६ वैशाख २०८१ बिहीबार
अन्य

उपयोग गरौँ ऊर्जाशील युवा

युवा भन्नासाथ हामी उमेरको आधार लिन्छौँ । नेपाली समाजमा १५ देखि ५० वर्ष उमेर समूह युवाको परिभाषामा राख्ने गरिएको छ । सामान्यतः समाजमा युवा भनेको निश्चित उमेर समूहको जनसंख्यालाई बुझाउँछ । त्यस आधारमा हामीकहाँ युवाहरूको बाहुल्य छ । २०६८ को जनसंख्यालाई आधार मान्दा कुल जनसंख्याको आधा १५ देखि ५० वर्ष उमेर समूहका नागरिक छन् । यस आधारमा हामी युवाहरूले सम्पन्न छौं । युवा भनेको काम गर्ने आँट, उत्साह भएको, चुनौतीबाट पछि नहट्ने स्वभावजन्य नागरिक हो,  युवा आफैँमा ऊर्जा हो । उत्साह, ऊर्जा र चुनौती झेल्न पछि नहट्ने पुस्ताले सुसम्पन्न हुनु भनेको नेपालका लागि अवसर हो । युवालाई परिचालन गरेर उनीहरूभित्र रहेको ऊर्जा, उत्साहलाई अवसरको रुपमा रुपान्तरण गर्नसक्नु अहिलेको आवश्यकता हो । स्पष्ट दृष्टिकोण सहितको युवालाई देश विकास र समृद्धिको यात्रामा लगाउन सकियो भने मुलुकको अनुहार फेर्न समय लाग्ने छैन । काम गर्न शारीरिक रुपमा सशक्त, मानसिक रुपमा उत्साही र ऊर्जाशील नागरिक कुल जनसंख्याको आधा हुनु आफैँमा सुखद् पक्ष हो । यस्तो अवस्था सबै मुलुकले सधैँ प्राप्त गर्न सक्तैनन् । अहिलेको नेपालको जनसांख्यिक स्थिति भनेको मुलुकका लागि प्रचुर अवसर हो । जापान,  युरोपियन देशहरूमा बुढाबुढीको तुलनामा बालक र युवाहरूको संख्या कम छ । हामीकहाँ अहिलेसम्मको अवस्था भनेको त्यसको विपरीत हो । युवापन कतिपय पौढ र बुढाबुढीमा पनि पाइन्छ, उनीहरूको उत्साह, ऊर्जा र लगनका कारण तर उमेर र स्वभावले युवाको दोहन मुलुकको अहिलेको प्राथमिक आवश्यकता बन्नुपर्छ। 

निश्चय नै मुलुक चलाउने राजनीतिक पार्टी र सरकारहरू युवा लक्षित योजना र कार्यक्रम ल्याउँछन् । युवालाई रचनात्मक बाटोमा परिचालित गर्ने योजनाहरू पनि अघि सार्दै आएका छन् । राजनीतिक वृत्तमा युवा मत लिन सहयोगी औजारको काममा प्रयोग गरिन्छ । र, चुनाव लगायतका प्रयोजनपछि उनीहरू बिर्सिइन्छ । अब यो मानसिकताबाट हट्नुको विकल्प हामीसँग छैन । स्पष्ट दृष्टिकोण सहितको युवा पुस्ता तयार गर्ने र उनीहरू देश विकासको मूलधारमा परिचालिन हुनसक्ने नीति, कार्यक्रम र योजनाहरू मुलुकको आवश्यकता हो । 

सरकारले यसै वर्षको बजेटमा युवालाई रोजगारी सिर्जना गर्ने विभिन्न कार्यक्रम घोषणा गरेको छ र त्यसका लागि बजेट विनियोजन गरेको छ । जस्तो प्रधानमन्त्री रोजगार कार्यक्रम जसमा ३ अर्ब १० करोड रुपैयाँ छुट्याइएको छ । विदेशबाट फर्केका युवाहरूको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने नीति ल्याइएको छ । युवालाई व्यावसायिक कृषि, सिंचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात तथा पूर्वाधारमा जोड दिने भनिएको छ । बेरोजगार जनशक्ति दर्ता र रोजगारीका अवसरको सूचना आदानप्रदान गर्न प्रदेशको सहकार्यमा रोजगार सूचना केन्द्र स्थापना गर्ने, उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा ऋण, ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने जस्ता बजेटी कार्यक्रम सार्वजनिक भएका छन् । 

हामीसँग प्रचुर युवा स्रोत छ । त्यो भनेको अवसर हो, मुलुकका लागि । तर यसको अँध्यारो पाटोबाट हामी बढी ग्रसित भएका छौँ । युवा जनसंख्याको एक तिहाई विदेशमा हात पाखुरा चलाइरहेको वास्तविकता हाम्रो सामु छ । रोजगारी वा अध्ययनका नाममा विदेश जानेहरूको लर्को रोक्ने भरपर्दो कार्यक्रमको अभाव देखिन्छ जताततै । दैनिक करिब १ हजार ५ सय युवा रोजगारीका लागि खाडी लगायतका देशहरूमा गैरहेका छन् । यतिखेर मनसुनको सिजन हो, खेतीपातीको चटारो छ तर तराईका मैदान होस् वा कर्णालीको पाखा किन नहोस् युवाहरू भारतका हरियाणा, पञ्जाबको हिलोमा ‘बाउसे’ गरिराखेको वा कालापहाडमा भारी बोकिरहेको अवस्था हाम्रा युवाहरू । नेपालका उद्योगहरू कामदारको अभाव झेल्दैछन् र किसानहरू कृषि मजदुरको समस्या बेहोर्देैछन् । पहाडका बेसी र मधेसका मैदान पर्ति बनिरहेको मुलुकको सामाजिक आर्थिक अवस्था  चिर्नसक्ने गरी युवा नीति आवश्यक छ । वार्षिक बजेटमा कार्यक्रमका बल्झी राखेर ठूलो संख्याका युवालाई परिचालित गर्न सकिँदैन । नेपालका सम्भावनाका क्षेत्र, कृषि, पर्यटन, सेवा क्षेत्र हो । भनिन्छ, बाबुआमाले आफूले चाहेको जस्तो सन्तान जन्माउन सक्तैनन्, राज्यले आफूले चाहेजस्तो नागरिक उत्पादन गर्न सक्छ । प्रत्येक वर्ष रोजगार बजारमा करिब ५ लाख युवा आउँछन् जसको एक तिहाई मात्र मुलुकभित्र खपत हुनसक्ने अहिलेको अवस्था परिवर्तन हुन आर्थिक सामाजिक कार्यक्रम र उद्यमशीलताको विकास हुनुपर्छ । परिवारले यस अंकमा युवासम्बन्धी सामग्री पेश गरेका छौं । 

साउन महिना आराध्यदेव शिवको विशेष पूजाआजा गरिने, मेहन्दी लगाउने, हरियो पँहेलो चुरा पोते र कपडा लगाउने महिना भनिन्छ । यो महिना मिथिलाको विशेष महिना हो । मिथिलाका नवविवाहिताहरूले मधुश्रावणी मनाउँछन् । साउन महिनाबाट हाम्रा चाडपर्वहरु सुरु हुन्छन् । साउन महिनासँग जोडिएका सामाजिक, धार्मिक पक्ष प्राथमिकताका साथ हामीले पेस गरेका छौँ । जीवनयात्रा, कर्पोरेट कुराकानी, अर्थ संवाद, फेसन टक, कलेज लाइफ, साहित्य र घुमफिरजस्ता नियमित स्तम्भमा विभिन्न व्यक्तित्व, विषय र स्थान पेस गरेका छौँ । सुन्दर घर, बगैँचा, फिटनेस सूत्रजस्ता उपयोगी सामग्रीले सम्पन्न परिवारको यो अंक पाठकलाई रुचिकर हुने विश्वास हामीले लिएका छौँ । 

प्रकाशित: १ भाद्र २०७५ ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App