८ वैशाख २०८१ शनिबार
राजनीति

कर्णाली सरकारको कार्यदल पनि निष्क्रिय

जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल घटनाको छानबिनका लागि कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलले एक साता बित्न लाग्दा समेत काम अघि बढाउन सकेको छैन। गत शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अस्पताल घटनाको छानबिनका लागि कार्यदल गठन गरेको थियो।

सरकारीस्तरमै अस्पताल घटनाको छानबिन हुने खबरले उत्साहित कर्णालीवासी अहिलेसम्म काम अघि नबढेकोमा निराश हुन थालेका छन्। उनीहरूले कार्यदल बनाएर कर्णाली सरकार उम्किन खोजेको आरोप लगाएका छन्। मन्त्रिपरिषद् बैठकले कार्यदललाई एक साताको समय दिएको थियो । आउँदो शनिबार एक साता पूरा हुँदैछ। बिहीबारसम्म छानबिन प्रक्रिया अघि बढ्न सकेको छैन। कार्यदलका संयोजक कलानिधी पौडेलले कार्यदललाई छानबिनका लागि चिट्ठी नआएको बताए। कार्यदलसम्बन्धी मन्त्रिपरिषद्को पत्र नआएकाले काम अघि बढ्न सकेको छैन,’ उनले भने, ‘पत्र प्राप्त हुनेबित्तिकै छानबिन सुरु हुनेछ।’

सरकारीस्तरमै अस्पताल घटनाको छानबिन हुने खबरले उत्साहित कर्णालीवासी अहिलेसम्म काम अघि नबढेकोमा निराश हुन थालेका छन् । उनीहरूले कार्यदल बनाएर कर्णाली सरकार उम्किन खोजेको आरोप लगाएका छन्।

संयोजक पौडेलले भदौ १ मा मुलुकी ऐन दिवस मनाई जुम्ला आएर काम थाल्ने सोच बनाइरहेको बताए। उनले प्रतिकूल मौसम र व्यक्तिगत स्वास्थ्यमा आएको खराबीलगायतका कारण समयमै जुम्ला आउन नसकिएको जानकारी दिए । कार्यदलले काम सुरु गरेको एक साताभित्र प्रतिवेदन बुझाउनुपर्ने उनले बताए । तर, काम सुरु नभएकाले छानबिनको दिनगन्ती सुरु भइनसकेको उनको भनाइ छ । कार्यदल सदस्यलाई जुम्ला आउनका लागि जहाजको टिकट पनि व्यवस्था हुन सकेको छैन । कार्यदलमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृर्षबहादुर शाही सदस्य छन्।

प्रदेश सरकारले कार्यदल बनाइसकेको भन्दै प्रतिष्ठान कार्यकारी परिषद्ले गठन गरेको छानबिन समिति निष्क्रिय भएको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले भने, ‘प्रदेश सरकारद्वारा गठित कार्यदलको गतिविधि हेरौं, उहाँहरूको प्रतिक्रिया बुझौं, त्यसपछि मात्रै कार्यकारी परिषद्ले बनाएको छानबिन समिति अघि बढ्ने वा नबढ्ने भन्ने निक्र्योल हुनेछ ।’ एकै प्रकृतिका काम दुई फरक समितिले दुईपटक गर्दा राम्रो सन्देश नजाने भन्दै उनले कर्णाली सरकारको कार्यदलले नै सबै कुरा टुंग्याओस् भन्ने पक्षमा आफूहरू रहेको बताए।

सरकारी कार्यदलका संयोजक पौडेलले मौसम अनुकूल हुनेबित्तिकै जुम्ला पुगेर अस्पतालभित्र र बाहिरको अवस्था चित्रण गर्नेगरी काम थाल्ने बताए। ‘घटनाको सत्यतथ्य बुझेर सही प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गर्नेछौं,’ उनले भने। घटनास्थलको प्रकृति र समग्र अध्ययनको निचोडका आधारमा अनुसन्धान अघि बढ्ने कार्यदलले जनाएको छ। ‘जुम्लामा आएर सबै सरोकारवालासँग भेटघाट गर्नेछौं, वास्तविक कुरा पत्ता लगाएर प्रतिवेदन तयार पार्नेछौं,’ पौडेलले भने, ‘दोषीलाई कारबाहीका लागि सिफारिस गर्ने वा नगर्नेबारे छानबिनपछि मात्रै टुंगो लाग्नेछ।’ उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद्ले गठन गरेको छानबिन समितिको कामबारे पनि बुझ्ने बताए।

कर्णाली प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख तथा कार्यदलका सदस्य शाही मन्त्रालयको काम गर्न भन्दै काठमाडौं पुगेका छन्। ‘मन्त्रालयको कामका लागि काठमाडौं आएको छु,’ कार्यदल सदस्य शाहीले भने, दुई गतेसम्म जुम्ला पुग्ने तयारी थालेका छौं, निर्धारित समयभित्र छानबिन सकिँदैन, दुईचार दिन लम्बिन सक्छ।’

कर्णाली सरकारले गठन गरेको कार्यदलले एक सातासम्म काम सुरु गर्न नसकेकोमा स्थानीय आक्रोशित छन्। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले कर्णाली सरकारको कार्यदलले अहिलेसम्म छानबिन अघि बढाउन नसकेकोमा असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘जुम्ला घटना छानबिनका लागि जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ हुने गरेको छ ।’ प्रतिष्ठानले गठन गरेको समितिले काम गर्न नसकेको अवस्थामा कर्णाली सरकारको कार्यदलले समेत काम गर्न नसक्नु राम्रो पक्ष नभएको उनको भनाइ छ ।

महतले भने, ‘जुम्लावासी अस्पताल घटनाको दोषीलाई छानबिनका माध्यमबाट कारबाही सिफारिस भएको हेर्न चाहन्छन्, छानबिनका नाममा दोषीले उन्मुक्ति पाउनु हुँदैन। सरकारी कार्यदलबाट ठूलो जनअपेक्षा छ, त्यो चाँडै पूरा गरिनुपर्छ।’ चिकित्साशिक्षा सुधारको माग राख्दै जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं लैजाँदै गर्दा जुम्ला अस्पतालमा प्रहरी र आन्दोलन समर्थक चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल कर्मचारीबीच झडप भएको थियो। जसमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप लाग्दै आएको छ।

प्रकाशित: १ भाद्र २०७५ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App