गालाभरि
रातै गुराँस फुलाएर
आँखाभरि च्छ्योरोल्पा समेट्दै
जाउलोको जोहोमा
मधेस झरेकी शेर्पीनी दिदी
कठै ! तातो हावामा
निधारको पसिना सोहोर्दै
मीठो सपना साँचेर
बेचिरहेछिन् तीता बिखुमाहरू
पाखनबेत, जिम्बु र टिमुरहरू
ती सामानहरू जस्तै
तीतो, पीरो, टर्रो र पर्प-याइलो
जीवन भोगाइका अनुभूतिहरू
खोकिलामा बख्खुले कसेर
मधेर र भोट गर्नुको बाध्यता
बिखुमासँग गाँस साट्नुको पीडा
जिम्बुसँग जीवन साट्नुको अनुभूति
छातीभरि खोपेर
तर्तरी पसिना काढ्दै
सम्झिन्छन् हिमाल, घर र चौंरीहरू
पलमै हिमाल पुग्छिन् अनि
ठम्याउँछिन् घर, गोठ र बारीहरू
छाम्छिन् हिमाललाई
हिमाल आफ्नो स्वाभिमानमा ठडिएको छ
मनमनमा गम्छिन्–चोमोलोङ्मा
संसारकै शीर
फेरि सम्झिन्छिन् सोनमलाई के गर्दै होला ?
यो साल याङ्जीको बिहे गर्नु छ
पासाङलाई गुम्बामा पठाउनु छ
फूर्बाको बन्धक जमिन उकास्नु छ
आँगी किन्नु छ
पाङ्देन जोड्नु छ
जेथासँग जाउलो साटेर चाँडै घर फिर्नुछ
आफ्नो घर
जहाँ अलपत्र छन् सपनाहरू
छरपस्ट छन् रहरहरू
काखको दुधे बालक चल्मलाउँदा
हठात् उनी झस्किन्छिन् यथार्थमा
पुन : कराउँछिन्
आउनुहोस् ! आउनुहोस् ! आउनुहोस् !
पाखनबेत, टिमुर, जिम्बु, बिखुमा
सड्केको, मर्केको, छाती दुखेको औषधि
तर मन दुखेको औषधि... ?
सोच्छिन् र आफैं निरूत्तर हुन्छिन्
साँच्चै जीवनको यथार्थ
बिखुमाभन्दा ज्यादा तीतो हुँदोरहेछ
यतिखेर उनलाई शिरको चोमोलोङ्मा भन्दा
पीडाको चामोलोङ्मा धेरै अग्लो लाग्छ
जो क्रमशः अग्लिँदै गइरहेछ ।
प्रकाशित: २ भाद्र २०७५ ०३:४६ शनिबार