संस्कृति

मिथिलाञ्चलमा मनाइने पर्वः मधुश्रावणी

शुक्रबार, ०१ भदौ २०७५, १६ : १२ नागरिक

रामभरोस कापडी भ्रमर

वास्तवमा यो मधुश्रावणी शब्दकै एक रूप हो । यसमा दुई खण्ड हुन्छन् । एउटा मधु र अर्को श्रवण । ‘मधु’ फल–फूलबाट मधुमख्खी र ‘भ्रमर’ बाट सञ्चित गरिएको मधुको अर्थ दिन्छ भने श्रवणले बग्नुको अर्थ दिन्छ । मधुको सञ्चरण नै मधुश्रावणी हो । 

महिना पनि श्रावण । चारैतिर लटरम्म फुलेका फूलहरु । पावसको समय । मेघ गर्जनसहित वर्षा । रीतिकालीन कविहरुको लेखनीले प्रियमिलन र विछोडका अनेकौं प्रसंग आ–आफ्ना कवितामा कोरेका छन् । काम भावनाको उत्कर्षको समय । वडो विचार गरेर नै समाजका अग्रणि व्यक्तित्वहरु मधुश्रावणीका लागि यो समय निर्धारित गरेका होलान् । श्रावण महिनाको कृष्णपक्षको मौना पञ्चमीदेखि शुक्ल पक्षको तृतीया तिथिसम्म यो पर्व मनाइन्छ । नव विवाहिताले चौध दिनसम्म विभिन्न विधि र शृंगारका साथ पूजा–अर्चना गरी यो पर्व मनाउँछन् । यो सम्पूर्ण अवधिमा पति पनिसँगै रहने हुनाले कोही–कोही यस पर्वलार्इं हनिमुन पनि भन्ने गरेका छन् । 

तर मेरो विचारमा यो हनिमुनको अवधि भने पक्कै होइन । महिलाहरुका लागि कठिन साधनाकै लागि हुने गरेकोेले यसलाई पर्वकै रूपमा व्याख्या गर्नु बढी प्रासंगिक हुन्छ । पन्ध्र दिनसम्म सात्विक भोजन गरेर निष्ठापूर्वक विधि विधानको पूर्ण पालना गर्दै संस्कृतिले निर्दिष्ट गरेका कर्तव्यको पालना गर्नु कुनै साधनाभन्दा एकरत्ती पनि कम मान्न सकिन्न । आफ्नो दाम्पत्य जीवनको सुरक्षाको आकांक्षा यस पर्वको विशेषता हुन्छ भने हनीमुनमा सबै थोक बिर्सेर सुख र आनन्द भोग्ने चाहना प्राथमिकतामा हुन्छ । 

यो पर्व पतिको दीर्घजीवनका लागि गरिन्छ । यसमा विधि–विधान, गीत–नाद र तेह्र दिनसम्म हुने सम्पूर्ण पूजा–अर्चना सँगै नयाँ–नयाँ कथाहरु वाचन गरेर नववधुलाई सुनाइने गरिन्छ । ती समस्त कथा शिव–पार्वती, मैना–सती वा अन्य प्रसंगको भए पनि त्यसको उद्देश्य पत्नीले आफ्नो पतिप्रति समर्पित हुनुपर्ने शिक्षा मात्र दिने गर्दछ । यो पर्वको अन्तिम दिन नवविवाहिताको घुँडामा पानको पात राखेर त्यसमाथि बल्दै गरेको बत्ती ( कपडाले बनेको) राखेर (पोल्ने) एउटा प्रमुख विधि हुन्छ । जसलाई मैथिलीमा टेमी दाग्नु भनिन्छ । यसमा घुँडामा छाला न आउञ्जेलसम्म बत्ती हटाइँदैन । उता पति महोदय पत्नीका आँखालाई आफ्ना दुवै हत्केलाले छोपेका हुन्छन् । पीडाले छटपटिएकी नवविवाहिताको दर्द सफल भविष्यको मधुर चिन्तनमा विलिन भएर जान्छ । वास्तवमा मधुश्रावणी पर्वको उत्कर्ष पनि यही हो । कसै कसैले नवविवाहिताका लागि यो अग्नि परीक्षा पनि भएको भन्ने गर्छन् ।

यसै अवसरका लागि गाइने एउटा गीत हेरौं:

कदलिक दल सन थर थर काँंपय 
मधुश्रावणी विधि आज ए ।

सकल शृंगार सम्हारी सजन सब 
मधुमय सकल समाजे ।

कमलनयनपर पानक पट दय 
नागर जखन हे झाँपय ।

बद्ध करि हाथ कमलकर बाती
देखि सगर तन झाँपय ।

आजु सुहागिनी सहमिलि बइसल 
मुख किए पडल उदासे ।

कुमरी नयन सं नीर बहाबथी
गाइनी गाबथी गीते ।

बड अजगुत थिक मधुश्रावणी विधि 
परम कठिन इहो रीते ।

(राहुल सांकृतायन (सं): हिन्दू साहित्यका बृहत् इतिहास, षोडस भाग, खण्ड १, अध्याय ३, गागरी प्रचारिणी सभा, काशि,२०१७ वि.सं.,पृ.२०–२१

यस गीतमा नववधुलाई असाध्यै पीडा भै रहेको बखान गरिएको छ । उनी बाध्यतावश यो विधि गरिरहेकी प्रत्यक्ष देख्दा पनि थाहा हुन्छ । प्रायः यस कारण पनि महिला हिंसाविरुद्ध आवाज उठाउनेहरु यस प्रक्रियालाई महिलाहरुको व्यक्तिगत स्वतन्त्रताको हनन पनि भनेका छन् । राम राज्यमा सीताको अग्नि परीक्षासँग दाँज्ने परम्परावादीहरु समाजमा नभएका हैनन् । तर एउटी कुमारी कन्याको बिहे हुँदा उमंग उल्लासको ठाउँमा टेमी दाग्नेजस्ता विधिको सामना गर्नु पर्दा आत्तिनु स्वाभाविक नै होला । र आज यो विधिलाई सामान्यीकरण गरिँदैछ । मात्र विधिकै रुपमा प्रयोग हुन थालेको पनि भनिएको छ । 

के छ विधि ?   

नवविवाहिताको पहिलो साउन महिनामा गरिने यो पर्वको तैयारी पहिलेदेखि नै हुने गर्दछ । मधुश्रावणी गर्दा त्यसमा प्रयुक्त हुने लगभग सबै सामग्री विवाहिताको ससुराली पक्षबाट भारको रूपमा आएका हुन्छन् । वस्त्र, आभूषण, चुडी, शृंगार र अन्य पूजा सामग्री पनि । 

यस पर्वका लागि धेरै सामग्रीको व्यवस्थापन गर्नु पर्दछ । जस्तैः अरिपन, पुरहर पातिल, नैवेद्य, नववस्त्र, धूपदीप, गंगाजल, मैनाको पत्ता, केराको पत्ता, सिन्दुर, चामलको पीठो (पीठार) विभिन्न किसिमका पूmलहरु आदि । यी सामग्रीहरुको प्रयोग प्रायः जसो प्रत्येक दिन हुन्छ । सबै व्रतालुहरु समूहमा निष्ठापूर्वक संकलन गरिने पूmलहरु टिप्छन्, । खान–पीनमा सादापन हुन्छ । विधि व्यवहार सचेत भै सम्पन्न गर्दछन् । तेह्रौं दिन सम्म पूजा, अर्चना, होमादि विधिसँगै परम्परागत विधिविधानको पालना गरी मनाइने पर्वलाई मात्र पती–पत्नी एक ठाउँमा भएर नै ‘हनिमुन’ को संज्ञा दिएर यसको महत्वलाई कम गर्ने प्रयास गरिनु सर्वथा गलत हो । 

पहिलो दिन (पञ्चमी तिथि) मनसा (विषहरी) र सतीको मूर्ति प्रतिष्ठित गरिन्छ । नवदम्पतीको दाहिने बगलमा नाग–नागिनीको अरिपन बनाइन्छ । अरिपन माथि केराको पात राखेर नाग दम्पतीको पूजा गरिन्छ । त्यसपछि साउन वदी पञ्चमी जसलाई मौना पञ्चमी भनिन्छ । साउन सुदी तीज अथवा तृतीयासम्म व्रतालु पूजा गर्दछिन् र कथा सुन्ने गर्दछिन् । वास्तवमा वर्षात्को महिनामा सर्पको बिगबिगी बढ्ने हुँदा त्यसलाई साम्य पार्न अथवा त्यसको प्रकोपबाट दम्पतीको रक्षाका लागि नागपूजाको प्रारम्भ भएको हुनु पर्दछ । कथाहरुमा पनि त्रीदेवकै गुणगान र भक्तिदर्शन बढी हुने गरेकोले उनीहरुको पनि लोक आराधना यस पूजा प्रक्रियाबाट गरिन्छ । यसलाई  हाम्रो परम्परागत जनविश्वास र पारिवारिक संस्कारगत अवधारणामा आधारित अनुष्ठानको रूपमा लिनु पर्दछ । 

पूजाको अवधिभरि अर्थात् तेह्रौं दिनसम्म प्रत्येक दिन कथा भन्ने र नवविवाहिताले कथा सुन्ने परम्परा छ । यसमा प्रमुख शिव पार्वती भए पनि ‘विहुला–मनसा’ मंगला–गौडी, विषहरा, पृथ्वी– जन्म, सीता पतिव्रता, उमा–पार्वती, गंगा–गौडी जन्म, कामदहन, लीलीजन्म, वालवसन्त र राजा श्रीकरकको कथा छन् । प्रत्येक बिहान पूजा हुन्छ, कथा हुन्छ र साँझ पख पूmल तोड्ने ( जसलाई मिथिलामा जुहीजाही लोढब भनिन्छ) काम गरिन्छ र बाटोमा आउँदा–जाँदा विषहरा र गौरीका गीतहरु गाइन्छन् । 

अनेकौं जन्ममा शिवलाई नै पतिको रुपमा प्राप्त गर्ने पतिब्रता र समर्पिता गौरीको पूजा–अर्चना गर्नुको पछाडि पनि पतिप्रतिको समर्पण कायम रहिरहने भावना नै हुनु पर्दछ । र यो पूजा विधि प्रारम्भ हुँदा घरबाहिर, जंगल, खेत, झाडी, घाँसहरुकै बाहुल्यता रहने गरेको र मानवजीवनको त्यहाँ बास गर्ने विषालु सर्पबाट खतरा रहेकोमा नागपूजाको आरम्भ भएको इतिहासलाई ध्यानमा राख्दै मधुश्रावणीको यो तेह्रौ दिनको अनुष्ठानमा आफ्नो पतिको रक्षा त्यस्ता जीवबाट सधैँ भइरहोस् भावनाले गर्दा नै नागपूजाको बाहुल्यता यस पर्वमा देखिन्छ । यसले हाम्रो सांस्कृतिक पहिचान र मान्यतालाई कायम राखेको प्रस्ट हुन्छ । 

श्रावण शुल्क तृतीयाका दिन वास्तविक मधुश्रावणीको महत्वपूर्ण विधि सम्पन्न हुन्छ । विगत बाह्रांै दिनसम्मका विभिन्न अनुष्ठान र विधि व्यवहारबाट दम्पतीलाई यसै दिनका लागि मानसिक रुपमा तयार गरिएको हुन्छ । तृतियामा पुनः सिन्दुरदान हुन्छ । अर्थात् यो तेस्रो सिन्दुरदान हो । पहिलो बिहेको बखत । दोस्रो चतुर्थीमा र तेस्रो मधुश्रावणीमा । ब्राह्मण, कायस्थ र केही वैश्य जातिमा हुने यो पर्वमा महिलालाई तीन–तीन चोटी सिन्दुरदान किन गरिन्छ – यो वास्तवमा कौतुहलको विषय हो । यस बारेमा विद्वत्वर्ग बोल्न चाहँदैनन् तर यसभित्र पुरुष प्रधान समाजका अगुवाहरुले तयार पारेका विधि–व्यवहारबाट पक्कै पनि गुढ निहितार्थ लुकेको हुनु पर्दछ । 

एकजना मैथिल विद्वानले मधुश्रावणी पर्र्व मैथिल ललनाहरुको समर्पण र सहिष्णुताका साथै आफ्नो सांस्कृतिक परम्पराप्रति निष्ठाको प्रतीक हो भनि परिभाषित गरेका छन् । 

संक्षिप्तमा भन्ने हो भने श्रावण कृष्ण–पक्ष पञ्चमीदेखि शुक्ल पक्ष तृतीयासम्म नाग र गौरी शंकरको पूजा गरिन्छ । प्रत्येक दिन पूजा–पाठ पछि पाँच बिनी (फकडा–कविता) तीन–तीन चोटी सुनेर कथा सुनिन्छ । 

पर्वमा प्रयोग हुने विधि व्यवहारबाट यसको वैज्ञानिक प्रभावबाट पनि इन्कार गर्न सकिन्न । वातावरणको शुद्धीकरणमा सहायक सर्प र वृक्षको पूजा गरिनु, तेस्रो दिनमा गुलर (एक फल विशेष ) को रूखको पूजा गर्नु । गुलरको सुकेको लकडी, १०८ फल र नवग्रह लकडीबाट व्रतालुद्वारा हवन गर्ने चलन छ । 

गुलरमा निकै पौष्टिकता, अनेक औषधिको गुण हुन्छ । यसको प्रयोग स्वस्थता र पर्यावरणीय स्वच्छताका लागि गरिएको पनि हुन सक्छ । यस पर्वमा अरिपनको विविध प्रयोग आकर्षक र आध्यात्मिक तुष्टिको परिणाम पनि हो । मधुश्रावणीमा सिन्दुर–पीठार (चामलको लेदो) युक्त अरिपन, पुरहर पातिलको अपरिपन, नवग्रह र गौरीका लागि अरिपनको प्रयोग हुन्छ । 

तान्त्रिक प्रभाव समेटिएका विभिन्न आकार–प्रकारका अरिपनहरु मिथिलामा प्राचीन समयदेखि नै पारिवारिक शान्ति र सुखको लागि प्रयोग हुँदै आइरहेको छ । 

तेह्रौं दिनको विधि व्यवहार, पूजा–अर्चना पछि चौधो दिनमा ‘उद्यापन’ अर्थात् समापन गरिन्छ । पूर्ण शृंगार गरिएकी नवविवाहितालाई आजकै दिन तेस्रो सिन्दुरदान दिइन्छ  । पहिला पाँचांै दिनमा नै तीन, छ अथवा नौजना कुमारी कन्यालाई खिर–पुडी, लड्डु भोजन गराउने चलन थियो अब यो अन्तिम दिन सरेको भनिन्छ । आज पछि विगत पन्ध्र दिनदेखि अरबा–अरबाइन र विना नूनको सात्विक भोजन गर्दै आएकी ब्रतालु नवविवाहिता अब उप्रान्त चाहेको भोजन गर्न थाल्दछिन । 

यो पर्वमा महिला प्रमुखता रहँदै आएको छ । ब्रती महिला, कथा वाचिका महिला, विधकरी महिला, निमन्त्रणा दिने महिला, आउने महिला, खाने पनि महिला । 

निष्कर्षतः

केही खास जातमा मात्र सीमित यो पर्व मधुश्रावणी वास्तवमा यसको तेह्रांै दिनको विधि घुँडामा बल्दै गरेको बत्ती टाँसेर छाला उप्काउने कामलाई छोडी दियो भने यसका अन्य सबै पूजा–विधि– सामाजिक संरचनामा परम्परागत विश्वास र संस्कारको अभिवृद्धि गर्न, दाम्पत्य जीवनलाई अझ प्रभावशाली बनाउन सबै जात–जातिले स्वीकार गरी अपनाउन थाले भने यसले राम्रै गर्ला । यसका अनेकाैं पक्ष अति राम्रो–अनुकरणीय छन् । मात्र कतै यदि स्त्रीलाई पुरुषको अस्तित्व रक्षार्थ मात्र प्रयोगको भावना निहित राखिएको छ भने त्यस्ता भावनालाई त्याग गर्दै पति–पत्नी दुवै आफ्ना आराध्यदेवहरुको विधि–सम्मत रूपमा यज्ञ–होम आदिद्वारा पर्यावरणीय संरक्षण साथ पूजा–अर्चना गरी सुखी जीवनको कल्पना गर्दछन् भने यसमा नराम्रो के छ र । मधुश्रावणी पर्व समाजका लागि दिशानिर्देश र आत्ममूल्यांकनको अवसर पनि प्रदान गर्दछ । 

मैथिल प्रेम दिवस 

सुरेश यादव (जनकपुरधाम) 

सखी फूल लोढ चलु फुलबरिया
सीताके सँग सहेलिया, 
कोई बेली फूल लोढे चमेली फूल लोढे
कोई लोढेला चम्पाके कलिया, सीताके सँग सहेलिया...

साउन महिनाको रमझम प्रकृतिमा विशेष रूपले सजिएर निस्कने नवविवाहिता तथा तिनका अविवाहिता किशोरीहरु रंगीचंगी बनेर फूलबारीमा पुग्दा मिथिला क्षेत्रमा यस्तै गीत गुञ्जिरहेको हुन्छ । 

साउन महिना । वर्षा ऋतुको मध्यावधि । दिनदिनै आइरहने झरीले त्यसै मौसम रोमाञ्चकारी हुन्छ । सडक किनारको झाडीदेखि फुलबारीसम्म वनस्पतिले स्वर्गीय आनन्द लिइरहेको हुन्छ । चारैतिर, जता हे-यो उता हरियै हरियो । साथमा प्रकृतिको मगमग वासना फैलाउने रंगीबिरंगी फूलहरु कसको पो मन प्रफूल्लित नहोला !

गर्मीयाममा खलखल पसिना र जाडोमा शीतलहरको प्रकोपले प्रतिकूल मौसमले छोपिरहने मिथिलाञ्चल क्षेत्रमा साउन महिना बालकदेखि वृद्धसम्मका लागि अतिप्रिय मानिन्छ । किशोर–किशोरी त्यसमा विशेष गरेर पनि भर्खरै वैवाहिक बन्धनमा बाँधिएका जोडीहरुका लागि त यो मासभन्दा रमाइलो क्षण हुनै सक्दैन । 

मिथिला (नेपालको मध्यपूर्वी तराई र सीमावर्ती भारतीय भू–भाग) क्षेत्रका नवविवाहिता बेहुलीहरुका लागि साउन महिना जीवनकै मुख्य मानिन्छ । परापूर्वकालदेखि मनाइँदै आएको मधुश्रावणी पर्व मिथिलाका हरेक 
महिलाका लागि अविस्मरणीय र अभूतपूर्व आनन्द प्रवाह गर्ने उत्सव हो । बिहे भएपछि आउने पहिलो साउन महिनामा जीवनमै एकपटक मात्र मनाइने यो पर्वमा अविवाहिताको पर्खाइ हुन्छ भने हरेक विवाहिता महिलाका लागि अविष्मरणीय क्षणको रुपमा आत्मामा बसेको हुन्छ । 

हरेक बिहान घर–घरबाट मधुर गीतको स्वर गुञ्जन थाल्नु, साँझ सोह्र शृंगारमा सजिएका मिथिलाका महिलाहरुमा हुने चहलपहल, साँझ फुलबारी र बिहान मठमन्दिरमा इन्द्रलोकबाट आएका परीझैं रंगीबिरंगी किशोरी तथा बेहुलीहरुले भरिभराउ । यो दृश्य मधुश्रावणी पर्वको हो । 

मिथिलाका ब्राह्मण, कायस्थ तथा सोनार जातिका नवविवाहिताले श्रावण कृष्ण पञ्चमीदेखि शुक्ल तृतीयासम्म यो पर्व धुमधामका साथ मनाउँछन् । असार अन्तिमदेखि सुरु यो पर्व साउन ११ गतेसम्म चल्ने गर्छ । तेह्र दिनसम्म चल्ने यस पर्वको सबभन्दा रमाइलो पक्ष ‘फूललोढव’ अर्थात् फूल संकलन गर्नु हो ।

मधुर गीत गाउँदै घरबाट निस्किने मैथिल किशोरी तथा नवविवाहिता बेहुलीहरुको टोली नजिकैको फूलबारी पुगेर फूल, पात र बुट्यान संकलन गर्छन् । ती फूलपातलाई आकर्षक ढंगले डालीमा सजाउँछन् । संकलित फूलपातीबाटै बिहान मठमन्दिरमा पूजा गरिने चलन रहेको छ । यस क्रममा नवविवाहिता जोडीलाई विषहर (सर्प) जन्म, बेहुलाको कथा, मंगला गौरीको कथा, पृथ्वी जन्म, समुद्र मन्थन, सतीको कथा, महादेव परिवारको कथा, गौरी जन्म, गौरी तपस्या, गौरी विवाह, बाल वसन्त, गणेश जन्म आदिका कथा श्रवण गराइन्छ । यो पर्वमा महादेव र गौरीको विशेष पूजा हुन्छ भने घरगृहस्थीका देउताको रूपमा चिनिने नाग, सूर्य, कुशमावती, पिंगला, लिली, चन्द्रमा, गणेश आदिको पूजा र यिनीहरूको महत्वका कथा सुनाइन्छ । 

पछिल्लो केही वर्षयता बदलिँदो सामाजिक परिवेश र महिला अधिकारवादीहरुको दबाबको कारण परम्परागत विधिपूर्वक मनाइने मधुश्रावणी पर्वमा निकै परिवर्तन आएको महिला पत्रकार मनिका झा बताउँछिन् ।

किशोरावस्थादेखि आफूले सुनेको मधुश्रावणी र केही वर्ष अगाडि आफैँ नवविवाहिताको रुपमा मनाएको मधुश्रावणी पर्वमा निकै फरकपन महसुस गरेको अनुभव उनको छ । 

‘परम्पराकालीन समाजको परिवेशमा आधारित यो पर्वको उद्देश्य र विधि दुवै पवित्र छ’ मनिका भन्छिन्, ‘अहिले मधुश्रावणी पर्वमा न त्यो विधि अपनाइन्छ न पर्वको महत्व बुझ्छन् ।’ आधुनिक समाजमा मधुश्रावणी पर्वको हरेक विधि पालना गर्न कसैलाई फुर्सद नभएको उल्लेख गर्दै झाले भनिन्, ‘महिला अधिकारवादीहरुको हस्तक्षेपको कारण पनि मधुश्रावणी पर्वको मौलिकता लुप्त हुन थालेको छ ।’

झाका अनुसार मधुश्रावणी पर्वको मुख्य रहस्य ‘टेमी’ हो । बेहुलाले बेहुलीको घुँडामा बलिरहेको दीपले पोलेर टेमी दिने मधुश्रावणी पर्वको मुख्य विधि हो । महिला अधिकारकर्मीहरुले टेमीको नाउँमा पुरुषवादी समाजलाई प्रबद्र्धन गर्ने काम भइरहेको भन्दै विरोध जनाउन थालेपछि उक्त विधिमा परिमार्जन गरिएको छ । पहिला बलिरहेको दियोले पोल्ने ठाउँमा बेहुलाले चन्दन लगाइदिने परम्पराको सुरुवात भएको उनले बताइन् । 

खासमा मधुश्रावणी पर्व दुई अपरिचित युवा, युवतीबीच विवाहपछि सम्बन्ध स्थापित गर्ने माध्यम हो । त्यसबेला परिवारका अभिभावकले बुहारी, ज्वाइँको छनोट गर्ने परम्परा थियो । बिहे अघि केटा र केटीले एकअर्काको अनुहारसम्म देखेका हुँदैनथे । निश्चित सामाजिक तथा धार्मिक विधिविधान अनुसार वैवाहिक समारोह सम्पन्न गरिन्थ्यो । बिहेपछि आउने पहिलो साउन महिनामा मधुश्रावणी पर्व गर्नुपर्ने चलन सोही संस्कृतिअनुसार सुरु भएको मैथिली संस्कृतिका जानकार पवन झा बताउँछन् । 

अत्यधिक गर्मी हुने तराई मधेसमा दैनिकजसो वर्षा भइरहने साउन महिनालाई प्रणयात्मक मौसम मानिन्छ । उक्त मौसममा १५ दिनसम्म बेहुलाले ससुरालीमै बसेर नवविवाहिता श्रीमतीसँग फूल टिप्न बगंैचामा जाने, रमाइलो गर्ने र सँगै बसेर घरगृहस्थी सञ्चालन गर्नेसम्बन्धी कथा सुन्ने विधि नै थियो । तर, पछिल्लो समय आधुनिक समाजले आफुखुसी पर्वको विधि र परम्परालाई परिमार्जन गर्दै मधुश्रावणी पर्वको मौलिकता नष्ट गरेको पत्रकार झाले बताए । 

‘अब कुनै पनि केटाकेटी बिहेको कुरा नछिनिँदै सूचना प्रविधिको माध्यमले एकअर्कासँग राम्ररी परिचित भइहाल्छन् । पहिलाको जस्तो कुनै केटा मान्छेलाई पनि १५ दिनसम्म ससुरालीमा बस्ने फुर्सद छैन । यस्तै कारणहरुले पर्वको मौलिकता हराउन थालेको छ,’ उनले भने । त्यस्तै, मधुश्रावणी पर्व मान्न बेहुलीका लागि तिनको ससुरालीबाट एक सेट कपडा आउँथ्यो । सोही कपडा लगाएर १५ दिनसम्म फुल टिप्न जाने र सम्पूर्ण पूजा सक्नुपर्ने विधि थियो । अहिले दिनकै दुई तीनपटक लुगा फेरेर फेसनको रुपमा यो पर्वमा सहभागी हुनेगरेको अनुभव झाको छ । 

समाजको बदलिँदो परिवेशअनुसार पर्वको परम्परागत विधिमा पनि परिमार्जन हुनुलाई स्वाभाविक ठान्ने झाले आधुनिकताको नाउँमा उद्दण्डता बढिरहेको प्रति चिन्ता व्यक्त गरे । समाजका अगुवा र जानकारहरुको सल्लाहबेगर तन्नेरी वर्गमा देखिएको छाडापन नियन्त्रण गर्न सामाजिक रुपमै चेतनामूलक सन्देश प्रवाह हुनुपर्ने उनको सुझाव छ ।

मिथिलाञ्चलको प्रेमदिवस : मधुश्रावणी

हरि पाण्डेय

नेपालका मध्यतराईदेखि भारतको विहारका ठूलो भूभागमा फैलिएको मैथिल संस्कृति भाषा, वेशभूषा, चालचलन, रीतिरिवाज, कलाकौशल, चाडपर्व र जीवनशैलीका दृष्टिले सम्पन्न छ । यही मैथिल संस्कृतिका सांस्कृतिक सम्पदामध्ये मधुश्रावणी पनि एक हो । श्रावण–कृष्णपञ्चमीदेखि श्रावण–शुक्लतृतीयासम्मका तेह्र दिनमा नवविवाहिता मैथिल युवतीहरूले निष्ठाका साथ सम्पन्न गर्ने यो व्रत भावनात्मक प्रेम, अटल सौभाग्य र सुखद दाम्पत्यको कामना गर्ने अवसरका रूपमा प्रचलित छ । मैथिल समाजमा यो पर्व विवाह संस्कारको पूरकका रूपमा मनाइन्छ । 

‘मधुश्रावणी’को अर्थ श्रावण महिनाको सुखद तिथि भन्ने हो । मधु भनेको मधुर, सुखद वा आनन्दयुक्त हो र श्रावणी भनेको श्रावण महिनाको तिथि हो । खास गरी श्रवण नक्षत्रयुक्त पूर्णिमा अर्थात् श्रावण–शुक्लपूर्णिमालाई श्रावणी भनिन्छ । श्रावण–शुक्लपक्षका खास दिनमा विशेष विधिपूर्वक उद्यापन गरिने भएकाले तेह्र दिनसम्म गरिने यस व्रतलाई पनि श्रावणी अर्थात् मधुश्रावणी भन्ने गरिएको हो । श्रावणका दिनमा नवदम्पतीले बधूका अभिभावकका सान्निध्यमा रहेर गौरीशङ्करको पूजा गर्दै प्रगाढ प्रेम र चिरसौभाग्यको कामना गर्ने हुनाले मधुश्रावणी अर्थयुक्त बनेको देखिन्छ । 

मधुश्रावणी व्रत प्रत्येक वर्ष श्रावण–कृष्णपञ्चमीका दिन आरम्भ हुन्छ । यो व्रत विवाहिता युवतीले विवाहको पहिलो वर्ष आफ्ना माइतीमा बसेर गर्दछन् । व्रत गर्नका लागि त्यस वर्ष विवाह भएकी युवती पतिलाई साथ लिएर माइतीमा जान्छिन् । व्रत माइतीमा बसेर गरिने भए तापनि व्रतअवधिभर माइतीको खर्च गरेमा त्यो सफल नहुने मान्यता रहेकाले व्रतालुले पतिकै घरबाट आवश्यक खर्च लैजानुपर्छ । खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा र पूजासामग्रीसमेत पतिको घरबाट पु-याइन्छ । 

व्रत सुरु गर्ने दिन शौच–स्नान गरेर घरभित्रै पूजास्थल बनाई त्यहाँ पिठो, गोबर, अबिर, सिन्दूर, चन्दन आदिले दियो, कलश, गौरी, नागनागिनी, सूर्य, चन्द्र, नवग्रह, कुसुमावती, पिङ्गला र षष्ठिकाको स्थापनाका लागि अरिपन तयार गरिन्छ । व्रतालु युवती रातो पहिरनमा पतिका साथ पूर्व फर्केर पूजाका लागि बस्छिन् । दिदीबहिनी र साथीसहेलीले सौभाग्यको कामना गर्दै गौरीको प्रार्थनापरक मङ्गलगान गर्दछन् र व्रतालु युवतीले स्थापित देवीदेवताको विधिवत् पूजा गर्छिन् । मधुश्रावणीको पूजा गर्दा अघिल्लो दिन टिपेका बासी फूल प्रयोग गर्ने परम्परा छ भने पूजामा राता पूmल मात्र प्रयोग गरिन्छ । पूजा सकिएपछि महिला पुरोहितले मिथिलाञ्चलमा प्रचलित लोककथा र पौराणिक कथामिश्रित मधुश्रावणी व्रतकथा सुनाउँछिन् । मधुश्रावणी व्रतकथाका छापा पुस्तक पाइने भए पनि ग्रामीण समाजमा कथावाचिकाले श्रुतिपरम्पराका आधारमा मौखिकरूपमा नै कथा सुनाउने प्रचलन रहेको छ । यसरी कथा सुनाउने क्रम व्रतउद्यापनको अघिल्लो दिनसम्म चल्छ । यसमा नागपञ्चमीको कथादेखि राजा श्रीकरको कथासम्म प्रत्येक दिन अलग–अलग कथा सुन्ने–सुनाउने गरिन्छ । कथा सकिएपछि पुष्पाञ्जली लिएर पूजित देवदेवीलाई नमस्कार गरेपछि नित्यपूजा सकिन्छ । पूजापछि कुमारी–भोजन गराइन्छ र कथावाचिकालाई यथाशक्ति दक्षिणा दिइन्छ । साँझ व्रतालु युवतीका दिदीबहिनी, साथीसहेली जम्मा भएर भोलिको पूजाका लागि राता पूmल खोज्न जान्छन् । साँझ महिलाहरू जम्मा भएर देवीदेवताका स्तुतिपरक गाथा गाउने गर्दछन् । यही रीतले बाह्र दिनसम्म नित्य प्रातः कालमा पूजा गरी कथा श्रवण गरिन्छ । कुमारी–भोजन भने पहिलो दिन र अन्तिम दिन मात्र गराइन्छ । व्रतालुहरू व्रतअवधिभर एक छाक खाएर नियमपूर्वक बस्छन् । 

श्रावण–शुक्लतृतीयाका दिन स्थापित देवीदेवताकोे विधिपूर्वक पूजा गरी व्रत उद्यापन गरिन्छ । व्रतका अरू दिनमा पति उपस्थित हुन नसके पनि अन्तिम दिनमा भने पतिको उपस्थिति अनिवार्य हुन्छ । पूजा सकिएपछि पतिले व्रतालु पत्नीका तिघ्रामा पानको पात राखेर त्यसमाथि बत्तीले डाम्नुपर्ने रोचक परम्परा यहाँ रहेको छ । व्रतको पूर्णताका लागि व्रतालु युवतीलाई सधवा महिलाले सौभाग्यटीका र पतिले सिन्दूर लगाइदिन्छन् । यही सिन्दूर ग्रहणपछि मात्र विवाहको विधि पूरा भएको मानिन्छ । पूजासमाप्तिपछि कुमारीभोजन गराइन्छ भने केटा (ज्वाइँ) का तर्पmबाट केटीका माइतीलाई यथाशक्य कपडा उपहार दिइन्छ । यसरी मधुपर्कदेखि मधुश्रावणीसम्मका वैवाहिक विधिले अटल सौभाग्य प्राप्त हुन्छ भन्ने मान्यता मिथिलासंस्कृतिमा रहेको छ । 

मधुश्रावणी धार्मिक मात्र नभएर मिथिलाञ्चलको सांस्कृतिक चाड पनि हो । यसबेला व्रतालु युवतीका दिदीबहिनी र साथीसहेलीले मैथिल लोकगीत र लोकगाथा गाएर मनोरञ्जन गर्दछन् । गीत र मनोरञ्जनका माध्यमले नवदम्पतीमा एकअर्काप्रति अनुरागको अभिवृद्धि गर्ने अवसरका रूपमा पनि यस व्रतलाई लिने गरिन्छ । रातो पहिरन, राता पूmल र राता अक्षतालाई सौभाग्य, सतीत्व र प्रेमको उद्बोधकका रूपमा मान्नु नेपालका पर्वतीय र मैथिल नारीसमाजका साझा सांस्कृतिक विशेषता हुन् । 

मधुश्रावणीको सन्दर्भ शिवपार्वतीसँग जोडिएको छ । हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी तपस्या गरेको समय यही मधुश्रावणी हो भन्ने जनविश्वास मैथिल समाजमा रहेको छ । पर्वते महिलाले पुसमाघमा गर्ने स्वस्थानी व्रतको कथा र मैथिल नारीले श्रावणमा गर्ने मधुश्रावणीका कथाहरू मिल्दाजुल्दा छन् । स्वस्थानी व्रतकथामा महादेवको विवाह र महादेवपरिवारसम्बन्धी कथाले प्रमुखता पाएजस्तै मधुश्रावणी व्रतकथामा पनि महादेव र गौरीको विवाह, उनीहरूका लीला, गङ्गा, गणेश, कार्तिकेयको जन्म र उनीहरूका चरित्र नै कथाका प्रमुख सन्दर्भ बनेका छन् । श्रावण र पौष समय फरक भए पनि सौभाग्यका लागि शिवशक्तिको पूजन गर्नुले एकै उद्देश्यका लागि उनै आस्थाकेन्द्रको आराधना गर्नु पनि नेपाली नारीहरूको साझा आस्था रहेको देखिन्छ । 

नारी–पुरुषबीच सम्मान र समर्पणको भावना विकास गर्ने व्रत हो– मधुश्रावणी । जसरी नारीले आफ्ना पतिलाई सौभाग्य ठान्छन् त्यसै गरी पुरुषले पनि पत्नीलाई सौभाग्य ठान्नुपर्छ भन्ने सन्देश मधुश्रावणीले दिन्छ । यही एकात्मक भावनाको विकास गर्नु नै अर्धनारीश्वर गौरीशङ्कर र नागनागिनीको आराधना गर्नुको रहस्य पनि हो । 

नेपाली संस्कृतिमा सुखदुःख, हर्ष–विस्मात् र उल्लास–उमङ्ग साटासाट गर्ने अवसरहरू प्रशस्त छन् । यस्तै अवसरमध्ये मधुश्रावणी पनि एक हो । नवविवाहिता जोडीले परस्परमा आफ्ना भावना साटासाट गर्ने अवसरका रूपमा यस चाडलाई लिन सकिन्छ । आज विश्वव्यापीकरणले जति प्रभाव पारे पनि मैथिल युवतीहरू भने आफ्ना परम्परागत धरोहरलाई जीवन्त राख्ने र तिनैका माध्यमले जीवनलाई सार्थक पार्ने कुरामा अविचलित छन् । भ्यालेन्टाइन डेको संस्कृतिलाई पछ्याउन खोज्ने नयाँ पुस्ताले मिथिलासंस्कृतिबाट प्रेरणा लिएर आफ्ना संस्कृतिभित्रका मधुश्रावणीजस्ता अवसरको संरक्षण गर्नु र तिनका अन्तर्वस्तुको मनन गर्नु श्रेयस्कर हुनेछ । 

हरेराम जोशी 

साउन महिना हिन्दूहरुका लागि महत्वपूर्ण महिना हो । यो महिनामा विशेष गरी महादेव शिवको पूजा गर्ने भएर पनि बढी महत्वपूर्ण भएको हो । साउन महिना ब्राह्मण, क्षेत्रीले जस्तै नेवारी समुदायले पनि धुमधामका साथ मनाउँछन्, त्यस्तै मधेसी समुदायले बोलबम गएर मनाउँछन् भने नेवारी समुदायले घरमै बसेर मनाउँछन् । 

आजभन्दा अढाइ वर्ष पहिले मल्लकालीन समयदेखि नै यो महिनालाई यसरी नै मनाउने चलन आएको हो । सबैभन्दा धेरै पानी पर्ने मौसम भएकाले पनि यो महिना धार्मिक तथा प्राकृतिक रुपमा उत्तिकै महत्वपूर्ण छ । यो महिनामा गोसाइकुण्ड तथा जलेश्वर कुण्डमा मेला लाग्ने गर्छ । यस महिनामा तर्पण दिने कार्य पनि गरिन्छ सबै चाडपर्वहरु साउन महिना पछि सुरु हुन्छन् । 

नेवारी समुदायमा आफ्नै तरिकाको संस्कृति नभएको होइन अहिले काठमाडौंको प्रत्येक घरमा नेवारी समुदायका मानिसभन्दा ब्राह्मण क्षेत्री समुदायका मानिस धेरै बस्छन् त्यसले गर्दा उनीहरुले पनि ब्राह्मणले जसरी मनाउन थालेका छन् । बिस्तारै साउने पानी बार्ने भन्ने चलन हराउँदै गएको छ । यसो हुनुमा अहिलेको पुस्ता अलि आधुनिकतातर्फ गइरहेको छ । संस्कृतिहरु सबै जातजातिको केही मात्रामा लोप भएका छन् र कर्मकाण्डी हिसाबले मनाउने तरिका भने बढेको छ ।  








यसमा तपाईको मत

अन्य समाचार

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad