coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सेयर कसरी घटबढ हुन्छ ?

प्रियराज रेग्मी 
अध्यक्ष
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल

नेपालको सेयर बजारमा संस्थागत लगानीकर्ता कम छन् । हुन पनि हाम्रो सेयर बजारको आयतन तथा गहिराई केही कमजोर छ । त्यसैले दीर्घकालीन लगानीकर्ता पनि कम देखिन्छन् । दीर्घकालीन लगानी गर्ने प्रवृत्ति कम छ । लगानीकर्ताको लगानी पोर्टफोलियो म्यानेजमेन्ट गरेर लगानी गरिदिने वातावरण पनि कम देखिन्छ । 

बजारलाई चलायमान तथा स्थायी बनाउन संस्थागत लगानी नभएका हैनन् तर पर्याप्त छैनन् । व्यक्तिले स्वइच्छाले लगानी गरिरहेको अवस्था छ । योजनाबद्ध तथा दीर्घकालीन लगानी गर्नेभन्दा पनि बजारमा तत्काल कारोबार गरेर मुनाफा लिने किसिमले लगानी गरेको देखिन्छ । 

संसारका कतिपय ठाउँमा आफूसँग सेयरको स्वामित्व नै नभए पनि सेयरको कारोबार गर्ने संयन्त्र आइसकेको छ । अन्य सम्झौताको आधारमा पनि दोस्रो बजारमा भविष्यमा सम्झौताको हस्तान्तरण हुने गरी कारोबार पनि गरिन्छ । यस्ता कारोबारलाई फ्युचर्स तथा अप्सनको कारोबार भनिन्छ ।

‘इन्ट्रा डे’ कारोबार 

आफूसँग स्वामित्व नै नभएको सेयर खरिद बिक्री गर्न समेत सकिन्छ, जसलाई ‘डे’ तथा ‘इन्ट्रा डे’ कारोबार भनिन्छ । अन्तरदिन कारोबार पनि भनिन्छ । मानौँ कसैसँग ‘क’ ‘ख’ ‘ग’ भन्ने बैंकको सेयर छ, बिहान बजार खुल्लेबित्तिकै बेलुकासम्म सेयरको मूल्य घट्छ भन्ने लाग्यो भने बिहानै बेचिन्छ । बेलुका सेयरको मूल्य घट्यो भने त्यही बिहान बेचेको सेयर घटेको मूल्यमा बेलुका किनेर बिहानको क्षतिपूर्ति गर्न सकिन्छ । बिहान बेच्यो अनि बेलुका त्यही सेयर किनेर पनि मुनाफा कमाउन तथा घाटापूर्ति गर्न सकिन्छ । यस्तो कारोबार नेपालमा भने प्रचलनमा छैन । 

टि प्लस थ्रि 

नेपालमा आज किनेको सेयर ठीक तीन दिनपछि (डेलिभरी) पाउन सकिन्छ । नेपालमा सेयर कारोबारको राफसाफको चक्र टि प्लस थ्रिको छ । ठीक तीन दिनमा बिक्री गरिएको रकम पाइन्छ । अगाडि पछाडि हुँदैन । ‘टि’ को अर्थ ‘ट्रान्जेक्सन डे’ हो भने ‘प्लस थ्रि’ भन्नले ‘तीन दिनमा’ भन्ने अर्थ हुन्छ । 

तीन दिनमा सेयरको कारोबार रकम राफसाफ हुन्छ । आज कारोबार गरेको सेयर तीन दिनमा बेच्नेले पैसा पाउँछ । किन्नेले सेयर पाउँछ । यो प्रणाली ‘माई वर्ड इज माइ बन्ड (बाध्यता)’ अर्थात् बोलेपछि सकियो भन्ने सिद्धान्तबाट चलेको हुन्छ ।

किनेको सेयर किन्नेले तोकेको निश्चित दिनमा प्राप्त गर्नुपर्ने हुन्छ भने बेच्नेले पनि तोकेको दिनमा सेयर किन्ने व्यक्तिलाई उपलब्ध गराउनुपर्छ । दिन्न भन्न पाइँदैन । सर्तमा सम्झौता हुँदैन । नेपालमा यो प्रणाली अभ्यासमा छ । 
टि प्लस थ्रिको प्रणालीअनुसार आफूले किनेको सेयर किनेको चौथो दिनमा बिक्री गर्न सकिन्छ । मुनाफाको प्रकृति हेरेर तथा कारोबारको आवश्यकता हेरेर छोटा कारोबारीले चौथो दिन वा त्योभन्दा पछि सेयरको कारोबार गर्न सक्छन् । 
आफैँले सिधै सेयर बजारमा गएर सेयरको खरिद तथा बिक्री गर्न पाइँदैन । सेयरको खरिद बिक्री आदेशका लागि धितोपत्र सदस्य व्यवसायी तथा दलालको सहयोग लिनुपर्छ । 

घटबढको अनुमान

विशेषगरी धितोपत्रको दोस्रो बजार अपेक्षामा चल्ने बजार हो । सेयर बजारमा खरिद तथा बिक्रीकर्ता आएका हुन्छन् । 
दोस्रो बजारमा सेयरको खरिदकर्ताको मुख्य उद्देश्य मुनाफा कमाउने तथा पुँजीगत लाभ लिने हुन्छ । सेयर बिक्रेताको उद्देश्य आफूसँग भएको सेयर बिक्री गरेर अर्को काम टार्ने पनि हुन सक्छ । बिक्रेताले बजारभाउ घट्ने संकेत पाएर मुनाफालाई सुरक्षित गर्न पनि सेयर बिक्री गर्न सक्छ । 

खरिदकर्ताले अल्पकालीन वा दीर्घकालीन रुपमा सेयरमा लगानी गर्ने उद्देश्य राखेको हुन्छ । धितोपत्र व्यवसायमा कारोबार गर्ने व्यक्ति तथा कम्पनी संलग्न रहेछ भने अब धितो पत्रको मूल्य बढ्छ भन्ने लागेर सेयर खरिद गर्न सक्छ ।  बिक्रेताले अब धितोपत्रको मूल्य घट्छ भन्ने लागेर सेयर बिक्री गर्न सक्छ । आफ्नो कुनै आवश्यकता टार्नका लागि पनि बिक्री गर्न सक्छ । 

बजारमा जति सेयर बिक्री हुन्छ, त्यति नै मात्रामा सेयर खरिद हुन्छ । किन्ने मानिसले अब बढ्छ भनेर किन्छ भने बेच्ने मानिसले अब घट्छ भनेर बेच्छ । यो अनुमान हो । 

सूचनाको बजार

सामान्यतः एक वर्षभन्दा कम समयावधिमा गरिने सेयरको कारोबारलाई छोटो समयावधिको कारोबार भनिन्छ । एक वर्षभन्दा लामो समयावधिको अन्तरालमा गरिने कारोबारलाई दीर्घकालीन प्रकृतिको कारोबार भनिन्छ । 

दोस्रो बजार सूचनाको बजार पनि हो । कम्पनीको सेयर खरिद बिक्री गर्दा कम्पनीले गर्ने काम, भविष्यको योजना, कम्पनीमा संलग्न व्यक्ति, कम्पनीले दिएका सेवा, तत्कालीन अवस्थामा गरेका कामले पनि सेयरको मूल्यमा प्रभाव पार्न सक्छ । 

अल्पकाल तथा अन्तर दिन कारोबारमा प्राप्त सूचना तथा आफ्नो अनुमानमा सेयरको मूल्य बढ्छ भन्ने लाग्यो भने सेयर किन्छ । घट्छ भन्ने लाग्यो भने बेच्छ । 
 
दीर्घकालीन रुपमा भने देशको अवस्थाले पनि सेयर बजारलाई प्रभाव पार्छ । देशको आर्थिक अवस्था, सरकारले लिएको नीति, पुँजी बजारमा भएको विकासले सेयर मार्केटलाई प्रभाव पार्न सक्छ । तरलताको अवस्था, सेयरको आपूर्तिजस्ता कारणले दीर्घकालीन पुँजी बजारको मार्ग निर्देश गर्छ । 

बोनस सेयर राम्रो

हकप्रद सेयर बाँड्ने कम्पनीभन्दा बोनस सेयर बाँड्ने कम्पनी राम्रा हुन्छन् भन्ने कुरा सही हो । कम्पनी खोलिन्छ । कम्पनीमा लगानी गरिन्छ । लगानी गरिसकेपछि सेयर धनीले कम्पनीको मुनाफा चाहन्छन् । कम्पनीबाट लाभ चाहन्छन् । 

बोनस सेयर तथा नगद लाभांश भन्नाले कम्पनीले दिएर बाँड्ने हो । हकप्रद सेयर भनेको कम्पनीलाई फेरि पुँजीको आवश्यकता भयो भने बाँडिन्छ । पहिले गरेको लगानीले नपुगेपछि हकप्रद सेयर जारी गरेर कम्पनीले पुँजी पुनः संकलन गर्छ । हकप्रद थप पुँजी माग्ने अवस्था हो । सामान्यतः एक पटक लगानी गरेको कम्पनीमा कम्पनीले कुनै लाभांश नदिइकन फेरि लगानी गर्नु भनेको उपयुक्त नहुन सक्छ । राम्रो बिजनेस प्लान छ, थप लगानी गर्दा मुनाफा सुनिश्चित देखिन्छ भने त्यस्तो अवस्थामा हकप्रद सेयर पनि जायज हुन सक्छ । 

कम्पनी घाटामा गइसक्यो, कम्पनीको खुद सम्पत्ति अंकित मूल्यभन्दा तल गइसकेको छ भने त्यस्तो अवस्थामा थप लगानी गर्नु जोखिम हुन सक्छ । त्यसैले कस्तो अवस्थामा हकप्रद सेयर जारी भएको कम्पनी हो भन्नेमा लगानीकर्ताले विचार पु-याउनु पर्छ । 

कम्पनीको जीवनचक्र हुन्छ । सामान्यतः सानो तहको पुँजी लगानीबाट सुरुवात भएको हुन्छ । ठूलै लगानीको भए पनि बिस्तारै फाइदा कमाउँदै जान सक्छ ।  

व्यवसाय बढ्दै गएपछि थप लगानीको लागि पुँजी आवश्यक पर्छ । कमाएको रकमलाई बोनस सेयरको रुपमा जारी गरेर रकमलाई कम्पनीले लगानी गर्छ । यसरी कमाएकै पुँजीको बोनस सेयर जारी गरेर कम्पनीले लगानी गर्ने प्रक्रियालाई बोनस सेयर भनिन्छ । त्यसैले कुनै कम्पनीले बोनस सेयर जारी ग-यो भने कम्पनीको वृद्धि विकास भैरहेको रहेछ, कम्पनीलाई थप कमाउन अझै लागानीको आवश्यकता प-यो भन्ने बुझ्न सकिन्छ । 

कमाएको रकमलाई थप लगानी गर्नको लागि सेयरधनीलाई बोनसको रुपमा थप अंश थपिदिएको हुन्छ । यो पुँजी कम्पनीले आफैँसँग राख्छ । कम्पनीले त्यो पुँजी पुनः व्यवसायमा प्रयोग गर्ने गर्छ । त्यसैले बोनस सेयर राम्रो हो । 

बैंक, वित्तीय संस्था आकर्षणका क्षेत्र

नेपालको सेयर बजारमा सामान्यतः तीन किसिमका कम्पनीमा बढी आकर्षण देखिन्छ । बैंक तथा वित्तीय संस्था, इन्सुरेन्स र हाइड्रो पावर कम्पनी लगानीको आकषर्णका क्षेत्र देखिन्छन् । यस्ता कम्पनीको सेयर आइरहेको छ । अन्य कम्पनीका सेयर कमै मात्रामा छन् । 

नेपालको बैंक तथा वित्तीय संस्था र इन्सुरेन्स कम्पनीहरु नियमनकारी निकायको नियमन तथा निगरानीमा छन् । बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले नियमन गर्छ । इन्सुरेन्स कम्पनीलाई बिमा समितिले नियमन गर्छ । बिमा समितिले इन्सुरेन्स कम्पनीको नीतिनियम लगायत बनाउँछ । सेयर निष्काशन लगायतका विषयमा धितोपत्र बोर्डले निगरानी गर्छ । 

हाइड्रो कम्पनीको सेयरको निगरानी गर्ने विशेष नियमन गर्ने निकाय देखिँदैन । नियमन निकाय नै छैनन् भन्ने हैन तर बैंक वित्तीय संस्थालाई जसरी नेपाल राष्ट्र बैंकले नियमन गर्छ त्यस्तो नियमन निकाय हाइड्रो लगायतका कम्पनीमा देखिँदैनन् । 

कम्पनी स्वनियमनमा पनि बसेका हुन सक्छन् । त्यसैले जुन सुकै क्षेत्रको सेयर सुरक्षित हुन सक्ने भए पनि बैंक, वित्तीय संस्था तथा इन्सुरेन्स कम्पनीका सेयरमा लगानीकर्ताको लगानीको आकर्षण देखिन्छ । 

८० प्रतिशतभन्दा धेरै बैंक तथा वित्तीय संस्थाका सेयर हुने भएकाले पनि यी क्षेत्रको सेयरमा बढी लगानी भएको हो । लगानीमा विविधीकरणको अभावका कारणले पनि यी क्षेत्रमा लगानीको आकर्षण देखिएको हो । 

हाइड्रोको सेयरले दिने मुनाफा निश्चित हुन्छ । त्यसैले हाइड्रोमा असीमित नाफा हुँदैन । पाँच मेघावाटको हाइड्रो छ भने त्यसले दिने मुनाफा त्यही पाँच मेघावाटको मात्रै हो । त्यसभन्दा बढी मुनाफा दिँदैन । सेयर मूल्यमा धेरै वृद्धि पनि हुँदैन । बैंक, वित्तीय संस्थामा भने मुनाफा धेरै पनि हुन सक्छ । 

जोखिम न्यूनीकरण

भनिन्छ, ‘सबै अण्डा एउटै बास्केटमा राख्न हुँदैन । डन्ट पुट अल एग्स इन वन बास्केट ।’ लगानीको सुरक्षाका लागि पोर्टफोलियो मिलाउनुपर्छ । विविध क्षेत्रमा लगानी गर्नुपर्छ । धेरै पैसा हुनेले पनि एकै ठाउँमा सबै लगानी गर्दैनन् । केही उद्योग व्यापार, केही सुन–चाँदी, केही घर–जग्गामा लगानी गर्छन् भने केही पुँजी सेयर बजारमा लगानी गर्छन् । त्यसैले साना लगानीकर्ताहरुले पनि आफ्नो पुँजीअनुसार लगानी विविधीकरण गर्नुपर्छ । 

थोरै पुँजी छ भने पनि एउटै कम्पनीको सेयरमा लगानी नगरी  २/३ कम्पनीका सेयर खरिद गर्नुपर्छ । कुनै बैंक तथा वित्तीय संस्थाको सेयर खरिद गर्ने, कुनै इन्सुरेन्स त कुनै हाइड्रो लगायतको क्षेत्रका राम्रा कम्पनीमा लगानी गर्दा उत्तम हुन्छ ।

सेयरको सिजन 

नेपालको परिवेशमा कम्पनीको हिसाब मिलाउने समय असार मसान्त हो । नेपालमा हिसाब मिलान गरेको एक महिना भित्रमा वित्तीय विवरण प्रकाशन गर्नुपर्छ । छ महिनाभित्र भने साधारणसभा गरिसक्नुपर्छ । 

हरेक कम्पनीले ३÷३ महिनामा वित्तीय विवरण प्रकाशन गर्छन् । वित्तीय विवरण प्रकाशन गरेपछि साउन÷भदौमा कुन कम्पनीको विकास तथा उन्नति–प्रगति भएको छ वा कुन कम्पनी घाटामा गएको छ थाहा हुन्छ । 

त्यसैले कम्पनीले राम्रो गरेको भए लगानीकर्ता पनि उत्साहित हुन्छन् । कम्पनी घाटामा छ भने लगानीकर्ता पनि हतोत्साही हुन्छन् । कम्पनी फाइदामा गएको देखियो भने धितोपत्रको मूल्य पनि बढ्न सक्छ भने कम्पनी घाटामा छ भने धितो पत्रको मूल्य पनि घट्न सक्छ । 

वर्षभरि लगानी गरेर प्रतिफल लिने समय साउनदेखि  पुस महिनासम्म हो । त्यसैले साउनदेखि पुस महिनासम्म सेयर कारोबारको चहलपहल अलि बढी हुनसक्छ । 

सामान्यतः पुससम्म कम्पनीले लाभांश पनि बाँडिसकेको हुन्छ । फेरि लाभांशका लागि अर्को साउन–भदौ पर्खनुपर्ने भएकाले लाभांश प्राप्त गर्ने हिसाबले माघदेखि जेठ महिनासम्मलाई सेयर बजार सुस्त अवस्था हुनसक्छ । तर पनि अन्य सूचना र कम्पनीको अवस्थाका कारणले भने कुनै सेयरको मूल्य यो समयमा पनि घटबड भएका हुन सक्छन् । 
सेयर किन्दा मूल्यभन्दा पनि गुणस्तरीयतामा ध्यान दिनुपर्छ । प्रतिफल कति दिन्छ भन्ने हेर्नुपर्छ । सेयरको मूल्य धेरै हुँदैमा राम्रो र सेयरको मूल्य कम हुँदैमा नराम्रो भन्ने हुँदैन । 

नेपालको सन्दर्भमा ब्रोकर कम्पनीले सेयरको भाउ तलमाथि पार्ने सम्भावना हुँदैन । ब्रोकरमार्फत कारोबार गरिन्छ । ब्रोकर माध्यम मात्र होे । 

सेयरको भविष्य

नेपालको सेयरको भविष्य राम्रो छ । दीर्घकालीन लगानी राम्रो हुन्छ । गृहिणी पनि लगानी गर्न सक्छन् । बालबालिकाले पनि अभिभावक संरक्षक भएर लगानी गर्न सक्छन् । यो बजार बिस्तारै गतिशील हुँदै गइरहेको छ । अनलाइन प्रविधि आइरहेको छ । उल्लेख्य रुपमा वास्तविक क्षेत्रका कम्पनीहरु बजारमा प्रवेश भएका छैनन् । गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीको प्रवेश हुन सकेको छैन । बिस्तारै यसमा प्रगति होला । अहिले सीमित ठाउँमा कारोबार हुन्छ । दायरा बिस्तारै बढ्दो छ । कानुनी सुधार हुँदैछ । ग्रामीण भेगमा पनि खरिद–बिक्रीका लागि पहुँचको बिस्तार पनि हुने क्रम छ । कारोबार गाउँगाउँसम्म पु-याउन सके यसको भविष्य अझ राम्रो हुन्छ । 

दोस्रो बजारको पहुँच बिस्तार गर्न अझै धेरै गर्नुपर्ने भएकाले पुँजी बजारको भविष्य छ भनिएको हो । नियमनकारी निकायले नीति बनाउने तथा सुपरीवेक्षण गर्ने हो, जुन सुधारोन्मुख छ । प्रयत्नहरु भएका छन् । बजार बिस्तारै स्वच्छ, पारदर्शी र भरोसायोग्य बन्दै गइरहेको छ ।

(रेग्मीले उपेन्द्र खड्कासँग गरेको कुराकानीमा आधारित)

प्रकाशित: १ भाद्र २०७५ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App