८ वैशाख २०८१ शनिबार
अन्य

मनकारी मनिराम

संघर्षको अन्तिम गन्तव्य हो– सफलता । र, सेवाले दिने परिणाम हो– सन्तुष्टि । जाजरकोटको दुर्गम गाउँ थलारैकरमा जन्मेका मनिराम जैसीले आफ्नो जीवनमा यी दुवै प्राप्त गरेका छन्।

साढे तीन दशकअघि कक्षा ५ पढ्दापढ्दै आमाको निधन भयो । त्यसको पहिलो असर उनको पढाइमा ग¥यो । मनिरामको जीवनमा औपचारिक शिक्षाको ढोका सधैंको लागि बन्द भयो । पढाईलाई बीचमै थाति राखेर मनिराम १५ वर्षको उमेरमा कालापहाड (भारत) गए । उत्तर प्रदेशको सहजपुरस्थित उखु मिलमा तीन महिना काम गरेपछि घर फर्किए । तर, उनी घरमा धेरै अडिन सकेनन् । उनको बाटो पुनः कालापहाडतिर सोझियो । काम खोज्दै भारतको रुद्रप्रयाग पुगे, जहाँ करिब ११ वर्षसम्म घर निर्माणसम्बन्धी काम गरे । ‘यहीँ समयमा मैले अलिकति पैसा कमाएर गाउँमा घरजग्गा जोडेँ,’ उनले भने, ‘त्यसअघि त बस्नलाई कटेरो पनि थिएन।’

त्यसपछि उनी वैदेशिक रोजगारीको सिलसिलामा २०५६ सालमा साउदी अरब पुगे । जहाँ गए पनि मेहनत गर्ने स्वभावले उनले त्यहाँ पनि राम्रै कमाई गरे । गाडीको पाटपुर्जा बनाउने अलमोल्ला इन्टरनेसनल कम्पनीमा ११ वर्ष बिताए । लेवरबाट सुरु भएको उनको नोकरी टेक्निसियन हुँदै मेसिन अपरेटरसम्म पुग्यो । मासिक तीन सय ८० रियालबाट सुरु भएको उनको तलब २०६६ सालमा घर फर्कँदा दुई हजार पाँच सय रियाल थियो।

मनिरामको तन अमेरिका भए पनि मन भने नेपालमै छ। त्यसैले त उनी अमेरिकामा बस्ने नेपाली होउन् वा नेपालमै बस्ने नेपाली, परेको बेला सक्दो सहयोग गर्छन्। बालबालिकाको शिक्षामा करिव १० लाख रूपैयाँ सहयोग गरिसकेका छन्।

‘मेहनत र लगनशील भएर काम गर्ने हो भने जहाँ गए पनि सफलता मिल्दो रहेछ,’ उनी पहिलेका दिन सम्झिँदै भन्छन्, ‘मैले भारतमा होस् वा अरबमा त्यस्तै अनुभव सँगाले ।’ उनी पनि उनले जहाँजहाँ काम गरे, त्यहाँत्यहाँ सफलता प्राप्त गरेका छन्।

प्राथमिक तहको शिक्षा, कालापहाड हुँदै अरबसम्मको कार्य अनुभव । तर, तिनै मनिराम अहिले अमेरिकामा छन् । र, आश्चर्यपूर्ण यात्रा गर्दै त्यहाँ पुगेका उनी संघर्षले छोटो समयमै सफलता चुमिरहेका छन्। क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा पैसा मात्र कमाएका छैनन्, मातृभूमिलाई मनग्गे गुन पनि लगाएका छन्।

पाँच वर्षअघि अमेरिका पुगेका उनले भाँडा माभ्mने काम सुरु गरे । एक वर्षमै सोही रेस्टुरेन्टमा कुकको जिम्मेवारी पाए । त्यसपछि सुरक्षागार्डको तालिम लिए । अहिले भवन निर्माण कम्पनीमा सुरक्षागार्डको रूपमा उनी कार्यरत छन् ।
‘संघर्ष गरेमा सफलता मिल्ने हो,’ अमेरिकाबाट स्काइपीमा कुरा गर्दै उनले भने, ‘अमेरिका आएपछि सुरुमा होटलमा भाँडा माझ्ने काम गरे, त्यसपछि सोही होटलमा कुक हुँदै अहिले सुरक्षागार्डको रूपमा कार्यरत छु ।’ उनले सुरक्षा गार्डमा पैसा राम्रो हुने भएकाले होटल छोडेको बताए।

मनिरामले आफूसँगै चार वर्षअघि श्रीमती शान्तिसहित चार छोराछोरीलाई उतै लगेका छन् । छोराछोरी दीपक, डिल्ली, पूर्णप्रसाद र मनिषा उतै उच्च शिक्षा अध्ययन गर्दै छन् । जेठी छोरी सीताको भने नेपालमै विवाह भएको छ।

मनिरामको तन अमेरिका भए पनि मन भने नेपालमै छ । त्यसैले त उनी अमेरिकामा बस्ने नेपाली होउन् वा नेपालमै बस्ने नेपाली, परेको बेला सक्दो सहयोग गर्छन् । बालबालिकाको शिक्षामा करिव १० लाख रूपैयाँ सहयोग गरिसकेका छन्।

कोहलपुरको ज्ञानकुन्ज विद्यालय होस् वा सुर्खेतको पोषण पुनस्र्थापना केन्द्र, जाजरकोटका मुटुरोगी बालक होउन् वा भूकम्पपीडित बालबालिका, सबैलाई उनले सक्दो सहयोग गरेका छन् । ‘म आफूले पाएको दुःख सम्झेर हो कि के हो थाहा छैन, दुःख पाएकालाई सहयोग गर्न पाउँदा सन्तुष्ट हुन्छु,’ उनले भने, ‘संघर्ष गरेकै कारण अरुलाई सहयोग गर्ने अवस्थामा पुग्दा खुसी पनि उत्तिकै लाग्दो रहेछ।’

मनिराम नेपालमा हुने दैनिक घटनाक्रमसँग जानकार छन्। विशेष गरी पश्चिम नेपालका घटनाक्रमलाई नजिकबाट नियाल्ने गरेका छन्।

‘पत्रपत्रिका, अनलाइन र अरु सामाजिक सञ्जालमा आएका समाचार हेरेर सहयोगको हात अघाडि फैलाउँछु,’ उनले भने, ‘व्यक्तिगतरूपमा सकेको सहयोग गर्दै आएको छु ।’ उनले पढ्न पाएनन्। त्यसै कारण पनि आर्थिक अभावले साना नानीबाबुहरू पढ्न नपाएको समाचार आउनेबित्तिकै उनी सहयोग गर्न तम्सन्छन्।

विदेशमा बसेर स्वदेशमा सेवा गर्ने भावना कसरी जाग्यो त ? जिज्ञासा भुइँमा झर्न नपाउँदै उनले आफ्ना बुबाआमालाई सम्झिए। ‘उहाँहरूले जहिले पनि अरुलाई परेको बेला सहयोग गर्नुपर्छ भनेर दिक्षा दिनुभयो,’ उनले भने, ‘अहिले संघर्ष गरेर यहाँसम्म आइपुगेपछि व्यवहारमा लागू गरेको छु।’

औपचारिक शिक्षा नभए पनि उनमा ज्ञानको ठूलो भण्डार छ। १७ भाषा फरर बोल्ने उनी विश्वको जुन कुनामा गए पनि सहजै जीवनयापन गर्नसक्ने हिम्मत राख्छन् । ‘म जहाँ भए पनि नेपाल र नेपालीको मन मुटुमा बस्न सकूँ,’ उनी भन्छन्, ‘यति भए जीवन सार्थक होला जस्तो लाग्छ।’

प्रकाशित: २ भाद्र २०७५ ०४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App