coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘मेलम्चीको पानीले उपत्यकामा खानेपानीको समस्या समाधान हुन्छ’

काठमाडौं– उपत्यकाको खानेपानी सञ्जालमा शनिबारदेखि दैनिक ३ करोड लिटर पानी थपिएको छ। सभामुख कृष्णबहादुर महराले शनिबार महांकालस्थित पानी संकलन केन्द्रमा धाराको साँचो खोलेर खानेपानी थप्ने कार्यको शुभारम्भ गरेको हो।

सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट प्रशोधित बाग्मतीको पानी महांकालको संकलन केन्द्रसम्म ल्याएर उपत्यकामा वितरण गर्न थालिएको हो। 

सो अवसरमा आयोजित विशेष समारोहमा बोल्दै सभामुख महराले सुन्दरीजल प्रशोधन केन्द्रबाट थप भएको पानीले मेलम्चीको पानी आउनुअघि उपत्यकाबासीलाई तत्काल राहत दिनेमा विश्वास व्यक्त गरे। 

दशैंअघि नै मेलम्चीको पानी उपत्यकाबासीको घर–घरमा ल्याउन सरकार प्रतिबद्ध भएर काम गरिरहेको आफूले पाएको भन्दै सभामुख महराले सरकार आफ्नो लक्ष्यमा सफल हुनेमा आफू विश्वस्त रहेको बताए। 

मेलम्ची खानेपानी आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न सकेमा यसले उपत्यकावासीले झेल्दै आएको खानेपानी ठूलो समस्या हल हुनेछ’, सुन्दरीजलको प्रशोधन केन्द्रबाट आएको पानीको धारा खोल्दै सभामुख महराले भने, ‘दशैंअघि नै मेलम्चीको प्रशोधित पानी उपत्यकाबासीको घर घरमा पु-याउने दिशामा यो एउटा कोशेढुङ्गा साबित हुनेछ।’

मेलम्ची आयोजनाले कठीनाई र असफलताका बीचबाट सफलताको अन्तिम बिन्दूमा पुगेको चर्चा गर्दै सभामुख महराले मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा ल्याउन आवश्यक सुरुङको अन्तिम ब्रेक थ्रु भइसकेको खबर सुनेर हर्षित भएको बताए। 

‘२७ दशमलव ६ किमि लामो मेलम्ची सुरूङको अन्तिम ब्रेक थ्रु सम्पन्न भैसकेको र सुरूङ निर्माण कार्य सम्पन्न हुने चरणमा भएको थाहा पाएँ’, उनले भने, ‘प्रशोधन केन्द्रबाट घर–घरमा पु-याउन आवश्यक पर्ने वितरण प्रणालीको थोक वितरण प्रणालीअन्तर्गत ११ दशमलव ५ किमि लामो सुन्दरीजल–धोबीखोला खण्डको फ्लसिङ गर्ने कार्य सम्पन्न भैसकेको र बाँकी खण्डको थोक वितरण र साना पाइपलाइनहरूको पनि क्रमिक रूपमा परीक्षण हुने चरणमा पुगेको रहेछ, यसले हामी सबैलाई उत्साहित बनाएको छ।’

अहिले पनि ग्रामीण तथा शहरी क्षेत्रमा समेत धेरै नागरिक स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित रहेको भन्दै सभामुख महराले सबै नागरिकलाई स्वच्छ खानेपानी पु-याउन सके समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा नयाँ इँट्टा थपिने बताए। 

खानेपानी मन्त्रालयले देशका अन्य क्षेत्रमा समेत सञ्चालित खानेपानी आयोजनाको प्रभावकारी अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालनका लागि पहल गर्ने, स्थानीय सरकारहरुसँगको समन्वयमा नयाँ आयोजनाहरुका लागि प्राविधिक, आर्थिक, भौतिक तथा पूर्वाधारका क्षेत्रमा अभिभावकको भूमिका निर्वाह गर्नेमा आफू आशावादी रहेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री विना मगरले दशैंसम्म मेलम्चीबाट १७ करोड लिटर पानी काठमाडौं ल्याउने गरी तीव्र गतिमा काम भइरहेको बताइन। थुप्रै चुनौति र कठिनाइ पार गर्दै आयोजनाको काम तीव्र गतिमा भइरहेको भन्दै मन्त्री मगरले असोजको अन्तिम साता मेलम्चीको पानी उपत्यकाबासीको घर–घरमा आइपुग्नेमा कुनै शंका नरहेको दाबी गरिन।

मेलम्चीको पानी ल्याउने काम करिब अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री मगरले त्यसअघि नै सुन्दरीजलबाट बाग्मतीको पानीले अहिलेको व्यवस्थाबाट राजधानीका ७० हजारभन्दा बढी धारामा साताको पाँच दिन प्रशोधित पानी आउने बताइन। 

जनताको आधारभूत अधिकारको रूपमा रहेको खानेपानीमा पहुँचको विषयलाई मन्त्रालय र आफूले गम्भीरतापूर्वक लिएको बताउँदै मन्त्री मगरले अबको केही समयपछि मेलम्चीको पानीसमेत यसै प्रणालीमार्फत उपत्याकामा भित्रिने जानकारी दिइन।

यसैबीच सभामुख महरा, खानेपानी मन्त्री विना मगरलगायतको टोलीले आजै सुन्दरीजलस्थित सुरुङ र खानेपानी प्रशोधन केन्द्रको अवलोकन गरेको छ। सो अवसरमा मेलम्ची खानेपानी आयोजनाका कर्मचारीहरुले सभामुख र मन्त्रीलाई आयोजना स्थल तथा निर्माण कार्यको जानकारी गराएका थिए।

प्रकाशित: २ भाद्र २०७५ १६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App