coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

श्रीकाली धुन

बिहानी झरीले वातावरण सफा भएपछि शनिबार खोकनाको आकाश छयाङ् खुलेको थियो । अरुबेलाभन्दा माहोल बेग्लै थियो, किनकि मध्यान्हमा त्यहाँ दुई सय साइक्लिष्ट जम्मा भएका थिए।

खोकना पुनर्निर्माण तथा पुनस्र्थापना समिति र कन्सेप्ट नेपालले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’ यात्राको चौंथो संस्करणलाई सांगीतिक माहोलले झन् रोमाञ्चक बनायो । त्यो वातावरण सृजना गरेको थियो, स्थानीय ‘श्रीकाली ब्याण्ड’ले।

ब्याण्डका सदस्यहरूले ‘श्रीकाली देवी’, कुटम्ब ब्याण्डका फ्युजनहरू, राष्ट्रगानको धुन, रेशम फिरिरी, कान्छी हे कान्छी, शिलु धुनलगायत बजाएर सबैलाई मन्त्रमुग्ध बनाए । मञ्चमा भाषण चलिरहँदा समेत पृष्ठभूमिमा मधुर संगीत गुञ्जिरह्यो।  

यसरी तन्नेरीहरूको ब्याण्डले खोकनामा मात्र होइन, काठमाडौं उपत्यकाका धेरै ठाउँमा प्रतिभा प्रदर्शन गरिसकेको छ । उसले विभिन्न अवसरमा अन्नपूर्ण होटल, होटल सोल्टी, जावलाखेल मैदान, क्वेष्ट कलेज, मोलिस कलेज, राष्ट्रिय सभागृह, बुङमतीलगायत ठाउँमा लोक धुन पस्किसकेको छ।

लोकधुन फ्युजन गरेर पस्किँदै आएका खोकनाका तन्नेरीहरूको ‘श्रीकाली व्याण्ड’ले काठमाडौं उपत्यकामा प्रशंसा कमाउँदै आएको छ । तर, आर्थिक अभावले उसले एल्बम निकाल्न सकेको छैन । ब्याण्डका तन्नेरीहरू मौलिक नेपाली संगीत संरक्षणमा समर्पित छन्।  

ग्वार्कोको केसिएम कलेजले ०७४ सालमा आयोजना गरेको इन्टर कलेज ब्याण्ड कम्पिटिसनमा उसले ‘क्राउड फेभरेट टाइटल अवार्ड’ पाएको थियो । मोलिस कलेजमा दुई पटक विजेता बनेको थियो।  

ब्याण्डमा १८ देखि २४ वर्षसम्मका ८ युवा छन् । ब्याण्ड म्यानेजर कृषल डंगोल हुन् भने असिम महर्जन प्रिकर्सनिष्ट, खिं र मादलमा उजन डंगोल, धिमे र मादलमा एलिजन डंगोल, नगरा र धामा रोशन महर्जन, सारंगीमा रोहित महर्जन, बाँसुरीमा अमन माली र टुङ्गनामा नृपेन्द्र डंगोल छन्।

अमनबाहेक सबै सदस्य ललितपुरको प्राचीन नेवार बस्ती खोकनाकै बासिन्दा हुन् । अमनचाहिँ ललितपुरकै ठेचोका । उनीहरू सबैका गुरू लक्ष्मीप्रसाद डंगोल । डंगोलले खोकनामा ‘ओम संगीत पाठशाला’ चलाउँदै आएका छन् । उनीहरूले सारंगीवादनचाहिँ मनिष गन्धर्वसँग सिकेका। 

बस्तीमा सांगीतिक वातावरण थियो । ब्याण्डमा संगठित हुनुअघि पनि उनीहरू धिमेलगायत बाजा बजाउँथे । किशोर वयमा टेक्दै गरेका बेला लक्ष्मी गुरूले निःशुल्क कक्षा सञ्चालन गरेपछि उनीहरूलाई सजिलो भयो । हौसला मिल्यो । उनीहरूले सिके र आज चारैतिरबाट वाहवाही पाउन सफल भए।   

संगीत सिक्दै गरेका साथीहरू मिलेर ०७० सालमा उनीहरूले ‘श्रीकाली व्याण्ड’ खोले । खोकनामा रहेकी श्रीकाली देवीका नाउँमा उनीहरूले ब्याण्ड खोलेका हुन् । जीवनमा जुनसुकै पेशामा सामेल भएता पनि संगीतलाई नछोड्ने उनीहरूको अठोट छ । ‘कार्यक्रमहरूमा बजाउँदा पकेट खर्च पाइन्छ,’ असिम भन्छन्, ‘हामी आफ्नो मौलिकता जोगाउने प्रयासमा लागेका हौं।’ 

ब्याण्डका सदस्यहरु उच्च शिक्षा पढिरहेका छन् । पढाइसँगै संगीतलाई अघि बढाउँदैछन् । उनीहरूको माग बढ्दो छ । बरोबर वरपरबाट धुन बजाउने निम्तो आउँछ । ‘खोकनामा बजाउँदा प्रायः स्वयंसेवा गर्छौंं,’ ब्याण्ड म्यानेजर कृषल भन्छन्, ‘अन्यत्र एक घन्टा बजाएको ४० हजार रूपैयाँ लिन्छौं।’ 

ब्याण्डका सदस्यहरू बाजा बजाउन पनि सिकाउँछन् । उनीहरूले कार्यविनायक अघिल्तिरको अपांगता भएकाहरूको संस्थामा सारंगी र टुङगना बजाउन सिकाउँछन् । विगतमा त्यहाँ उनीहरूले बाँसुरी पनि सिकाउँथे।  

स्वदेशका युवालाई लोकबाजामा प्रेरित गर्दै विदेशमा समेत लोकधुन चिनाउने ब्याण्डको उद्देश्य छ । ब्याण्डले केही मौलिक लोक धुन बनाइसकेको छ । अहिले एल्बमको तयारीमा जुटेका छन् उनीहरू । ‘आर्थिक अभावले एल्बम निकाल्न सकेका छैनौं,’ कृषल भन्छन्, ‘प्रायोजक पाए ०७५ सालभित्रै एल्बम निकाल्नेछौं।’

खोकना ललितपुर महानगरपालिका–२१ मा पर्छ । लोक संगीत संरक्षणमा जुटेका युवालाई प्रोत्साहन गर्न महानगरपालिकाले नै एल्बम निकाल्न आर्थिक सहयोग गर्ने कि ! 

 

प्रकाशित: १ भाद्र २०७५ ०५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App