७ वैशाख २०८१ शुक्रबार
राजनीति

भ्रमणमा लाखाैं खर्च गर्दै जनप्रतिनिधि

फाइल फाेटाे

सिन्धुली - सिन्धुलीका स्थानिय तहका जनप्रतिनिधिहरू मोटो रकम खर्चेर धमाधम भ्रमणमा निस्केका छन्। जिल्लास्थित कमलामाई नगरपालिका र केही गाँउपालिकाका प्रमुखहरू यतिबेला अध्यन अवलोकन भन्दै जिल्ला बाहिर भ्रमणमा निस्किएका हुन्। स्थानीय तहको निर्वाचन हुनु अगाडिअसार मसान्तको काम सकेपछि साउन भदौमा कार्यालयका प्रमुखहरू भ्रमणमा निस्कने गरेका थिए भने सोही सिको पछ्याउँदै जनप्रतिनिधि मोटो रकम खर्च गरेर भ्रमणमा निस्केका छन्।

निजामती क्षेत्रका कर्मचारी असार मसान्तको काम सकिएपछि बिदा लेखेर घर बस्ने गरेका थिए भने जनप्रतिनिधि सरकारी सम्पत्तिको दुरुपयोग गरेर भ्रमणमा निस्किएका छन्। कमलामाई नगरपालिकाको २३ जनाको टोली यो समाचार तयार पार्दा पाल्पाको तानसेन पुगेको पुगेको थियो। नगरपालिका प्रमुख मेयर खड्गबहादुर खत्रीको नेतृत्वमा उक्त जम्बो टोली भ्रमणमा निस्किएको हो। पछिल्लो समय जनप्रतिनिधि आफ्नै सुविधा बढाउने तथा नयाँ ठाँउ घुम्नमा सरकारी सम्पत्तिको दुरुपयोग गर्न हतारिन थालेका छन्। निर्वाचित भएको एक वर्षमै जनप्रतिनिधिहरू जनताको काम गर्न छाडेर सुविधा बढाउने तथा भ्रमणमा निस्कने काम गर्न थालेको स्थानियको आरोप छ। वर्षायाममा ग्रामीण सडकको अवस्था बेहाल भई मर्मतसम्भारमा समेत बजेट अभाव रहेको बताइरहँदा मोटो रकम खर्चेर जनप्रतिनिधि भ्रमणमा निस्कनु गलत हो, एक स्थानीयले भने, ‘जनताको करबाट भ्रमण गर्नु उचित थिएन।’ कमलामाई नगरपालिकाले अध्यन अवलोकन भ्रमणका लागि भन्दै १० लाख रुपैयाँ विनियोजन गरेको नगरपालिका स्रोतले जनाएको छ। सोही रकममध्येबाटै खर्च गर्नेगरी जनप्रतिनिधिको जम्बो टोली भ्रमणमा निस्किएको हो।

‘अध्ययन/अवलोकनका लागि भनेर जनप्रतिनिधिहरू भ्रमणमा जानुभएको छ,’ कमलामाई नगरपालिकाका सूचना अधिकारी विनोदबाबु खकुरालले भने, ‘सात दिने भ्रमणमा नगरप्रमुखसहित वडा अध्यक्ष कार्यपालिका सदस्यहरू भ्रमणमा जानुभएको हो।’ भ्रमणमा उपमेयर मञ्जु देवकोटा, नगरपालिकाका वडाअध्यक्ष महेश खतिवडा, महेन्द्र ढकाल, कार्यपालिका सदस्य कान्ता ढकाललगायत केही जनप्रतिनिधि भने भ्रमणमा सरिक नभएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले दुई टोली बनाएर भ्रमण जाने योजना बनाएको थियो, उपमेयर मञ्जु देवकोटाले नागरिकसँग भनिन्, ‘तर सबैले कार्यालय छाडेर जाँदा जनताले दुःख पाउने भएकाले मलगायत केही जनप्रतिनिधि भ्रमणमा गएनौं अरु सबै गएका छन्।’ उनले भ्रमणमा महिला पुरुष दुवै सहभागी भएको बताइन्। जनप्रतिनिधिहरू सबैजसोनै गएका हुन्, कति बजेट लिएर गए भन्ने यकिन मलाई जानकारी भएन।’ भ्रमणको लागि भनेर १० लाख रुपैयाँ छुट्याइए पनि तत्कालका लागि जनप्रतिनिधिको टोलीलाई चारलाखसम्म खर्च गर्नसक्ने व्यवस्था भएको नगरपालिकाका लेखा शाखाका कर्मचारी राजेन्द्र गजुरेलले बताए। ‘१० लाख रुपैयाँ भ्रमणका लागि छुट्याएको हो, तर सबै यही टोलीले खर्च गर्ने भन्ने होइन,’ उनले भने।

नगरप्रमुख खत्रीले भ्रमणमा निस्किएको स्वीकार गरे। ‘हामी नगरपालिकाको सञ्चालन विधि, विकास पूर्वाधारको अवस्थालगायतका क्षेत्रमा अध्ययन अवलोकन गर्ने उद्देश्यले भ्रमण गरेका हाैं,’ उनले भने, ‘२२ जना जनप्रतिनिधि र १ जना कर्मचारी साथै छाैं।’ उनका अनुसार उक्त जम्बो भ्रमण टोलीले पाल्पा, हेटौडा, चितवन, राप्ती, बुटबल, पोखरा, बाग्लुङलगायतका क्षेत्रमा १ हप्तासम्म अध्यन अवलोकन गर्ने कार्यक्रम छ। ‘धेरै स्थानीय तहको भ्रमण गर्ने कार्यक्रम छ, सोहीअनुसार कमलामाई नगरपालिकाको पनि भ्रमण कार्यक्रम रहेको हो,’ नगरप्रमुख खत्रीले प्रष्ट्याए।

कमलामाई नगरपालिका मात्रै नभएर यहाँको हरिहरपुरगढीका गाँउपालिका प्रमुख कार्साङ तामाङ पनि पश्चिमका केही जिल्लाको भ्रमण गरेर फर्किएको गाँउपालिकाले जनाएको छ। यस्तै तीनपाटन गाँउपालिका प्रमुख कर्णबहादुर थापामगरले पनि यसअघि नै केही जिल्लाको भ्रमण गरिसकेका छन्। जिल्लामा २ नगरपालिका र सात गाँउपालिका रहेका छन्। यी स्थानिय तहका जनप्रतिनिधिले पछिल्लो समय जनताको काम गर्नुको साटो आफ्नै सुविधामा ध्यान दिन थालेको स्थानीयको आरोप छ। ‘स्थानीय तहमा अभावैअभाव छ, तर जनप्रतिनिधि भ्रमण जाने गाडी चढ्ने भत्ता र सुविधा बढाउनमै व्यस्त देखिन्छन्,’ एक स्थानियले भने।

प्रकाशित: ३ भाद्र २०७५ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App