६ वैशाख २०८१ बिहीबार
समाज

बैतडीका सरकारी संरचना छैनन् अपांगमैत्री

दशरथचन्द नगरपालिकाको सिँढी । अपांगमैत्री सिँढी नहुँदा अपांगता भएका सेवाग्राही समस्या भोग्न बाध्य छन् ।    तस्बिरः बिरारनागरिक

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकमा कार्यरत नासु लष्मी बिष्ट कार्यालय जाँदा सधै त्रासमा हुन्छिन्। कार्यालय पुग्नुअघि कुन दिन सिँढीबाट लडिन्छ सधै डराउनुपर्ने अवस्था छ। शारीरिक रुपमा अपांग बिष्ट जस्तै धेरै सेवाग्राही आपांगमैत्री कार्यालय नहुँदा समस्यामा छन्।

जिल्लाका सरकारी संरचना अपांगमैत्री नहुँदा सरकारी सेवामा अपांगहरुको सहज पहुचँ पुग्न सकेको छैन। सरकारी कामको लागि कार्यालय आउँदा अपांगले सहयोगी नल्याएर काम गर्नसक्ने अवस्था नभएको गुनासो गरेका छन्। जनसरोकारको कार्यालयको यो अवस्था छ भने अन्य कार्यालय अवस्था पनि यो भन्दा फरक छैन।

एकातिर कार्यालयसम्म पुग्न सहज छैन भने अर्कोतिर कार्यालय प्रमुख माथिल्लो तलामा बस्ने गरेका छन्। जिल्लाका अधिकांश स्थानीयतह प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला न्यायाधिश, महिला बालबालिका कार्यालय प्रमुख, शिक्षा समन्वय इकाइ प्रमुख भवन डिभिजन प्रमुख, मालपोत अधिकृत, नापी प्रमुख, टेलिकम, विधुत् लगायत सरकारी कार्यालयका कार्यालय प्रमुखको माथिल्लो तलामा कार्यकक्ष छ। जसले गर्दा अपांगता भएका सेवाग्राहीको पहुँच कार्यालय प्रमुखसम्म पुग्न सहज नभएको उनीहरूले बताएका छन्। 

सरकारी संरचना अपांगमैत्री नहुँदा अपांगहरूले सास्ती भोग्दै आएका हुन्। अपांगमैत्री कार्यालय नहुँदा सिधै कार्यालयमा गएर आफ्ना समस्या अपांगले राख्न सकेका छैनन्। कार्यालय परिसरमै पुग्न नसकेका अपांगको पहुँच कार्यालय प्रमुखसम्म पुग्ने त कुरै भएन। कार्यालयका सम्बन्धित अधिकारीसम्म सिधै पहुँच नहुँदा उनीहरूले समस्या भोग्दै आएका हुन्।

सरकारी कार्यालयमा अप्ठ्यारो सिँढी रहेकाले शारीरिक अपांगता भएकाहरूले सहज सेवा लिन नपाएको जिल्ला अपांग संघका बैतडी उपाध्यक्ष लक्ष्मी बिष्टले बताइन्। ‘बैशाखी, सेतो छडी बोक्नेहरूका लागि कार्यालयको सेवा कठिन भएको छ,’ उनले  भनिन, ‘मुलुकमा धेरै परिवर्तन आए तर अपांगका लागि सहज सेवा पाउन सकेका छैनन्।’

अपांग भएका व्यक्तिहरूले आफ्ना कुरा सम्बन्धित अधिकारीको कार्यकक्षमै आएर सुनाउन सक्ने वातावरण बनेको छैन, जसले गर्दा उनीहरू सहजरुपमा सरकारी सेवा सुविधाबाट बन्चित हुनु परेको छ। सरकारी सेवा सहजरुपमा लिन कार्यालय प्रमुखलाई पटक–पटक भुई तलामा बस्नुपर्ने आग्रह गरेपनि अहिलेसम्म कार्यान्वयन नभएको उपाध्यक्ष बिष्टको गुनासो छ।

अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका–२०६९ जारी भएतापनि जिल्लाका सरकारी लगायत गैरसरकारी निकायहरू अपांगमैत्री संरचना निर्माण भएका छैनन। प्रत्यक्ष जनसरोकारकारका सरकारी अड्डामा पनि यो अवस्था भएपछि अपांगले आफ्नो हक अधिकारबाट बन्चित हुनुपरेको दुखेसो पोखेका छन्।

जिल्लाका सरकारी भवन, विद्यालय, अस्पताल, स्वास्थ्य संस्था, धार्मिक स्थल, कार्यस्थल, सार्वजनिक सडक, सडक पेटी, यात्रु प्रतिक्षालय, पार्किङ्ग स्थल, मनोरञ्जन स्थल, खेल मैदान, सम्मेलन केन्द्र, सिनेमा हल जस्ता सार्वजनिक स्थल र सर्वसाधारणलाई खुला गरिएका व्यावसायिक भवन, आवासीय भवन, होटल तथा रेष्टुरेण्ट, एटिएम बैंकिङ सेवा जस्ता सार्वजनिक भौतिक संरचनामा अपांगहरूको लागि सहज र उपयुक्त र्याम्प, ढोका, झ्याल, गाइडिङ्ग ब्लक र ब्रेल समेतको व्यवस्था गरी अपांगता भएका व्यक्तिको सहज आवागमन र उपयोगको लागि पहुँच योग्य बनाएर अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना बन्न नसक्दा सास्ती भोग्दै आएका हुन्।

प्रकाशित: १ भाद्र २०७५ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App