७ वैशाख २०८१ शुक्रबार
कला

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

काठमाडौं – सातामा दुईदेखि तीनवटा फिल्म रिलिजको निरन्तरता चलिरहँदा शुक्रबारबाट चार फिल्म ‘ब्ल्याक’, ‘जय शम्भु’, ‘मिष्टर भर्जिन’ र ‘बाह्रमासे’ एकसाथ प्रदर्शनमा आउँदैछन् । एक्सन, कमेडी, प्रेमकथा र यौन मनोविज्ञानको कथाका यी फिल्म रिलिज हुन लागेका हुन्।

आकाश श्रेष्ठ र आँचल शर्माको प्रमुख भूमिका रहेको फिल्म ‘ब्ल्याक’ले प्रेमकथामा आधारित छ । आश्मा पाण्डेको लगानी रहेको फिल्ममा प्रदिप श्रेष्ठको निर्देशन छ । फिल्ममा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाललगायतको अभिनय छ। 

चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, महेश खड्का र प्रतीक पौडेलको संगीत, चन्द्र पन्तको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ।

त्यस्तै प्रेमकथा र एक्सन जन्रामा निर्माण भएको फिल्म ‘जय शम्भु’मा रुपेश तामाङको निर्देशन छ । तामाङ समुदायका दर्जन बढी फिल्म निर्देशन गरिसकेका उनको नेपाली फिल्ममा यो ‘डेब्यु’ निर्देशन हो।

एक युवतीका लागि दुई पुरुष पात्रको द्वन्द्वको कथा रहेको फिल्ममा प्रशान्त ताम्राकार, अनुपविक्रम शाही, वर्षा शिवाकोटी, रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट र कालु रानालगायतको अभिनय छ। 

दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्ममा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व, टंक बुढाथोकीको संगीत, वनिष शाहको सम्पादन, रामजी लामिछानेको नृत्य छ । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा अरविन्द्र शाक्य छन्।

माथिका दुई फिल्म भन्दा फरक कथा दर्शकले फिल्म ‘मिस्टर भर्जिन’मा हेर्न पाउनेछन् । यौन मनोविज्ञानको कथा प्रस्तुत गरिएको फिल्ममा प्रमुख तीन पात्रको यौन चाहनालाई फिल्ममा देखाइएको छ। 

विशारद बस्नेतको निर्देशन रहेको फिल्ममा मरिष्का पोखरेल, कमलमणि नेपाल, विजय बराल, गौरब पहारी, भोलाराज सापकोटा, सिर्जना सुब्बा, रविन्द्र झा, लोकेन्द्र लेखक, सागर ढकाल, पवन घर्ती मगर, कुलदिप अधिकारी, विशाल पहारी, किशोर भण्डारी, कमल गाउँले, रामचन्द्र अधिकारी, आर्जेश रेग्मी, सुशिल पोखरेल, सविन कट्टेल, धनराम मुस्कान, रमेश केसी ‘मट्टारे’, नारायण भण्डारी, अस्मिता लामिछाने र सन्ध्या पौडेलको अभिनय छ। 

वल्र्डवाइड फिल्मस् डिस्ट्रिब्युसनको ब्यानरमा निर्मित फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति शिवाकोटी, मुकेश रेग्मी र विरासद बस्नेतको निर्माण तथा सन्दिप उप्रेती र मनिष खत्रीको सहनिर्माण छ। 

फिल्ममा महेश दवाडीको लेखन, विक्रम स्वार र दीपकमान सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे र मिस्टर प्रिन्सको संगीत र रामेश्वर कार्कीको छायांकन हुनेछ । यो फिल्म ठमेलको लोकेसनमा छायांकन गरिएको छ।

त्यस्तै हास्य प्रधान फिल्म ‘‘बाह्रमासे’मा गाउँमा बाह्रमासे रूपमा जुवा तास खेल्ने युवाहरूको कथालाई उठाइएको छ । लय संग्रौलाले निर्देशन गरेको फिल्ममा जयकिशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल र राधा श्रेष्ठलगायतको अभिनय छ।

फिल्ममा प्रदिप पाठकको लेखन तथा निर्माण, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, बासु न्यौपानेको छायांकन, अनन्त घिमिरेको सम्पादन छ । शुक्रबार थप एक अंग्रेजी फिल्म पनि हलमा रिलिज हुँदैछ । मानिस र ब्वाँसोबीचको मित्रताको कथा पस्कने ‘अल्फा’ शुक्रबार नै रिलिज हुने अर्को फिल्म हो। 

भारतको स्वतन्त्रता दिवसको अवसर पारे दुई बलिउड फिल्म भने बुधबारदेखि नै हलमा कब्जा जमाएर बसेका छन् । ‘गोल्ड’ र ‘सत्यमेव जयते’ले बुधबारदेखि नै राजधानीमा चलिरहेका छन्। 

 

प्रकाशित: १ भाद्र २०७५ ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App