coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

काठमाडाैं -  सानो मनले कोही ठूलो हुँदैन, टुटेको मनले कोही उभिन सक्दैन
मन हारेर मैदान जितिदैन, न मैदान जितेर मन जित्न सकिन्छ।

उनको मन न त कहिले टुट्यो न त कहिले सानो भयो। त्यसैले उनी जितेर गए, जीवनलाई सार्थक बनाए। देशभक्ति र साहस जगाउने कविता कोर्थे। उनको कविता वाचन सुन्न भारतका चर्चित अनुहार समेत लालायित हुन्थे। जब अटल बिहारी वाजपेयी कविता वाचन गर्थे तालीको गडगडाहट सुनिइरहन्थ्यो। कमान्डिङ भ्वाइसका धनी अटललाई २००९ मा हृदयघात भएको थियो । शल्यक्रिया गर्दा घाँटीमा भल्भ राखेपछि बोल्न नसक्ने भएका उनको मन्त्रमुग्ध पार्ने गरी जोस्सिँदै कविता वाचन गर्ने आवाज सदाका लागि बन्द भएको थियो। श्रोतालाई जुरुक्कै उचाल्ने भाषण गर्ने उनी बुढ्यौलीसँगै थपिएका रोगले पिरोलिएर ह्वीलचेयरको सहारामा परेका थिए। २०१४ मा ‘भारत रत्न’ बनेका उनलाई अधिकांश भारतीय सम्मानित नजरले हेर्छन्। आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर सबैको प्रिय बन्न सफल नेताका रूपमा जनहृदयमा बस्न सफल भए, अटल। अटल नाम सार्थक बनाएर बिदा भए । राजनीतिमा लाग्दै गर्दा कलमलाई कहिले विश्राम दिएनन्। राष्ट्रिय स्वयं सेवक संघमा प्रचारकमा रूपमा सक्रिय हुँदा दिनभर कार्यक्षेत्रमा खटिएपनि राति सधैं कविता कोर्ने गरेको घटना संघका कार्यकर्तामाझ अझै स्मरण हुने गरेको छ। बहुप्रतिभाशाली अटलले पत्रकारितामार्फत् समाजको गहिराई बुझ्न र कलम तिखार्ने मौका पाए।  त्यसैले, आफू पत्रकार थिएँ र लेखिरहन्छु भनी गर्व गर्थे।

शिक्षाप्रेमी मध्यमवर्गीय ब्राह्मण परिवारमा बाबु कृष्ण बिहारी वाजपेयी र आमा कृष्णा देवीको कोखबाट २५ डिसेम्बर १९२४ मा मध्य प्रदेशको ग्वालियरमा जन्मिएका थिए अटल। उनका हजुरबुवा पण्डित श्यामलाल वाजपेयी उत्तरप्रदेशको बाटेश्वरबाट ग्वालियर पुगेका थिए। बाबु कृष्ण बिहारी गृहनगरस्थित विद्यालयका शिक्षक र कवि थिए। बाबुको प्रेरणाले अटल बिहारीले कविता लेख्न थाले। सानैदेखि मेधावी छात्र थिए। सरस्वती शिशु मन्दिरबाट विद्यालय स्तरको शिक्षा पूरा गरी भिक्टोरिया कलेज (हाल लक्ष्मीबाई) बाट हिन्दी, संस्कृत र अंग्रेजीमा स्नातक तह अति विशिष्ट श्रेणीमा उत्तीर्ण गरे। तीनैवटा भाषामा धाराप्रवाह बोल्ने क्षमता राख्थे। कानपुरस्थित डिएभी कलेजबाट राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरे। उक्त कलेजमा वाजपेयी बाबुछोराले एउटै तह र विषयमा भर्ना लिएका थिए। उनीहरू छात्रवासमा पनि सँगै बस्थे। बाबुछोरा एकैसाथ स्नातकोत्तर अध्ययनमा लागेकाले कलेजमा धेरैको चासो रहेको थियो।

१९३९ मा हिन्दुवादी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) मा आवद्ध हुँदा अटल १५ वर्षका थिए । चार वर्षसम्म आरएसएसमा तालिम लिए। औपचारिक पढाईसँगै अन्य सामाजिक कार्यमा समेत अति सक्रिय अटल धेरै महत्वाकांक्षी थिएनन्। तर्क क्षमताका साथै प्रस्तुति उत्कृष्ट रहेका अटल लेखपढमा लगाव राख्नुका साथै कविता कोर्थे। कुनै बेला पत्रकारितामा समेत सक्रिय रहेका उनले राष्ट्रधर्म मासिक, पाञ्चजन्य दैनिक, स्वदेश र वीर अर्जुन नामक हिन्दी पत्रिकाहरूमा कामसमेत गरको थिए। पाञ्चजन्यमा वाजपेयी सम्पादक थिए। मूलधारको पत्रकारितामा लाग्दा उनले भारतको तत्कालीन राजनीतिक, सामाजिक र आर्थिक समस्यालाई नजिकबाट नियाल्ने अवसर पाएका थिए। पत्रकारिताले समाज बुझ्न र मनन गर्ने शक्ति वृद्धि गरेपछि कवि हृदयका अटलको कलम झन् तिखारियो। मनैदेखि देशको सेवा गर्ने अठोटका साथ उनी राजनीतिमा उत्तिकै सक्रिय थिए। कहिले नझुक्ने र नथाक्ने अठोट लिएका उनी त्यस्तै भए। वाजपेयी कवितामार्फत् लेख्छन्– ‘टुट्नसक्छु तर झुक्न सक्दिनँ।’

बेलायती शासकको विरोधमा लागेको अभियोगमा  सन् १९४२ मा वाजपेयी पक्राउ परे। आरएसएसको विस्तारकका रूपमा उत्तर प्रदेश खटाइएका उनी १९४७ मा आरएसएसको प्रचारक भएपछि पूर्णकालीन राजनीतिक कार्यकर्ता बने। पछि हिन्दूवादी भारतीय जन संघका सक्रिय कार्यकर्ता भएका उनले संघलाई नेतृत्व समेत गरे। विद्यावारिधीका साथै राजनीतिलाई समेत निरन्तरता दिने उद्देश्यले लखनऊ पुगेका अटल अहोरात्र राजनीतिमा व्यस्त भएपछि सो इच्छा मारे। सन् १९८० मा जनसंघ भारतीय जनता पार्टीका रूपमा खडा भयो। उनकै सक्रियताले अखिल भारतीय विद्यार्थी परिषद् अर्थात् एबिभिपी गठन भयो । वाजपेयीको मिहेनत र नेतृत्वले एबिभिपी शक्तिशाली संगठन बन्यो। कतिपयले एबिभिपी नै अटल बिहारी वाजपेयी परिषद् सम्म भन्थे । अखिर भारतीय विद्यार्थी परिषद् वर्तमानमा भारतभित्र नभई विश्वकै सबैभन्दा ठूलो विद्यार्थी संगठन बनेको छ।

वाजपेयी निस्वार्थ र दानवीर नेता हुन्। महाभारतका कर्णजस्तै दानवीर र चट्टाने अडान लिन सक्ने हुनु उनको विशेषता थियो। उनले किड्नीसमेत दान गरेका थिए। आफूसँग एउटामात्र किड्नी रहेको खुलासा गर्दै सबैलाई छक्क पारेका थिए, उनले। पदभन्दा माथि उठेर काम गर्थे। राष्ट्रियतामा कसैसँग सम्झौता नगर्ने उनले राजधर्मको पालना गर्न आफूभन्दा कनिष्ठ नेताहरुलाई बारम्बार सम्झाएका थिए। गुजरातमा हिन्दू–मुसलमान दंगा भड्कदा उनले तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई राजधर्मको पालना गर्न निर्देशन दिएका थिए। जसरी राजाले जाति, सम्प्रदाय, क्षेत्रका आधारमा आग्रह पूर्वाग्रह नगरी व्यवहार गर्छ त्यही राजधर्म भएको उनको भनाइ थियो। देशको हितका लागि कठोर र अलोकप्रिय कदम चाल्न पनि तयार हुनुपर्छ भन्ने मान्यता थियो वाजपेयीको। आफू वरपर घुम्नेलाई मात्र वाजपेयीले प्रोत्साहित गरेनन्। उनी प्रतिभा खोज्थे। मोदी उनले खोजेका प्रतिभामध्येका थिए। पार्टीको जिम्मेवारी सम्हालिरहँदा एकदिन फोटोपत्रकारको मलामी गएको अवस्थामा बोलावट भएपछि अटल बिहारी वाजपेयीले गुजरातको नेतृत्वका लागि निर्देशन दिएका थिए।

सन् १९५१ मा भारतीय जनसंघमा पाइला राख्दा किशोर वाजपेयीको उमेर १७ वर्षको थियो। जनसंघका संस्थापक श्यामाप्रसाद मोखर्जीको वफादार कार्यकर्ता बनेर उनी सक्रिय भएका थिए। संघमा लाग्दा राजनीतिका धेरै सूत्र सिके। देशभक्तिको भावना झन् बढेर गयो। भाषणकलामा निपूर्ण वाजपेयी बोल्दा सबै मन्त्रमुग्ध भएर सुन्थे। जोसिलो भाषण, निर्णय क्षमता र साहसी स्वभावले भाजपामा प्रभावशाली नेता बनिरहन सके। लामो इतिहास बोकेको कंग्रेस आईलाई बलियो चुनौती दिने पार्टी भारतमा कुनै थिएन। वाजपेयीले चुनाव चिह्न कमलको फूल घोषणा गर्दै सन् १९५७ मा पहिलोपटक चुनावमा उत्रदाँ जम्मा तीन सिट जिताउन सफल भए । ती मध्ये २८ वर्षका वाजपेयी पनि थिए। उनी उत्तरप्रदेशको बररामपुरबाट जित्न सफल भए। १९६८ मा दिनदयाल उपाध्यायको रहस्यमय निधनपछि युवा नेता वाजपेयी जनसंघको अध्यक्ष चयन भए। भारतीय राजनीतिमा जनसंघलाई प्रभावशाली बनाउन अहोरात्र खटिए। त्यसमा नानाजी देशमुख, बलराज मधोक र लालकृष्ण आडवाणीले भरपूर साथ दिए। इन्दिरा गान्धीले संकटकाल घोषणा गर्दाको अस्थिरता पछि भारतले कंग्रेस आईको विकल्प खोज्न थाल्यो। कंग्रेस विरोधी धेरै नेताहरु पक्राउ पर्नुले राजनीतिक वृत्तमा असन्तुष्ट व्याप्त भयो । समाजवादी नेता जयप्रकाशनारायणको पहलले कँंग्रेसविरोधी दलहरु एकजुट भए। १९७७ मा जनसंघ भारतीय लोकदल र समाजवादी पार्टीसँग एकीकरण भयो। जनता पार्टीको आमचुनावमा जीत हासिल गरेपछि वाजपेयी विदेशमन्त्री बने। प्राप्त अवसरलाई गम्भीरताका साथ पूरा गरेर चर्चामा आए। तर आन्तरिक द्वन्द्वका कारण जनता पार्टी विघठन भयो। वाजपेयीले लालकृण आडवाणी र भैरोसिंह शेखावत्को साथमा १९८० मा भारतीय जनता पार्टी (भाजपा) गठन गरे। १९८४ को आमचुनावमा भाजपा दुई सिटमा सिमित भयो। वाजपेयी कत्तिपनि धैर्य नगुमाई खटिए। १९८९ को चुनावमा भाजपा ८८ सिट जित्न सफल भयो। यसमा वाजपेयीको कुशल नेतृत्व र नआत्तिने र नमात्तिने स्वभावले मुख्य भूमिका खेल्यो।

१९९६ को चुनावमा भाजपा सबैभन्दा ठूलो दल बन्न सफल भयो। वाजपेयी प्रधानमन्त्री बने तर संसदमा बहुमत हासिल गर्न नसकेपछि राजीनामा दिनुप-यो। अंकगणितको राजनीतिमा उनी मात्र एकमतले असफल भए। विभिन्न दलहरुको मोर्चाबन्दीबाट नयाँ सरकार गठन हुँदा १९९८ मा वाजपेयी प्रधानमन्त्री चयन भए। तर सरकार लामो समय जान सकेन। अर्कोतर्फ भारतले पाकिस्तानसँग युद्ध लड्यो। कार्गिल युद्ध जित्दा वाजपेयीको शान र मान ह्वात्तै बढ्यो। मिडियामा उनी नायक जसरी प्रस्तुत गरिए। भारतले बलियो प्रधानमन्त्री चाहिरहेको थियो । संसद्मा कसैको बहुमत नआउँदाको अस्थिरताबाट असन्तुष्टि पैदा भए। भारतीय जनताले वाजपेयीको शासनलाई हेर्न चाहेको देखियो। परिस्थिति वाजपेयीको अनुकूल बन्यो। १९९९ को आमचुनावमा भजपा नेतृत्वको मोर्चा सफल भयो । अटल बिहारी वाजपेयी तेस्रोपटक प्रधानमन्त्री बने। संसद्मा बलियो समर्थन र जनतामाझ बढेको लोकप्रियताले काम गर्ने सहज वातावरण बन्यो। वाजपेयी दुरदृष्टिका साथ विकास निर्माण र आर्थिक क्रान्तिमा केन्द्रित भए। राजमार्गहरुको निर्माण र ग्रामीण सडक निर्माण प्राथमिकतामा राखेर काम गरे। पाकिस्तानसँगको सम्बन्ध सुधार्न प्रयास थाले । सन् २००१ मा पाकिस्तानी राष्ट्रपति परवेज मुसरफलाई दिल्ली निम्तो गरी वार्ता गरे। १९९९ को फेब्रुअरीमा उनी आफै भारतबाट बस चढेर पाकिस्तान पुगे। उनका प्रयासहरू सफल भएनन्। भारतको पाकिस्तानसँगको सम्बन्ध चिसो नै रहिरह्यो।

भारतीय राजनीतिमा वाजपेयीले धेरैवटा कीर्तिमान राखेका छन्। जवाहरलाल नेहरु पछि तीनपटक प्रधानमन्त्री बन्न सफल हुनेमा उनी मात्र हुन्। भारतीय राजनीतिमा झण्डै पाँच दशकसम्म लगातार सांसद बन्नेमा उनको कीर्तिमान कायम छ। दश फरक क्षेत्र र चारवटा फरक राज्यहरुबाट लोकसभा चुनाव जित्ने एकमात्र व्यक्ति वाजपेयी हुन्। वाजपेयी अति देशभक्त नेताको रूपमा परिचित छन्। उनका कवितामा देशभक्तिका भाव र शब्दले भरिएको हुन्छ। भारतमा सबैभन्दा बढी बोलिने मुख्य भाषा हिन्दीप्र्र्रति अति स्नेह राख्ने वाजपेयी संयुक्त राष्ट्रसंघको महासभामा हिन्दीमा भाषण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन्। हिन्दीप्रति उनको अति मोह देखिन्थ्यो। हिन्दीमै कविता लेखेर र कवितासंग्रह प्रकाशित गरेका उनको कविताको एक अंश :

त्यो कपुत हो जो हुँदा हुँदै आमाको दिनदशा हुन्छ
दाजुभाइको महल उजाडेर महल बसाउँछ

वाजपेयी अविवाहित रहे। देशभक्त र राजधर्मलाई सर्वोपरी ठानेर सक्रिय भएकाले मोजमज्जाको जीवन परित्याग गरी सेवामा समर्पित रहे। प्रधानमन्त्रीको सपथ लिँदा उनले आफूमा उत्पातैको खुशी नभएको भनेका थिए। प्रधानमन्त्रीबाट हट्नुपर्दा पनि कत्तिपनि दुःख नलागेको स्पष्ट पार्दै हाँसी हाँसी बिदा भएका वाजपेयीले एकजना धर्मपुत्री बनाए जसको नाम नमिता हो। हिमाल हेर्न मनपराउने वाजपेयी पहाडमा आराम गर्न मन पराउँथे। खाना बनाउन सौखिन थिए।

उनी सधैं आग्रह पूर्वाग्रहभन्दा माथि उठेर काम गर्थे। इन्दिरा गान्धीले संकटकाल घोषणा गर्दा पक्राउ पर्नेमध्येमा वाजपेयी पनि एक थिए। तर तिनै इन्दिरा गान्धीलाई वाजपेयी दुर्गा जस्तै साहसी भन्थे। इन्दिरा र भारत एक हो भन्नेहरुलाई चाहिं कवितामार्फत् चाटुकदार चम्चे भनिदिए। बिना हिच्किचाहट यथार्थ विषय बोल्ने स्वभावका वाजपेयीलाई विपक्षीले पनि उत्तिकै सम्मानको नजरले हेर्थे। भारतका पूर्व प्रधानमन्त्री डा.मनमोहन सिंहले उनलाई भारतीय राजनीतिको भीष्म पितामहको उपाधि दिएका थिए। प्रधानमन्त्री हुँदा चन्द्रशेखरले वाजपेयीलाई गुरू भनेका थिए। वाजपेयी शक्तिमा पुगे भन्दैमा दुरूपयोगमा लागेनन्। न त उचाईमा पुग्दा आफूलाई महान् ठाने।

धेरै उचाईको पहाडमा रुख हुर्कदैन न त घाँस नै जम्छ
कात्रो जस्तो सेतो मृत्यु जस्तो ठण्डी हिउँ मात्र जम्छ

मेरो प्रभु,

मलाई यस्तो उचाई कहिले नदेऊ

कसैलाई गला लगाउन नसकौं त्यस्तो रूखोपन कहिले नदेऊ

भारतको सर्वोच्च सम्मान ‘भारत रत्न’ प्रदान गरिएका वाजपेयीले आफ्नो देशलाई आणविक शक्ति सम्पन्न देश बनाए। उनको कार्यकालमा आर्थिक वृद्धि भयो। तथापि उनकै कार्यकालमा भारतको संसद्मा भएको आतंकवादी हमला र आतंकवादीले काठमाडौंबाट विमान अपहरण गरी अफ्गानिस्तान पु-याएर सौदावाजी गर्न सफल भए। २००२ मा गुजरातमा एक हजार जनाको ज्यान जानेगरी हिन्दू–मुस्लिम हिंसा भड्कियो। व्यक्तिगत र राजनीतिक जीवनमा सफलता असफलताको धैरै पाटाहरु भएपनि वाजपेयीको जीवन सार्थक मान्न सकिन्छ। साम्राज्यवाद विरोधी राष्ट्रवादी उनको परिचय बन्यो । त्याग र तपस्याले भरिएको उनको सृजनशील जीवन आफैमा एउटा सकारात्मक सन्देश हो। अटल सदा अटल बने। विचार र व्यवहारमा कहिले डगमगाएनन्। भौतिक शरीर त्यागेपनि अटलको परिचय अटल रहनेछ।

प्रकाशित: १ भाद्र २०७५ ०५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App