनका केही राजनीतिक विद्रोहीले भने प्रत्यार नलागेको प्रतिक्रिया दिएका छन्। कतिपयले सन् २०१९ मा हुने राष्ट्रपतिको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न उनले राजीनामा दिएको आरोपसमेत लगाएको बिबिसीले जनाएको छ।

प्रकाशित: ३ भाद्र २०७५ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App