coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

गुन्द्री बजारबाट उठेर

रचना, सङ्गीत र गायनका वाग्यकार अम्बर गुरुङले उठाएको नेपाली सङ्गीतको आलम नेपाली सङ्गीतको शिखर–शीलामा सुस्पष्ट अंकित छ। उनले पु-याएको महत्वपूर्ण साथै अविस्मरणीय योगदान, सिर्जनात्मक कृति–कर्म र उठानबारे कथानक–कथन क्रमशः लिपिवद्ध गर्ने प्रचेष्टा हो । जसबाट अम्बर र दार्जीलिङमा भएका समकालीन नेपाली गीत–सङ्गीतका संस्थागत गतिविधिबारे जानकारीका यथार्थपरक झिल्का–झलकहरूद्वारा प्रष्टिने अपेक्षा गरिएको छ । क्रमशः दार्जीलिङ, सङ्गीत र अम्बरालम।

सन् १८१५ को सुगौली सन्धिपछि भारतमा विलय भएको दार्जीलिङमा चियाका बोट–बुटामा पैसैपैसा फल्छ भन्ने हल्ला तत्कालीन बेलायती शासकादिले चलाएपछि दुःखी, गरीब वा कामको खोजीमा लागेका गोर्खाली क्रमशः मेची नदीपारि पुग्न थाले । चिया मजदुर, श्रमिक अनि दरबान आदि काम पाएपछि कतिपय नेपाल फर्केनन् । उतै बिहे गरी घरजम बसाले । अलिपछि शिक्षा आर्जनको केन्द्र पनि बन्यो दार्जीलिङ । जसले दार्जीलिङ पहाडमा नेपालीहरूको सघन बस्ती बिस्तार बढ्यो।

वाग्यकार अम्बर गुरुङद्वारा सिर्जित अनेकन् गीत–सङ्गीत पाइन्छन्। चर्चित तथा कालजयी गीत पनि छन्। जसका कारण गायक गुरुङलाई वाग्यकार हुन् भनी अलङकरण गर्न सकिने यथेष्ट आधार बनेको छ।

सन् १८३५ अघिसम्म दार्जीलिङको नाम ‘गुन्द्री बजार’ थियो । जसको प्रमाण आज पनि ‘झट्ट कपाल कोरन सान्नानी, गुन्द्री बजार जानलाई बेर भयो’ गीतले बोलिरहेकै छ । साथै करिब एक सय जति ‘गुर्खा’ थिए भन्ने कथनादि पनि पाइन्छ । पन्ध्रौँ शताब्दीदेखि नै गुन्द्री बजार भनिने दार्जीलिङमा लेप्चा, लिम्बू र मगरहरू थिए । गोर्खाली शाह शासकको माझकिरात आक्रमण (सम्वत् १७७३) पछि राईहरू पनि गुन्द्री बजार अर्थात् दार्जीलिङ छिरे । सघन मानव बस्ती बिस्तारसँगै रेलको विकासले गुन्द्री बजारको नाम दोर्लिङ, दोर्जेलिङ हुँदै दार्जीलिङ बन्यो (सम्झाउनी : सन् १९९५/९६)।  
दलसिंह गहतराज (सङ्गीतकर्मी)का पुर्खा चन्द्रवीर गहताराज धनकुटाबाट, हीरावीर तुलाधर (शास्त्रीय सङ्गीत), बखतवीर बुडापिर्थी (ब्रास–ब्यान्ड) काठमाडौंबाट उसै बेलाको गुन्द्री बजार पुग्ने सङ्गीतकर्मी हुन् । गुन्द्री बजारको नाम रूपान्तरित हुनुमा शिक्षा, धर्म र सङ्गीत त छँदै थियो । साथै विभिन्न जातजाति आप्रवासीका आगमन बसाइ–सराइ, सभ्यता, आधुनिक विकास र प्रचलनले दोर्जेलिङ दार्जीलिङ बन्न पुग्यो । त्यही क्रममा अम्बर गुरुङका बाजे पुर्खा पनि तनहुँदेखि गोर्खा पल्टन हुँदै दार्जीलिङ पुगेका हुन् । रेणुकादेवी गुरुङ र उजिरसिंह गुरुङका कोखबाट लालढिकी दार्जीलिङमा अम्बर गुरुङ (सन् १९३८ मार्च २५) जन्मे।

दार्जीलिङमा रहेका गोर्खा–नेपाली जातिको सहयोग वा उत्थानका लागि ‘गोर्खा दुःख निवारण सम्मेलन’–सन् १९३२, स्थापना भयो । जसले प्रवासमा रहेका गोर्खालीलाई सामाजिक सद्भाव, सेवा र  सहयोग मात्र बाँड्ने काम गरेन नेपाली सङ्गीतको उत्थानका लागि पनि उत्तिकै काम ग-यो । त्यसपछि ‘भाइ सङ्गीत सम्मेलन’–सन् १९४४, खुल्यो र पछि गोदुनि सम्मेलनमैं बिलय गरियो । ‘हिमालय कला–मन्दिर’–सन् १९५०, पछि सन् १९६० को दशकतिर मात्रै अम्बर गुरुङद्वारा संस्थापित ‘आर्ट एकेडेमी’ दार्जीलिङमा खुलेको थियो, जुन संस्थामा आवद्ध सङ्गीतकर्मी कपिलराज सुब्बा, शेखर दीक्षित, पासाङ बाग्बल आदि थिए । कपिलराज सुब्बा पाश्चात्य सङ्गीतमा अब्बल मानिन्थे भने शेखर दीक्षित गायनमा र पासाङ बाग्बल गीत रचनामा।

पासाङ बाग्बलले रचना गरेको ‘घाम–जून पञ्च राखी बाचा मार’ गीत उसै समय चर्चित पनि थियो । जुन गीतका गायक/सङ्गीतकार अम्बर गुरुङ हुन्।

त्यसपछि क्रमशः नयनप्रकाश सुब्बा, रुद्रमणि गुरुङ, जीतेन्द्र बरदेवा, कर्म योञ्जन, इन्द्रकुमार सिंह, रञ्जीत गजमेर, देउदत्त गुरुङ, गोपाल योञ्जन, अरुणा लामा, शरण प्रधान, आशिष बोस, पिटर जे कार्थक आदि सुर–सङ्गीतकर्मी पनि ‘आर्ट एकेडेमी’मा सम्मिलित हुन पुगे । जसबाट दार्जीलिङमा नेपाली आधुनिक सङ्गीतको सिर्जनशील बढोत्तरी, तालिम र यथेष्ट प्रयोग हुन थाल्यो । विशेष गरेर आधुनिक अकेस्टे«सन (वृन्द–वादन) सङ्गीतका लागि कपिलराज सुब्बा, नयनप्रकाश सुब्बा आदिको योगदान पनि जोडियो।

सन् १९५० मै शास्त्रीय सङ्गीतको उत्थानका लागि स्थापना भएको संस्था हो ‘दार्जीलिङ सङ्गीत सदन’ । यस संस्थामा मुख्य गुरु जगदीशचन्द्र राई (जेसी राई), हरिदास प्रधान, एम एन प्रधान, कालु गुरुङ, मधु सिंह, निमा वाङगेल, वीरेन्द्र, हरिमोहन गुरुङ, माणिकचन्द्र प्रधान आदि शास्त्रीय साधकादि आबद्ध थिए । अम्बर गुरुङले भित्री रूपमा हरिमोहन गुरुङसँग शास्त्रीय गायन सिकेका थिए । पूर्वीय तथा पाश्चात्य दुवै प्रकारका सङ्गीतको यथेष्ट ज्ञान हासिल गरेका सङ्गीतकार अम्बर गुरुङले आफ्नो सङ्गीत गुरुबारे कहिल्यै खुलासा गरेनन् । तथापि उनको साङ्गीतिक आलम भने यहीँदेखि आरम्भ भएको थियो।

अम्बरद्वारा संस्थापित ‘आर्ट एकेडेमी’सँग आवद्ध कलाकारहरू पछि गएर छिन्नभिन्न भए । र आ–आफ्ना सङ्गीत संस्थाहरू खोल्न थाले । जस्तै : सङ्गीतकर्मी कपिलराज सुब्बा र अंमू ल्हमू आदिले ‘कला केन्द्र’, यसपछि ‘सरगम परिषद’मा मणि गुरुङ, छिमी अंमू, आरती लामा, कुमार सुब्बा, किसन प्रधान, विदुर गुरुङ, दीपक गुरुङ आदि, ‘सङ्गम परिषद्’मा जीतेन्द्र बरदेवा, शरण प्रधान, रञ्जीत गजमेर, अरुणा लामा, ललित योञ्जन, पिटर जे. कार्थक, प्रकाशसिंह गहताराज, मार्क कार्थक, इन्द्रकुमार गजमेर, आर.बी.रसाइली, सन्तलाल लुहागन आदि संलग्न थिए । यसले के पुष्टि गर्छ भने समूह सङ्गीत कर्म–कृतिको विकास र विस्तार अर्थात् स्कुलिङ दार्जीलिङमा आर्ट एकेडेमी स्थापना भएकापछि नै भएका थिए । यसको श्रेय वाग्यकार अम्बर गुरुङलाई नै दिन सकिन्छ।

यसैगरी अर्को संस्था ‘सावन परिषद’ सन् १९६९, ‘कार्निभल सङ्गीत समूह’–सन् १९७१, ‘ललित नृत्य छन्दम्’ सन् १९७८ मा दार्जीलिङमा स्थापना भएको संस्थाले आधुनिक सङ्गीत, नृत्यका साथै शास्त्रीय सङ्गीत विस्तारका लागि विशेष काम गर्न सफल रह्यो । उल्लिखित संघ–संस्था स्थापना हुनुले दार्जीलिङमा सङ्गीतलाई पेसा वा आजीविकाको विषयवस्तु बनाउन सकिन्छ भन्ने विश्वास उठेको मान्न सकिन्छ । यसको श्रेय ‘आर्ट एकेडेमी’ मूल–मियोको रूपमा देखिन्छन् । यसैलाई ‘अम्बर गुरुङको साङ्गीतिक आलम’ भन्दा अत्युक्ति हुँदैन। 

सन् १९६० कै दशकमा अगमसिंह गिरी जस्ता बौद्धिक व्यक्तित्वका सम्पर्कले सङ्गीत सर्जक अम्बरलाई नेपाली संचेतनाको मूलबाटोमा ल्यायो । कवि÷गीतकार गिरी र गुरुङकृत कृति ‘नौलाख तारा उदाए धर्ती र आकाश हाँसेछ’ले नेपाली–गोर्खाली बस्ती रसमय तुल्यायो । नेपालमा समेत चर्चा परिचर्चा हुन थाल्यो । यसै गीति कृतिको प्रतिउत्तरमा रेडियो नेपालबाट ‘फर्क हे फर्क नेपाली, तिमीलाई डाक्छ हिमाल’–रचना लक्ष्मण लोहनी, सङ्गीत नातिकाजी, स्वर पुष्प नेपाली प्रसारित भयो । त्यस बेलासम्ममा अगम–अम्बरकृत गीत ‘नौलाख तारा उदाए’ प्रसारणमा बन्देज लागिसकेको थियो । नेपाली पहिचान, गोर्खाली गौरव र संचेतनाको स्वर दार्जीलिङमा उठ्न थालिसकेको थियो।

जब बंगाली भाषीहरूबाट ‘रवीन्द्र सङ्गीत’ साङ्गीतिक प्रभाव वा पेलाइ सहनु प¥यो तब त्यसलाई छिमल्न नेपाली जातिले जातीय आन्दोलनका रूपमा ‘देवकोटा सङ्गीत आन्दोलन’ पनि नचलाएका होइनन् । यस बेलासम्ममा सूर्यविक्रम ज्ञवाली, लैनसिंह बाङदेल, हरिभक्त कटुवालसँगै अम्बर आदि नेपाल भित्रिसकेका थिए । सन् १९६९–७० देखि अम्बर सदाका लागि नेपाल भित्रिए । र साङ्गीतिक जागिर सुरु भयो नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा । नेपाली भूमिमा अम्बर गुरुङको साङ्गीतिक आलम प्रथमतः यहिँबाट उठेको मान्न सकिन्छ।

जब गीत–सङ्गीतका माध्यमबाट नेपालमै बाँच्ने आधार खडा हुन थाल्यो तब अम्बर गुरुङका साङ्गीतिक आलम–पथलाई पछ्याउँदै सन् १९७१–७२ तिर गोपाल योञ्जन, रनजीत गजमेर आदि काठमाडौं प्रेवश भए । नेपाली सङ्गीतको मूल–प्रवाहमा नातिकाजी, शिवशङ्कर, चन्द्रराज शर्मा, सीके रसाइली (असम) जस्ता सिद्धहस्त सङ्गीतकार सहकर्मी सँगसँगै थिए भने अगुवा उ.गोविन्दलाल जिवितै थिए । सङ्गीत क्षेत्रमा बच्चुकैलाश, पुष्प नेपाली, प्रेमध्वज, नारायणगोपाल, मानिकरत्न, तारादेवी, फत्तेमान आदी कलाकारको चर्चा र वर्चश्व–शिखर कायम थियो । यहीबेला रसिक–भोजपुरेको ‘लेकाली समूह’ नेपाली गीत–सङ्गीतको पृथक सिर्जनशील पथको दौडमा रहनुले सङ्गीत साधक अम्बर गुरुङलाई चुनौति थपिएको थियो।

उता दार्जीलिङमैं रहेका कर्म योञ्जन, अशोक राई, दिलमाया खाती, अरूणा लामा, शान्ति ठटाल, मणिकमल क्षत्री, बसन्त क्षत्री आदि पनि क्रमशः नेपाली गीत–सङ्गीतको आँगनमा उपस्थित भइसकेका थिए।

सन् १९८० देखि १९९० को दशक नेपाली नाटकको रेनेसा युग नै थियो । त्यसबेला नाटक, एकाङकी, ब्याले तथा अपेरा आदि प्रसस्तै प्रदर्शित भएका थिए । अलिक अघिको गीति नाटक ‘मुना–मदन’–रचना महाकवि लक्ष्मीप्रसाद देवकोटा अनि अलिकपछि ‘मालती–मङगले’–रचना राष्ट्रकवि माधव घिमिरे आदि महत्वपूर्ण कृति–कर्ममा सङ्गीतकार अम्बर गुरुङले नेपाली लोकशैली विलेपन गरी निर्माण गरेको सङ्गीत–तरजलाई पछिल्लो पुस्ताले समेत सहज ग्रहण गर्ने मौका पायो । किनकी अम्बर गुरुङद्वारा सिर्जित–संयोजित कतिपय सङ्गीत प्रयोग र पाश्चात्य शैलीका हुनाले नेपालीपन खोज्ने अनेकन् कर्णका निम्ति अक्कर हुन जान्थ्यो । जस्तै ः ‘मेरो जीवनलाई जतासुकैबाट हेरिबस्छौ’ वा ‘नेपाल आमा कहिँ छौ घाम कहिँ छौ छाया हे’ आदि गीतको सङ्गीत प्रयोगधर्मी नै मान्ने गरिन्छ।

सन् १९७१–८१ बीचका ‘कुञ्जिनी’–रचना महाकवि लक्ष्मीप्रसाद देवकोटा, ‘जब घाम लाग्छ’, ‘सपनाबाट ब्यूँझिँदा’, ‘फर्केर हेर्दा’, ‘अरनिको’–लेखक सत्यमोहन जोशी आदि नाटकका सङ्गीत तथा पाश्र्व–सङ्गीत सिर्जनाका अनुभवले खारिँदै आएका गुरुङले ‘मनको बाँध’, ‘जीवनरेखा’ चलचित्र र वृत्तचित्र ‘भानुभक्त’मा पनि सफलतम पाश्र्व–सङ्गीत दिएर आफ्नो बर्चश्व कायम गरेका थिए । पाश्चात्य समूह गायनशैली ‘कोयार’को नेपाली प्रयोगले अम्बर गुरुङको साङ्गीतिक अर्को विशिष्ट ध्वजा उठाउन सहयोग मिलेको देखिन्छ । जुन गायनशैली यसअघि कोयार नामले नेपालमा कसैले पनि प्रयोग गरेको देखिँदैन । हुन त यसअघि पनि कतिपय सङ्गीतमा हर्मोनाइज तथा कोरस स्वर–समूह गायन अर्थात् पश्चिमी ढाँचाको गायन विधि भने नेपाली गीत–सङ्गीतमा प्रयुक्त नभएका होइनन्।

वाग्यकार अम्बर गुरुङद्वारा सिर्जित अनेकन् गीत–सङ्गीत पाइन्छन् । चर्चित तथा कालजयी गीत पनि छन् । जसका कारण गायक गुरुङलाई वाग्यकार हुन् भनी अलङकरण गर्न सकिने यथेष्ट आधार बनेको छ । आधुनिक, स्वदेशगान, चलचित्र साथै विभिन्न एल्बममा पनि उनका सङ्गीतका गीतहरू स्रोतामाझ आएका छन्।

उनले ‘अम्बरका अमर भाका’, ‘अम्बर गायन यात्रा’, ‘अम्बर सङ्गीत सन्ध्या’ आदि एकल गायन प्रस्तुति देश तथा विदेशमा समेत सम्पन्न गरिसकेका छन् । ‘रातो र चन्द्र–सूर्य’–रचना गोपालप्रसाद रिमाल, सहगायन फत्तेमान, राष्ट्र बन्दना गीतलाई २०६८ मा नेपाली सेनाले सैनिकगान घोषण गरेको छ । जसले सङ्गीत योजक गुरुङको कीर्ति–योगदानको थप इतिहास लिपिवद्ध भएको मान्न सकिन्छ । उनका ‘पोहर साल खुशी फाट्यो’–गायन अरुणा लामा, गीत राजेन्द्र थापा, ‘मेरो यो गीतमा जुन मूच्र्छना छ’ र ‘पोखिएर घामका झुल्का’–गायन नारायणगोपाल, गीत हरिभक्त कटुवाल, ‘म अम्बर हुँ’, कहिले लहर कहिले तरंग’, ‘डाँडापारि हिँउ परेछ’, ‘होसियार यस बखत’, ‘कमलो मुटुभन्दा ढुंगाको मुटु जाति’, ‘टिप यो जोवन’ ‘आए सबै याद’ आदि दर्जनौं गीतहरू चर्चित तथा स्थापित बनेका छन्।

यसैगरी नेपालको राष्ट्रगान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’–रचना व्याकुल माइला (प्रदीपकुमार राई), सङ्गीत साधक गुरुङलाई साङ्गीतिक लयविधानका लागि प्रदान गरिनुले उनको साङ्गीतिक योगदानको कदर समेत राज्यद्वारा गरिएको छ, जुन राष्ट्रगान ज्ञानु राणा, जयनन्द लामा, सुनिता सुब्बा, बिमला राई, राम गुरुङ, राजेशपायल राई, एम बराल, अञ्जु पन्त, रूपा झा, अजय थापा, सुरज थापा, बेनुका राई, झुमा लिम्बू, सिर्जना श्रेष्ठ, शिशिर योगी, अनिलमान महर्जन, राजेन्द्रमान श्रेष्ठ, रिना भुसाल, चन्दा देवान, गंगा न्यौपाने आदि सुरकर्मीका सुमधुर कण्ठ–ध्वनिद्वारा सुसज्जित भएको छ।

सयौं कालजयी सदाबहादर गीत–सङ्गीतका सर्जक सङ्गीत प्रज्ञानी अम्बर गुरुङलाई नेपाल र नेपाली जनमनले आज सम्झिरहने एउटै कारण हो– साङ्गीतिक योगदान । नाटक, गीति–नाटक, चलचित्र, वृत्तचित्र तथा एल्बम सीडी समेतमा उत्तिकै सशक्त र प्रभावशाली सङ्गीत प्रदान गरेका वाग्यकार अम्बर गुरुङका प्रकाशित कृति ‘सम्हालेर राख’, ‘कहाँ गए ती दिनहरू’ छन् । उनको बौद्धिक क्षमता, अध्ययनको गहिराई र साधनाको निरन्तरता साथै साङ्गीतिक कृति–रचनाले गर्दा उनलाई नेपाली मन–मस्तिष्कले स्मरण गरिरहेका हुन् । उनका कृति, कर्म र योगदान अविष्मरणीय, उल्लेखनीय अनि प्रशंसनीय छन् । उनका साङ्गीतिक कीर्ति विशिष्ट र महत्वपूर्ण हुनुले सङ्गीतकार अम्बर गुरुङका ‘साङ्गीतिक आलम’ नेपाली व्योममा फर्फराएको हो । साङ्गीतिक मन्दिरमा उनको आलम अर्थात् ध्वजा अनुष्ठित हुन पाएको हो । नेपाली सङ्गीत जगतले ‘अम्बर–आलम’लाई कदापि भूल्ने छैनन्।

अम्बरका रचना, संगीत र गायनका गीतहरू  
१) ए फूल वसन्त
२) मेरो जीवनलाई
३) क्षितिज आकाशलाई
४) आँखादेखि
५) यति सुन्दर प्रित
६) शरदको फूल         
७) बास बस्न खोजेको     
८) बिर्सन देऊ
९) आँखाभरि तिम्रो     
१०) तिमी आऊ बहार     
११) रातभरि दियो
१२) कहिले लहर कहिले  
१३) मन सुन्दर त     
१४) बिर्से पनि         
१५) उकाली चढ्दा     
१६) व्यथित दिल
१७) म अम्बर हुँ         
१८) मेरो उदासिपन
१९) डाँडापारि हिँउ परेछ     
२०) म पनि त कोही
२१) जब जब मौसम     
२२) आकाश झुक्यो     
२३) कमलो मुटुभन्दा     
२४) टिप यो जोवन
२५) आऊ न फूलको     
२६) दिल त म         
२७) आँखाबाट बगाई आदि ।

प्रकाशित: २ भाद्र २०७५ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App