८ वैशाख २०८१ शनिबार
अन्य

वैदेशिक रोजगारी र निःसन्तानको समस्या

सञ्जय मगर (नाम फेरिएको) अढाई वर्षको कतार बसाइपछि नेपाल आएको पनि चार महिना भैसकेको रहेछ । यस बीच दम्पतीको चाहनामा बच्चा पाउन प्रयासरत भए पनि सफलता हात नलागेको कारण एकदिन मोफसलको एक अस्पतालको निःसन्तान क्लिनिकमा सल्लाह परामर्शमा आए मगर दम्पती । जाँच पड्तालको क्रममा पुरुष पार्टनरको शुक्रकीटमा पो केही खराबी आउला कि भन्ने अपेक्षा गरिए पनि त्यसो देखिएन । उसको श्रीमतीका सबैजसो रिपोर्टहरु पनि नर्मल (सामान्य) नै देखिए । अत्यधिक गर्मीमा, लामो रुटको हेभी लोडर (गाडी) चलाउनेमा अधिक लामो समयसम्मको अण्डकोष वरिपरिको बढ्दो तापक्रमका कारण शुक्रकीटको निर्माणमा तल माथि हुन सक्थ्यो । 

पछिल्लो समय वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिमा अस्थायी रुपमा निःसन्तानको समस्या देखिनु चासोको विषय बन्न थालेको छ। वैदेशिक रोजगारीबाट फर्किएकामा ठ्याक्कै यति नै समस्या छ भनेर कुनै तथ्यांक नभए पनि निःसन्तानसम्बन्धी सेवा प्रदायकहरु (निःसन्तान विशेषज्ञ) बीचको छलफलमा अण्डकोष वरिपरिको प्रतिकूल तापक्रम, लामो समयसम्म यौनसम्पर्कको अभावमा विर्य निर्माणमा गडबडी (कतिपयले अधिक हस्तमैथुन गर्ने तथा कतिपयमा लामो समय विर्य स्खलन हुन नपाउँदा), कतिपयले वैदेशिक बसाइको क्रममा दैनिक मद्यपानको सेवन, त्यस्तै परे निद्रा लाग्ने औषधिको सेवन, कामको तनाव, लामो समय विदेशमा चिन्ता, डिप्रेसन अनि कुण्ठाको समग्र प्रभावका कारण नेपाल फर्किएलगत्तै चाहेर पनि सन्तान प्राप्तिमा समस्या भइरहेको आँकलन छ ।

त्यस्तो आँकलन गर्दै गर्दा पुरुषजन्य तथा महिलाजन्य निःसन्तानका आफ्नै कारणहरु तथा यसका उपचार नभएको पनि होइनन् । कतिपय दम्पतीमा त महिला पुरुष दुवैमा दोष हुनसक्छ । तर निःसन्तानबाट प्रभावितमध्ये करिब १० प्रतिशतमा कुनै प्रस्ट कारण देखिँदैन । र, यस्तो समूहमा सामान्य जाँच पड्तालपछिको उपचारपछि सन्तान लाभ गर्न सक्दछन् । माथि उल्लेखित मगर दम्पतीको हकमा ६ महिनाको छुट्टीमा आएका सञ्जयको बाँकी दुई महिनाभित्रै सन्तान लाभ गर्ने (अर्थात् उसको श्रीमती गर्भवती भैहाल्ने) ग्यारेन्टी भने गर्न सकिँदैन । भन्नुको तात्पर्य निःसन्तानको समस्या भएमा सन्तान लाभ गर्ने प्रक्रिया हतारको विजनेस हुन सक्दैन । निःसन्तानले प्रभावित दम्पतीमा यथेष्ट धैर्यता हुनु आवश्यक छ । आउनुहोस् अब निःसन्तानका विभिन्न प्रकार तथा यसअनुसारको सम्भावित उपचारहरु बारे विमर्श गरौं ।   

एक दुई वर्षसम्म कुनै साधन नअपनाई यौन सम्पर्क राख्दा पनि गर्भ रहेन भने निःसन्तान (बाँझोपन) मानिन्छ । आधुनिक चिकित्सा विज्ञानमा यससम्बन्धी अधिकांश समस्याको उपचार सम्भव भएका कारण बाँझोपन शब्द भन्दा निःसन्तान शब्द प्रयोग गर्नु राम्रो हुन्छ । प्राथमिक प्रकारको निःसन्तानको समस्यामा विवाह (यौनसम्पर्क) देखि नै गर्भ रहेको हुँदैन भने दोस्रो प्रकारको निःसन्तानको समस्यामा पहिल्यै कुनै किसिमको गर्भ रहिसकेको हुन्छ । 

पुरुषजन्य निःसन्तानको समस्या 

समग्रमा करिब १० प्रतिशत दम्पतीमा हुने निःसन्तानको समस्यामा ३० देखि ४० प्रतिशतमा पुरुषमा खराबी भएर हुनसक्छ । 

पुरुषजन्य निःसन्तानका कारण तथा जाँच पड्ताल

शुक्रकिट बन्ने प्रक्रियामा समस्या, बनिसकेको विर्य बाहिर आउने बाटोमा समस्या, योनीमा विर्य स्खलन हुन समस्या तथा शुक्रकिटको बनावटमा समस्या पुरुषजन्य निःसन्तानका प्रमुख कारणहरु हुन् ।

प्रभावित व्यक्तिको उमेर, विवाहित समय, पहिले विवाह गरिसकेको वा पहिले बच्चा पाउन मद्दत गरेको, धुमपान वा मद्यपान गर्ने बानी भएको सामान्य जानकारी पछि यौनरोग, हाँडे, मधुमेह, अण्डकोष वरिपरि हाल कुनै समस्या भएको वा पहिले कुनै शल्यक्रिया गरिसकेको, लामो समयसम्म तापमा बसी गर्नुपर्ने कार्यबारे जानकारी लिनुपर्दछ । यौन सम्पर्कका दौरान यौनाङ्ग उठाउन (उत्तेजित पार्न), राम्रो सँग छिराउन तथा विर्य स्खलनसम्बन्धी कुनै समस्या छ, छैन पत्ता लगाउनु पर्दछ ।

शारीरिक जाँचको क्रममा यौनाङ्गको पनि राम्ररी जाँच गर्नुपर्दछ । त्यसपछि वीर्य जाँच (सकिन्छ भने तीन दिनसम्म सहबास नगरी) गरी शुक्रकिटको संख्या, शुक्रकिटको चाल, बनावट तथा अन्य कुनै पिप वा संक्रमण छ, छैन थाहा पाउनु पर्दछ । 

कतिपय पुरुष मानिसको वीर्यको सामान्य जाँचपछि रगतमा अन्य हर्मोन (शुक्रकिट उत्पादन तथा परिपक्व बनाउन मद्दत गर्ने) सम्बन्धी जाँच, अण्डकोष तथा वरिपरिको भिडियो एक्सरे, अण्डाशयबाट थोरै मासु निकालेर गरिने जाँच (बायोप्सी) वा सियो हालेर गरिने कोषको जाँच एवं वंशाणु अंश बारे जाँच गर्नुपर्ने हुनसक्छ ।

विश्व स्वास्थ्य संगठनअनुसार स्वस्थ विर्यका आधारहरु 

वीर्यको मात्रा २ मिलिलिटरभन्दा बढी
शुक्रकिटको संख्या कम्तीमा २ करोड प्रतिमिलि
शुक्रकिटको चाल ५० प्रतिशतभन्दा बढी सक्रिय प्रकारको
शुक्रकिटको बनावट ३० प्रतिशतभन्दा बढी सामान्य प्रकारको
कुनै पिप वा श्वेत रक्तकोष नभएको तथा अन्य कुनै संक्रमणको शंका नरहेको हुनुपर्दछ ।

पुरुषजन्य निःसन्तानको उपचार

पोषिलो खाना खाने, शारीरिक तौल नियन्त्रणमा राख्ने, धूमपान मद्यपान त्याग्नुका साथै यौनाङ्ग वरिपरि बढ्ता न्यानो हुने गरी वा तातो बनाउने कसिलो कट्टु लगाउनु हुँदैन । दिनहुँ पटकपटक यौन सम्पर्क राख्दा वीर्यको गुणस्तर घट्ने हुनाले निःसन्तानको समस्या भएकोमा मासिक श्रावको उर्वरा समय ख्याल राखी मात्र शारीरिक सम्पर्क राख्नुपर्दछ । सम्बन्धित चिकित्सकबाट यससम्बन्धी प्रस्ट जानकारी पाउन सकिन्छ । मासिक श्रावको उर्वरा समय ठ्याक्कै थाहा पाउन आवश्यक परे आफ्नो कोठाको भित्तेपात्रो (क्यालेण्डर) मै चिनो लगाइ राख्नुुपर्दछ । भिटामिन ई, सी तथा बी १२, फोलिक एसिडयुक्त खानेकुराले शुक्रकिट बन्न मद्दत गर्दछ ।

पुरुषको शरीरमा रहेको हर्मोनको उतारचढावको कारण शुक्रकिट उत्पादनसम्बन्धी गम्भीर समस्याको व्यवस्थापन उचित तवरले गर्नुपर्दछ । जनेन्द्रिय तथा वीर्यमा संक्रमणको छनक मिले त्यही अनुरूपमा गर्नुपर्दछ ।

वीर्यमा शुक्रकिटको संख्या कम छ भने कृतिम रुपमा वीर्य निकाली सामान्य सरसफाइ पछि विशेष किसिमको पाइप (क्याथेटर) बाट महिलाको पाठेघरमा राखिदिन सकिन्छ । तर वीर्यमा शुक्रकिट छँदै छैन भने दम्पतीको आपसी सल्लाहमा अन्य पुरुषको वीर्य प्रयोग गरेर बच्चा पाउने तथा धर्मपुत्र/पुत्री पाल्नुको विकल्प छैन ।

अण्डाशयबाट गरिएको मासुको जाँच (बायोप्सी) मा भेटिएको अपरिपक्व शुक्रकिटलाई विशेष उपचारपछि विशेष सूक्ष्मदर्शक यन्त्रको सहयोगले महिलाले उत्पादन गरेको डिम्बभित्र छिराई कृत्रिम गर्भाधान गराउने उपाय इक्सी (इन्ट्रा साइटोप्लाज्मिक स्पर्म इन्जेक्सन) गर्न सकिन्छ । यो प्रविधि खर्चिलो एवं नेपालमा उपलब्ध नहुन पनि सक्छ ।

शिघ्रपतन, लिङ्ग नउठ्ने तथा योनीभित्र लिङ्ग छिराउन समस्या भएकोमा मनोवैज्ञानिक परामर्श दिनुपर्छ । अण्डकोषमा पानी भरिएको (हाइड्रोसिल), अण्डाशयबाट रगत फर्काएर लैजाने शिरा झोलिएको तथा हर्नियाको समस्या भएकोमा सामान्य शल्यक्रियाको जरुरत पर्न सक्छ । यी उपचारबाट सामान्य सुधार हुन सक्छ ।

महिलाजन्य निःसन्तान

निःसन्तानको कारणमा ४० देखि ५० प्रतिशतमा महिलामा खराबी भएर हुनसक्छ । 

महिलाजन्य निःसन्तानका कारणहरु

डिम्बाशयजन्य तत्वहरु, पाठेघरको मुखमा तथा योनीमा अन्तर्निहित खराबी, पाठेघर तथा डिम्बबाहिनी नलीमा खराबी, इन्डोक्राइन (अन्तश्राव) ग्रन्थिको कार्यमा खराबी तथा इन्डोमेट्रिओसिस महिलाजन्य निःसन्तानका कारणहरु हुन् । महिलाको उमेर ३५ वर्षभन्दा बढी, अपर्याप्त सहबास, मासिक चक्रमा गर्भ रहने समयको अज्ञानता, यौन सम्पर्क राख्दा हुने अधिक पीडा, निःसन्तानका कारण अत्यधिक चिन्ता, उदासीपन, शुक्रकिटलाई असर पु-याउने (योनीमार्ग चिप्लो बनाउन प्रयोग गरिने) जेल वा क्रिमको प्रयोगका कारण पनि गर्भ रहन नसकिरहेको हुन्छ ।

महिलाको कारण हुने निःसन्तानको जाँच 

तुलनात्मकरुपमा पुरुषमा अन्तर्निहित खराबी पत्ता लगाउन सजिलो हुने भएकोले महिलामा जाँच पड्ताल थाल्नु अगाडि पुरुषको वीर्य अनिवार्य रूपमा जाँच गरी त्यसमा कुनै खराबी छैन भन्ने जानकारी लिनुपर्दछ । पुरुषमा जस्तै महिलाको उमेर, विवाहित समयावधि, पहिले बच्चा पाइसकेकी छ, छैन एवं यौनरोग, मधुमेह एवं स्त्री जनेन्द्रिय वरिपरि कुनै संक्रमण भएको थियो, थिएन जानकारी लिनुपर्दछ । त्यसैगरी तल्लो पेटमा पहिले कुनै शल्यक्रिया गरेको छ, छैन सोध्नुपर्दछ ।

महिलाहरुमा महिनावारी बारे, विवाहपश्चात् बच्चा पाइ सकेको भए गर्भावस्था तथा सुत्केरीसम्बन्धी पूर्व जानकारी, परिवार नियोजनको अस्थायी साधनको प्रयोग तथा यौन सम्पर्कका बेला अधिक पीडा हुने तथा यौन सम्पर्कमै रुचि छ, छैन थाहा पाउनु पर्दछ । त्यसपछि शारीरिक जाँच पड्तालको क्रममा अधिक मोटोपना वा दुब्लोपना, यौनाङ्ग वरिपरि तथा काखीमा रौंको वितरण, यौनाङ्गहरुको विकास हेर्नुपर्दछ । कहिलेकाहीँ अन्तश्राव ग्रन्थिको गडबडीका कारण साना तथा अपरिपक्व धेरै डिम्ब उत्पादन हुने (बन्ने), ओंठ गालामा अधिक रौं पलाउने तथा स्तनबाट असामान्य श्राव निस्कने पनि हुनसक्छ ।

योनी तथा पाठेघर जाँचको क्रममा यी यौनाङ्ग तथा वरिपरि सामान्य छ, छैन चेक गर्नुका साथै गन्धयुक्त योनीश्राव, हल्का रगत मिसिएको तथा चिलाउने छ, छैन हेर्नुपर्दछ । महिलाहरुमा नियमित रुपमा सामान्य तरिकाले डिम्ब निष्काशन हुन्छ, हँुदैन, दुवैतर्पmको डिम्ब बाहिनी नली खुला छ, छैन, पाठेघरको भित्री तहमा मासु पलाएको वा टाँसिएको, पाठेघरको बनावटमा कुनै जन्मजात खराबी तथा पाठेघरको मुख साँगुरिएको वा वरिपरिको वातावरण शुक्रकिटको सुहाउँदो छ, छैन चेक गर्नुपर्दछ ।

यसको अलावा महिलामा मधुमेह, थाइरोइड ग्रन्थीको कामको गडबडी, रगतमा डिम्ब उत्पादन गर्ने, परिपक्व बनाउने एवं निष्काशन गर्ने हर्मोनहरुमा गडबडी छ, छैन थाहा पाउने रगतको जाँचहरु पनि गर्नुपर्ने हुन्छ । साथै स्त्री जनेन्द्रियको माथिल्लो भाग तथा योनीमा कुनै संक्रामक रोगको छनक छ, छैन जाँच्नुपर्दछ ।

महिलाजन्य निःसन्तानको उपचार

निःसन्तानको उपचारको क्रममा महिला, पुरुष तथा दुवैमा रहेको प्रष्ट कारणको औषधि वा शल्यक्रियाद्वारा गरिने उपचारको अलावा निःसन्तानका कारण तिनीहरुमा व्याप्त हुने मानसिक चिन्ता तथा उदासिपनका लागि राम्रो परामर्श दिने, आवश्यक परे खानपिनमा परहेज गरी शारीरिक वजनलाई नियन्त्रणमा राख्ने तथा धूमपान एवं मद्यपान त्याग्न सल्लाह दिने र महिनावारी सम्बन्धी बारे बुझाउँदा मासिक चक्रको उर्वरा (गर्भ रहन सक्ने) समय बारे प्रष्ट व्याख्या गरिदिनु पर्दछ ।

निःसन्तानबाट प्रताडित महिलामा (महिनावारीसम्बन्धी विस्तृत सोधपुछ एवं उनको पार्टनरको वीर्य जाँच सामान्य छ भन्ने जानकारी पछि योनीमार्ग, पाठेघरको मुख, पाठेघरको बनावट (भित्री तह) एवं डिम्बबाहिनी नली छ, छैन भनि चेक गर्न एक प्रकारको रङ्ग प्रयोग गरी विशेष एक्सरे (हिस्टेरोसाल्पिङ्गोग्राफी) गर्नुपर्दछ ।

यदि योनीमार्गदेखि डिम्बबाहिनी नलीसम्म कुनै खराबी छैन भने प्रत्येक महिना एउटाभन्दा बढी डिम्ब उत्पादन तथा निष्काशन हुने (सम्बन्धित चिकित्सकको निगरानीमा) औषधि/सूई दिन सकिन्छ । औषधि सेवन पश्चात् आशातित संख्यामा डिम्ब परिपक्व हुँदै गइरहेको छ, छैन भनी अल्ट्रासाउण्डबाट चेक गर्नुपर्ने हुन्छ । डिम्ब परिपक्व भएको प्रमाण देखिएपछि प्राकृतिक रुपमै यौन सम्पर्क राख्न (यदि उनको पार्टनरको वीर्य निकाली सामान्य सरसफाइपछि क्याथेटरको माध्यमबाट पाठेघरमा राखिदिने तथा अन्य पुरुषको वीर्य (यदि उनको आफ्नै पार्टनरमा वीर्य छँदै छैन भने) राखिदिने कृत्रिम गर्भाधानको उपचार दिन सकिन्छ ।

तर यी उपचार अगाडि उक्त महिलाको महिनावारी हुनुपर्दछ । यदि मधुमेह, अधिक मोटोपना तथा शरीरमा प्रोल्याक्टिनको मात्रा बढी छ भने वा स–साना डिम्ब धेरै उत्पादन तर अपरिपक्व हुने समस्या छ भने आवश्यक उपचार गर्नुपर्दछ । यसका लागि मधुमेहको औषधि, प्रोल्याक्टिन कम गर्ने औषधि तथा कतिपयमा पिल्स चक्की औषधिको रुपमा ३–४ महिना प्रयोग गरेको खण्डमा राम्रो हुन्छ ।

इन्डोेमेट्रिओसिस, स्त्री जनेन्द्रियको माथिल्लो भागको संक्रमण, पाठेघरको मुख साँगुरिएको, पाठेघरको भित्री तहमा मासु पलाएको, भित्री तह टाँसिएको, डिम्ब बाहिनी नली वरिपरि आन्द्रामा टाँसिएको, पाठेघरको बनावटमा जन्मजात खराबीको उचित व्यवस्थापन गर्नुपर्दछ ।

यदि दुवै डिम्बबाहिनी नली थुनिएको वा पहिलेको स्त्री जनेन्द्रिय संक्रमण वा शल्यक्रियाबाट काम नलाग्ने छ भने यस्ता खाले बिरामीमा अनावश्यक थप जाँच पड्ताल, औषधोपचारमा समय खेर नफाली टेष्ट ट्युब भनेर चिनिने कृत्रि गर्भाधानतर्फ लाग्नु पर्दछ । उनको पार्टनरको शुक्रकिटको संख्याको आधारमा आइ भी एफ (महिलाको डिम्ब वरिपरि शुक्रकिट राखिदिने) वा इक्सी (महिलाको डिम्बमा एउटा शुक्रकिट छिराइदिने) गर्ने सल्लाह सम्बन्धित चिकित्सकले दिइन्छ ।

महिनावारीको बेला डिम्ब वाहिनी नली हुँदै थोरै रगत पेटतिर फर्किने अवस्थाबाट सिर्जिने डल्लोका लागि बाहेक महिला बाँझोपनमा शल्यक्रियाको भूमिका कमै छ । शल्यक्रियापछि पनि आशातीत सफलता नहुन सक्छ ।

महिलाजन्य निःसन्तानको उपचारको क्रममा ध्यान दिनुपर्ने कुराहरु

१) पुरुषमा गम्भीर खराबीका कारण निःसन्तान भएको भए महिलातर्फ जाँच पड्ताल उपचार गर्नुको औचित्य छैन ।
२) त्यसैगरी जानकारी लिने तथा शारीरिक जाँच पड्तालपछि महिलामा पाठेघर तथा यौनाङ्ग राम्ररी विकसित नभएको, तेस्रो लिङ्ग भएको पाइएमा निःसन्तानसम्बन्धी थप जाँच पड्ताल रोक्नुपर्दछ ।
३) जाँच पड्तालको क्रममा चिर्नु वा घोच्नु नपर्ने जाँचहरु छान्नुपर्दछ ।
४) कुनैबेला एउटाभन्दा बढी खराबीका कारण निःसन्तान भएको हुनसक्छ । एउटा खराबी भेटिनासाथ आवश्यक थप जाँचहरु बन्द गर्नुहुँदैन ।
५) ल्याप्रोस्कोपी तथा डिम्बबाहिनी नली खुला छ, छैन भनी गरिने सामान्य जाँच पड्ताल पछि पनि गर्भ रहन सक्छ ।
६) जनेन्द्रियमा हुने क्षयरोग तथा इन्डोमेट्रिओसिसको कारणले निःसन्तान भैराखेको हुनसक्छ । अतः यी कारक तत्वहरु बारे पनि सदैव सोच्नु पर्दछ ।

प्रकाशित: १ भाद्र २०७५ ०९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App