coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ठोरी–माडी–भरतपुर सडक फोरलेनको बन्छः मन्त्री पाण्डे

भूमिसुधार मन्त्री विक्रम पाण्डेलार्इ भेटी माग पत्र बुझाउँदै ठाेरीबाट गएका स्थानीय नेताहरूकाे टाेली। तस्बिरः रामप्रकाश कुँवर

काठमाडौं– भूमिसुधार मन्त्री विक्रम पाण्डेले ठोरी–माडी–भरतपुर सडक फोरलेनको बन्ने बताएका छन्। समग्र ठोरीको विकासको माग लिएर राजधानीमा रहेको प्रतिनिधी टोलीसँगको बुधबारको भेटमा मन्त्री पाण्डेले यस्तो बताएका हुन्। मन्त्री पाण्डेले ठोरी–माडी–भरतपुर सडकखण्डमा पर्ने सबै खोलामा एक वर्ष भित्र पुल निर्माण भैसक्ने बताएको भेटमा सहभागी नेता रामप्रकाश कुवँरले जानकारी दिए।

सडकको काम कताबाट सुरु गर्ने भन्ने विषय अहिले निर्क्यौल भइनसकेको र पुल निर्माणसँगै सडकमा कालोपत्रे गर्ने काम हुनेमा आश्वस्त रहन मन्त्री पाण्डेले टोलीलाई आग्रह गरेका छन्। ठोरी–७ मा लालपूर्जाविहीन जनतालाई लालपूर्जा उपलब्ध गराउने विषयमा नापी विभागको प्रमुखलाई आवश्यक प्रक्रिया पुर्याएर काम अघि बढाउन निर्देशन दिएको मन्त्री पाण्डेले बताएका छन् । यस्तै ठोरी ७ र ८ मा नापी गर्न बाँकी रहेको जमिनको बारेमा पनि नापी विभागका प्रमुखलाई आवश्यक कारवाही अघि बढाउन निर्देशन दिएको उनले बताए। मन्त्री पाण्डेलाई टोलीले मंगलबार नै भेट गरेको थियो। तर, मन्त्री पाण्डेले आवश्यक छलफलका लागि टोलीलाई मन्त्रालयमा डाकेपछि पुनः भेट भएको हो।

टोलीले बुधबार नै शिक्षा मन्त्री धनीराम पौडेललाई पनि भेट गरी माग पत्र पेश गरेको छ। मागपत्र बुझ्दै मन्त्री पौडेलले ठोरीको शैक्षिक विकासको लागि सक्दो सहयोग गर्ने बताएका छन्। मन्त्री पौडेलले प्रस्तावित ठोरी बहुमुखी क्याम्पस निर्माण, दुवै उच्च माविमा विज्ञान प्रयोगशाला निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्। उच्च तहको अध्ययनका लागि वीरगंज, चितवन लगायतको शहरमा जानुपर्ने बाध्यता रहेकाले तत्काल क्याम्पस निर्माण गर्न नसक्दा विचैमा पढाई छाड्न यस क्षेत्रका युवाहरु बाध्य रहेकाले क्याम्पस निर्माणमा सहयोग गर्न आफूहरुले मन्त्री पौडेल सँग माग राखेको टोलीका नेतृत्व गरेका नेकपा माओवादी केन्द्र पर्साका उत्पादन विभाग प्रमुख रामप्रकाश कुवँरले बताए। भेटमा मन्त्री पौडेलले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको हकमा न्यायोचित सम्बोधन हुने बताएका छन्। समग्र ठोरीको विकासको माग गर्दै केहि दिन यता सर्वपक्षीय प्रतिनिधी टोली राजधानीमा रहेको छ।

टोलीले बुधबार नै परराष्ट्रमन्त्री प्रकासशरण महत र कृषि मन्त्री गौरीशंकर चौधरीलाई पनि भेटेर माग पत्र पेश गरेका छन्।

के के छन् ठोरीको माग ?

राजधानीमा रहेर भेटघाटमा व्यस्त रहेको प्रतिनिधी टोलीको पहिलो माग छ, नेपाल र भारत जोड्ने प्रमुख नाका ठोरीमा खोल्नु पर्ने। भारतले अघोषित नाकाबन्दी गर्दा मुलुककै इन्धन लगायतका अन्य संकट ठोरीले नै टारेको भएपनि सरकारले अहिले सम्म कुनै पहल नगरेको भन्दै ठोरीलाई मुख्य नाकाको रुपमा विकास गर्नुपर्ने माग टोलीको छ। राजधानीसँग सबैभन्दा छोटो दुरीको रुपमा ठोरी नाका भएपनि हालसम्म यसको स्तराेन्नतिका लागि सरकारले खासै चासो नदेखाएपछि आफूहरु यसलाई मुख्य नाकाको रुपमा विकास गर्न दवाव दिने उदेश्यले राजधानी आएको टोलीको नेतृत्व गरेका नेता कुवँरले बताए।

टोलीको दोस्रो माग छ, ठोरीलाई चितवन रहेको प्रदेश नम्बर ३ मा गाभ्नु पर्ने। राज्यले राज्य पुनरसँरचना गर्दौ अपनाएको सबै आधारमा ठोरीलाई चितवन रहेको प्रदेशमै गाभ्नु उपयुक्त हुने भन्दै अभियान नै सञ्चालन गरिरहेका ठोरीका जनताका माग सम्बोधन हुनुपर्ने भन्दै दवाव दिने उदेश्यले टोली राजधानी पुगेको हो।

त्यस्तै ठोरी–केरुङ मार्गको कार्य तत्काल थाल्नु पर्ने, ठोरी भएर रेलमार्ग निर्माण हुनुपर्ने, अलपत्र परेको ठोरीको विद्युतीकरण कार्य छिटो सम्पन्न गर्नुपर्ने, हुलाकी राजमार्ग अन्तरगतको सडकखण्डमा रहेको ठुटेखोला र ढेडुखोलामा पुल निर्माण हुनुपर्ने, ठोरी पर्यटकीय सम्भावना बोकेको गाउँ भएकोले पर्यटकीय नगरको रुपमा विकास गर्नुपर्ने, नदि नियन्त्रणका लागि गुरु योजना बनाएर कार्य थाल्नु पर्ने, जंगली जनावरको आतँक रोक्न दिर्घकालिन कार्यको थालनी गर्नुपर्ने, बैंकिङ सेवा गर्नका लागि भारतीय शहर धाउन बाध्य भएकोले बैँकको स्थापना गर्नुपर्ने, खेलकूदका लागि उर्वर भूमि भएकोले रङ्गशाला निर्माण गरिदिनु पर्ने, सुविधा सम्पन्न अस्पताल नहुँदा धेरैले अकालमै ज्यान गुमाउनु पर्ने भएकोले सुविधा सम्पन्न अस्पताल निर्माण हुनुपर्नेलगायत दुई दर्जन मुख्य समस्या लिएर प्रतिनिधी टोली राजधानी पुगेको हो ।

 

 

प्रकाशित: २९ भाद्र २०७३ १२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App