coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सम्पदा क्षेत्रमा भेलबाढी

मंगलबार राती परेको वर्षाले पाटन सम्पदा क्षेत्र डुवानमा प-यो। मंगलबजार कात्तिक डबलीको अगाडिबाट भेलबाढी बग्यो। लगनखेसम्मको ढल सम्पदा क्षेत्रमा पस्दा सम्पदाको भित्री र बाहिरी भागमा लेदो भरियो। बिहानपख स्थानीयवासीले जमेको लेदो फाल्न नगरपालिकालाई गुहारे।

मंगलबार मात्रै होइन, विश्व सम्पदामा सूचीकृत ललितपुरको पाटनमा दरबार क्षेत्र पानी परेका बेला डुवानमा पर्छ। जसका कारण सातदोबाटो, ग्वार्को, लगनखेल, च्यासलसम्मको ढल आगनबाट बगेसँगै दरबार क्षेत्र पूरै दुर्गन्धित बन्छ। पाटनका मुख्य सम्पदा कृष्ण मन्दिर, भीमसेन मन्दिर, चारनारायण मन्दिर, विश्वनाथ मन्दिर, सुन्दरी चोकलगायत सम्पदाको आँगनबाट दिसापिसाबसहितको ढल बग्ने गरेको छ। यसले सम्पदा क्षेत्रलाई दूषित पारेको र पर्यटकीय आगमनलाई असर पारेको स्थानीयवासी बताउँछन्।

‘पाटन क्षेत्रको मुख्य समस्या ढल व्यवस्थापन हुन नसक्नु हो,’ स्थानीय सुरेशमान शाक्यले भने, ‘यसबारे महानगर र पुरातत्वले चासो दिन आवश्यक छ।’

विश्व सम्पदामा सूचीकृत ललितपुरको पाटनमा दरबार क्षेत्र पानी परेका बेला डुवानमा पर्छ। जसका कारण सातदोबाटो, ग्वार्को, लगनखेल, च्यासलसम्मको ढल आगनबाट बगेसँगै दरबार क्षेत्र पूरै दुर्गन्धित बन्छ।

उनले हरेक वर्ष पाटन दरबार क्षेत्र डुवानमा पर्ने गरेको बताए।

सम्पदा क्षेत्रमा ढल निकास नहुँदा यस क्षेत्रमा आएका पयर्टकहरूमा समेत नकारात्मक सन्देश गएको छ। मंगलबजार कृष्ण मन्दिर छेउमा रहेको ढुंगेधारामा पनि ढल जम्ने गरेको छ । जसका कारण ढुंगेधारासमेत फोहर बनेको छ।

पाटन कृष्ण मन्दिरका पुजारी यर्सोयधर राजोपाध्यायले सम्पदा क्षेत्रमा उचित ढल निकासको प्रबन्ध नमिलाइएकाले समस्या आएको जानकारी दिए। उनले भने, ‘सम्पदाजस्तो संवेदनशील क्षेत्रमा यसरी फोहर बग्नु सामान्य कुरा होइन, पर्यटकहरूमार्फत् यसबारे गलत सूचना विदेशी मुलुकमा गइरहेको हुन्छ, त्यसकारण यसबारे थप ध्यान दिन जरुरी छ।’

डुवान पर्दा पयर्टक आर्कषणको केन्द्र र सुन्दर सम्पदाको आँगनबाटै ढल बग्न थालेपछि सम्पदाको महिमा गुम्ने देखिन्छ। पाटन र मंगलबजार क्षेत्रमा ढल निकासको उचित प्रबन्ध मिलाउन नसकेकाले आकासे पानी परेको समयमा यी क्षेत्रमा समस्या आएको स्थानीयको भनाइ छ । ‘बाक्लो र पुरानो बस्ती भएकाले यहाँ ढल जम्ने समस्या बल्झिरहन्छ,’ कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले भने, ‘धेरै पहिला राखिएको ढल पाइप अहिले सानो भएकाले यसरी ढल सम्पदाको अघिबाट बग्ने गरेको छ।’  

संस्कृतिविद् सत्यमोहन जोशीले सरकारी निकायले काम नगरेका कारण सम्पदा क्षेत्र डुवानमा परेको बताए । ‘पहिले–पहिले धेरै पानी पथ्यो। तर, यस्तो डुवान हुँदैनथ्यो, अहिले जताततै पक्की भवन ठडिए, त्यसले गर्दा डुवानको समस्या ल्याएको हो,’ उनले भने।  

तर, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा डुवानप्रति महानगरको चासो गएको बताए। ‘यो समस्या हामीले केही समयमै समाधान गर्छौं,’ उनले भने, ‘यो वर्ष पाटन क्षेत्रमा ढुंगा ओछ्याउन र ढल व्यवस्थापन गर्न हामीले आवश्यक बजेट विनियोजन पनि गरेको छौं।’

त्यसो त पाटन क्षेत्रका भित्री सडकको अवस्था पनि नाजुक छ। खाल्डाखुल्डीमा जमेको पानी र हिलाम्मे सडकमा यात्रुले सास्ती खेप्नुपरेको छ। महानगरपालिकाले नगरका भित्री सहर क्षेत्रको ढल व्यवस्थापन गर्न नसक्दा यस्तो समस्या आउने गरेको हो। महानगरले विश्व सम्पदामा सूचीकृत पाटन सम्पदा क्षेत्र र पर्यटकीय भित्री शहरमा ढल व्यवस्थापनको काम सन् २०१९ जनवरीदेखि सुरु गरेको मेयर महर्जनले बताए। उनले यसका आधारका सम्पदा क्षेत्रलाई समस्यामुक्त बनाउने जानकारी दिए। ‘आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) र ललितपुर महानगरपालिकाबीच ढल व्यवस्थापनका लागि सम्झौता भइसकेको छ,’ उनले भने, ‘केही समयमै सम्पदा क्षेत्रलाई व्यवस्थित पार्ने काम सुरू हुन्छ ।’ योजना अन्र्तगत महानगरका ५, ९, ११, १२, १५, १६ र १९ वडामा पर्ने भित्री सहरमा ढल निर्माणको कार्य सम्पन्न गरिने छ।

प्रकाशित: १ भाद्र २०७५ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App