८ वैशाख २०८१ शनिबार
समाज

रसुवागढी भन्सारको काम प्रभावित, लक्ष्य ५० करोड, संकलन २६ करोड

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा १९ दिनदेखि सवारी सञ्चालन हुन सकेको छैन्।  जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोलामा बाढीले क्षति पुर्याएको पुल मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन नभएको हो। सवारी सञ्चालनमा रोक लगाइएसँगै भन्सारको काम पूर्ण प्रभावित बनेको छ। कार्यालयले दैनिक ४ करोडसम्म राजश्व संकलन गर्दै आएको थियो। 

१९ दिनयता दैनिक करिब ४ लाख राजश्व संकलन हुने गरेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताए। ‘पुल मर्मतमा ढिलाई हुँदा सवारी सञ्चालन हुन सकेको छैन, प्रमुख भन्सार अधिकृत कोइरलाले भने, पोल्ट्री गरेर ल्याएको सामग्रीबाट थोरै राजश्व उठिरहेको छ।’

साउन महिनाका लागि तोकिएको लक्ष्य पूरा हुन नसकेको उनले बताए। ‘साउन महिनामा ५० करोड राजश्व संकलन गर्ने लक्ष्य राखिएको थियो, उनले भने, तर हामीले २६ करोड मात्रै राजश्व संकलन गर्न सक्यौँ।’

कार्यालयले भदौ महिनामा ९० करोड राजश्व उठाउने लक्ष्य राखेको छ। बाटो समयमा नै सञ्चालन हुन नसकेमा भदौ महिनाको लक्ष्य पनि पूरा हुन नसक्ने उनको भनाई छ। चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमा २ सयभन्दा बढी सवारी नेपाली आउने तयारीमा छन्। 

व्यापारी शैलेस पौडेलका अनुसार त्यहाँ करिब २ सय कन्टेनरमा शील लगाइएको छ। शील लगाएका गाडी नेपाल आउन नपाउँदा त्यहाँ शील चुडाएर सामग्री चोरी हुन थालेको व्यापारी पौडेलले बताए। ‘केरुङमा शील लगाएका राखेको सामग्री समेत चोरी हुन थालेको छ, उनले भने, यसका लागि समयमै बाटो सुचारु हुन जरुरी छ।’

पानीको उच्च बहावका कारण पुल मर्मतमा ढिलाई भएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ। ‘पानीको बहाव घटेको छैन्, डिभिजन प्रमुख निरज शाक्यले भने, मर्मत सकिन अझै १५ दिन लाग्ने अनुमान छ।’

पुल मर्मतमा ढिलाई हुँदा सवारी साधन सञ्चालन र भन्सार पूर्ण प्रभावित बनेको छ। नाकामा साउन महिनामा राख्न लागिएको वाक थ्रु गेट र लगेज एक्सरे मेसिन राख्ने कार्य हुन नसकेको रसुवागढी भन्सार कार्यालयले जानकारी दिएको छ। 

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात हुँदै आएको छ। रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ । चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लाष्टिकका सामग्रीहरू आयात हुने गरेको छ। 

नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, श्रृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, उनी गलैंचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिमलगायतका मुख्य वस्तुहरू निकासी भइरहेको छ। 

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

 

प्रकाशित: १ भाद्र २०७५ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App