७ वैशाख २०८१ शुक्रबार
अन्य

गंगा-आरतीले बढायो पर्यटक

मुलुककै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र जनकपुरधाममा घुम्न आउने पर्यटक बढेका छन् । हरेक पूर्णिमामा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको घुइँचो लाग्ने गरेको छ । स्थानीयका अनुसार जनकपुरधाममा दर्शन गर्न आउने श्रद्धालु पूर्णिमाको दिन पारेर आउने गरेका छन्।

स्थानीयका अनुसार ८०/९० को दशकमा यहाँ आउने तीर्थालुहरूले घरबाट ‘चिउरा र सख्खर’ लिएर आउने गरेका थिए । त्यहाँ बस्ने सीमित धर्मशाला थिए । त्यसैले कतिपय कुटीमा सरण लिन जान्थे । त्यतिबेला ‘पर्यटन व्यवसायको अवधारणा बनिसकेको थिएन।

अहिलेको युगलाई उत्तरआधुनिक युग भनिन्छ । यो युगमा विभिन्न नयाँ अवधारणाहरू बजारमा आएका छन् । कतिले त उत्तरआधुनिक युगलाई ‘वैश्य युग’ पनि भने गर्छन् । मुलतः यो युगमा बजारको महत्व बढी हुन्छ । र, प्रायःजसो हरेक थोकलाई व्यवसायिक दृष्टिबाट हेरिन्छ।

जनकपुरधाममा थुप्रै धार्मिक–पर्यटकीय क्षेत्र छन् । जानकी मन्दिरसँगै राम मन्दिर, राजदेवी मन्दिर यहाँका प्रमुख धार्मिक पर्यटकीय क्षेत्र हुन्।

पछिल्लो चार वर्षदेखि जनकपुरधामको ऐतिहासिक सरोवर गंगासागरमा गंगाआरती हुँदै आएको छ । गंगाआरतीका प्रणेता हुन्– संघीय समाजवादी फोरम, नेपालबाट निर्वाचित सांसद रामअशिष यादव।

‘यहाँको गंगाआरती विश्वमै पृथक छ । भारतमा गंगा नदीको तटमा महागंगा आरती गरिन्छ । गंगालाई जलको माता मानिन्छ । सीतालाई जमिन अर्थात् थलको । त्यसैले जनकपुरधामको गंगाआरती जल र थलको संगम हो । र, यसको पृथकताको आधार पनि यही हो।’

२०७१ जेठ २५ गतेबाट गंगाआरती गर्न सुरु गरिएको हो । यसको उद्घाटन नेपालका लागि तत्कालीन भारतीय राजदूत रंजित रेले गरेका थिए।

गंगाआरती गर्न भारतको बनारसबाट विशेष पुरोहित बोलाइएको थियो । त्यही पुरोहितले मिथिलाञ्चलका तीन जना युवा पुरोहितलाई गंगाआरती गर्न तालिम दिएको थियो।

गंगाआरतीमा नेपालका पूर्वराष्ट्रपति, भारतको बिहारका उप मुख्यमन्त्री सुशील मोदी, नेपालको लागि श्रीलंकन राजदूत तथा जापानी राजदूत सहभागी भइसकेका छन्।

गंगाआरतीले जनकपुरधामको प्रचार अन्तर्राष्ट्रिय स्तरमा भएको सांसद् यादवको दाबी छ।

गंगाआरतीले गर्दा यस क्षेत्रमा पर्यटक बस्ने अवधि बढेको स्थानीय बताउँछन्।

‘गंगाआरती बेलुका हुने भएकाले पर्यटकहरू बस्ने गरेका छन्,’ सांसद यादवले भने।

गंगाआरतीले होटल व्यवसायमा पनि टेवा पुगेको छ । होटल वेलकमका संचालक अभिषेक झुनझुनबाला गंगाआरतीले होटलमा बस्ने पर्यटक बढेको बताउँछन् । ‘गंगाआरती सुरु भएदेखि होटलमा बस्नेहरू बढेका छन्, अझै पर्यटक बढ्ने सम्भावना छ,’ उनी भन्छन् । पर्यटक आगमन बढाउन सडक व्यवस्थित गर्नुपर्ने उनले बताए । ‘सडक विस्तारले सहर कुरूप बनेको छ, यसलाई तुरुन्तै व्यवस्थित गर्नुपर्छ,’ उनले भने।

तर, भारतीय पर्यटक भने अपेक्षाअनुरूप बढ्न नसकेको सांसद् यादव बताउँछन् । ‘सन् २०१८ मे ११ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमण र जानकी मन्दिरमा विशेष पूजापश्चात भारतीय तीर्थालु बढ्ने अनुमान गरिएको थियो, त्यो देखिएको छैन,’ उनले भने।

मोदीजी गइसकेपछि केही दिन भारतीय तीर्थालु आउँदा कतिले ‘मोदी म्याजिक’ भनेर चित्रण गरे । तर, त्यसको कारण भिन्न रहेको जानकी मन्दिरका छोटे महन्थ बाबा रामरोशन दास बताउँछन् । ‘मोदीजीको भ्रमणपछि मलमास अर्थात् अत्यधिक मास पर्न गयो । र, यो विशेष मास प्रत्येक तीन सालमा पर्छ । त्यतिबेला तीर्थालुको संख्या बढ्छ,’ उनले भने, ‘कहिलेकाहीँ दुई÷चार भारतीय तीर्थालु आउँछन्, जो की फगत मोदीजी जानकी मन्दिर भ्रमण गरेर जानुभएकै काराणबाट उत्प्रेरित भई जानकी मन्दिर दर्शन गर्न आएका हुन्छन् ।’ नेपाल र भारतबीच रेल सम्पर्क नहुनु यसका प्रमुख कारण हुनसक्ने उनको अनुमान छ।

भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणको बेला जनकपुर–लखनउ बससेबा संचालन गरिएको थियो, पर्यटन प्रवद्र्धनका लागि । तर, उद्घाटनपछि प्राविधिक कारण देखाई अहिले बस सेवा संचालन हुन सकेको छैन।

जनकपुरधामको बारेमा भनिन्थ्यो, ‘५२ कुटी बहत्तरी कुण्डा, चलतही सन्त झुण्डै झुण्डा’ अर्थात् जनकपुरधाममा ५२ कु्टी र ७२ सरोवर छन् । जसमध्ये झण्डै एकदर्जन सरोवर अतिक्रमण भएका छन्।

जनकपुरधामका धार्मिक–पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रवद्र्धनमा चासो दिनुपर्ने स्थानीयको माग छ।

प्रदेश सरकारले यहाँका सरोवरहरूको संरक्षणमा चासो लिए पनि त्यो पर्याप्त नभएको उनीहरूको भनाइ छ।

पर्यटन प्रवद्र्धनका लागि सडक विस्तार तथा भारत सरकारको सहयोगमा निर्माणाधीन रेललाई यथाशीघ्र सञ्चालन गर्न सके यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्न सक्ने कतिपयको बुझाइ छ । त्यससँगै भारतको युपी र बिहारलाई सिधा जनकपुरधामसँग जोड्न विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ । नेपालभित्र पनि जनकपुर जोड्ने गरी आन्तरिक उडान पनि गर्न आवश्यक रहेको उनीहरू बताउँछन् । यसतर्फ चासो दिन सके जनकपुरधामको धार्मिक पर्यटनमा टेवा पुग्नेमा यहाँका स्थानीय विश्वस्त देखिन्छन्।

प्रकाशित: २ भाद्र २०७५ ०४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App