coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पुन र भण्डारीको पुनरागमन

काठमाडौं – मलेसियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका सागर पुन र विनोद भण्डारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन्। 

पछिल्लो पटक विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध खेलेका विनोद र सागरले ८ महिनापछि राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । एसिया कप छनोट प्रतियोगिताका लागि विनोद र सागरलाई टोलीमा समेट्दै नेपालले शनिबार १५ सदस्यीय टोलीको घोषणा गरेको छ। 

पारस खड्काको कप्तानीमा रहेको टोलीमा विनोद र सागरबोहक सबै नेदरल्यान्ड्सविरुद्ध खेल्दाकै खेलाडी छन् । नेदरल्यान्ड्सविरुद्ध टोलीमा रहेका शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसेका छन् भने शरद् भेषावकरको औंलामा चोट लागेको थियो । आंैलामा लागेको चोटकै कारण शरदले नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेल पनि गुमाएका थिए । शक्ति र शरदको स्थान विनोद र सागरले लिएका हुन्।

मलेसियन प्रिमियर लिगमा क्वालालम्पुरबाट खेलेका सागरले प्रतियोगितामा २ शतक र १ अर्धशतक हानिसकेका छन् । उनले प्रतियोगितामा सबैभन्दा धेरै ४ सय ५२ रन बनाएका छन् भने बलिङतर्फ ९ विकेट लिइसकेका छन्। 

प्रतियोगितामा सागर एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनले १ सय ९ रन बनाएका थिए । भदौ ११ गतेदेखि २१ गतेसम्म मलेसियामा हुने एसिया कप छनोट प्रतियोगितामा जित्ने लक्ष्यका साथ नेपाली टोलीले मंगलबारबाट बन्द प्रशिक्षण थालेको थियो।

मुख्य प्रशिक्षक जगत टमाटा र पारस खड्का सम्मिलित छनोट समितिले घोषणा गरेको टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अनिलकुमार शाह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल छन् । किशोर महतो, प्रदीप ऐरी, सुनील धमला र सुशन भारी वैकल्पिक खेलाडीका रूपमा छन्।

मलेसिया जानुअघि नेपालले श्रीलंकामा ३ वटा अभ्यास खेल खेल्नेछ । सोमबार श्रीलंका जाने नेपाली टोलीले बुधबार स्थानीय आर्मी क्रिकेट टिमसँग पहिलो अभ्यास खेल खेल्नेछ । भदौ ८ गते ब्लुमफिल्ड र १० गते कोल्ट्ससँग नेपाली टोलीले अभ्यास खेल खेल्नेछ । श्रीलंकाबाट नेपाली टोली ११ गते मलेसिया जानेछ। 

नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, ओमान, सिंगापुर सहभागी प्रतियोगितामा लिगका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेताले युएईमा हुने एसिया कपमा स्थान बनाउनेछ । छनोट हुने टोली एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूह ‘ए’ मा रहनेछ।

 

 

प्रकाशित: २ भाद्र २०७५ १३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App