coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीन महिनामै उप्कियो कालोपत्रे

काठमाडौं - गत चैत अन्तिम साता काठमाडौं महानगरपालिका ७ सरस्वतीनगर र कपन क्षेत्रका बासिन्दाको खुसी चुलियो। नचुलियोस् पनि किन ? वर्षाैंदेखि धुलाम्मे र हिलाम्मे सडकका कारण उत्पन्न समस्याबाट मुक्ति पाएका थिए उनीहरूले।

सडक विस्तार गर्न कपन प्रवेशको प्रमुख मार्ग गोपीकृष्ण–सरस्वतीनगरको सडक भत्काइयो २०७२ मंसिरमा। त्यसयता सुरु भएको सडक सकस अन्त्य हुन २०७४ चैत अन्तिम सातासम्म कुर्नुप-यो। सो अवधिमा विभिन्न बहानामा सडक अलपत्र छोडिँदा स्थानीयदेखि यात्रुसम्मले धुलो र हिलोको सास्ती खेप्नुप-यो। सडक आसपासका पसल धुलोले हेरिनसक्नु हुन्थे। पैदलसमेत हिँड्न नसकिने गरी लामो समयसम्म सडक अलपत्र अवस्थामा रह्यो।

जीर्ण सडक लामो समयसम्म नबनेपछि त्यस क्षेत्रका बासिन्दाले सांसददेखि मन्त्रीसम्म गुहारे। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का सांसद गगन थापाले धेरैपटक सडकको दुरवस्था अवलोकन गरी सरोकारवालासँग छलफल गरे–गराए। स्थानीयको चर्को दबाबपछि बल्लतल्ल गत चैतमा सडक कालोपत्रे गरियो। स्थानीयले कालोपत्रे सडक प्रयोग गर्न पाए। यो खुसीले सरस्वतीनगरका बासिन्दामात्र हैन, कपनवासीको अनुहार पनि चम्कियो।

विडम्बना ! त्यस क्षेत्रका बासिन्दाको यो खुसी तीन महिना पनि टिकेन। चैत २३ देखि २६ गतेसम्म यो सडकमा गरिएको कालोपत्रे असारमै ठाउँठाउँमा उप्कियो। कालोपत्रे उप्किएपछि सडकमा खाल्डा पर्न थाले। अहिले गोपीकृष्णचोकबाटै सडकमा खाल्डा देखिन थालेका छन्। बीचको केही भाग भत्किएको छैन। नभत्किएको ठाउँमा पनि सडक चिराचिरा परेको छ। भृकुटीचोकमा सडक भत्किएर खाल्डो बनिसकेको छ। सडक भत्किएर पहिलाको जस्तै हिलो र धुलो हुन थालेपछि त्यस क्षेत्रका बासिन्दा चिन्तित छन्।

‘लामो सयमसम्म सडक भत्काएर अलपत्र पारिँदा भोग्नुसम्मको सास्ती भोग्यौं,’ सरस्वतीनगरमा सनसाइन बेकरी सञ्चालन गर्दै आएकी तुलसा मुखियाले भनिन्, ‘ढिलै भए पनि सडक कालोपत्रे हुँदा औधी खुसी लागेको थियो । खुसी भएको तीन महिना नपुग्दै सडक भत्किएर धुलो उड्न थालिसकेको छ ।’ सडक कुरूप भएपछि एकातिर व्यापार नहुने समस्या हुन्छ भने अर्कोतिर धुलो खानुपर्ने बाध्यता। मुखियाजस्तै सडक आसपास व्यवसाय गर्ने र दिनहुँ यो सडक भएर आहोरदोहोर गर्ने हजारौं कष्ट झेल्न बाध्य छन्।

ठेकेदार कम्पनीले गुणस्तरीय काम नगर्दा राज्यकोषबाट करोडौं खर्च गरेर बनाइएको सडक तीन महिनामै क्षतविक्षत भएको स्थानीयको ठम्याइ छ। कालिञ्चोक फुड सप्लायर्सका सञ्चालक पूर्णबहादुर खप्तरीका अनुसार ठेकेदारले वर्षा भइरहेका बेला कालोपत्रे गरेको तथा कमसल मसला प्रयोग गरेकाले सडक तीन महिनामै भत्किएको दाबी गरे।

सडक डिभिजन कार्यालय काठमाडौं १ ले बल्र्डवाइड मस्दिङ देवी जेभीलाई २०७२ असोज २१ गते सडक बनाउने कार्यादेश दिएको थियो। ६ करोड ५८ लाख ६४ हजार रुपैयाँमा गोपीकृष्ण–भृकुटीचोकको १३ सय मिटर सडक बनाएर २०७४ चैत ३० सम्म सक्नुपर्ने सम्झौतामा उल्लेख थियो। सम्झौता अवधिभित्रै सडक कालोपत्रे भए पनि साइडका ससाना काम अझै बाँकी छन्। ती काम गर्न २०७५ पुस मसान्तसम्म मिति थपिएको छ । कालोपत्रे गरेको सडक भने भत्किन थालेको छ। सडक कालोपत्रे पाँच वर्षसम्म टिक्नुपर्ने हुन्छ। तीन महिनामै सडक भत्किनुले ठेकेदार कम्पनीले गुणस्तरीय काम नगरेको प्रस्ट भएको छ । तत्कालीन समयमा डिभिजन कार्यालयबाट उक्त सडकको निगरानी गरेका इन्जिनियर मेघनाथ थपलिया भने गुणस्तरहीन काम भएको मान्न तयार छैनन् । ‘त्यो सडकमा कालोपत्रे उप्किएको भन्दा पनि भासिएको हो,’ थपलियाले भने, ‘सडक बनाएपछि खनेर मेलम्ची खानेपानीको पाइप र ढलको पाइप राखिएको छ। तिनै पाइप राखेको ठाउँमा सडक भत्किएको छ।’ उनका अनुसार जसरी भत्किए पनि मर्मतको जिम्मा भने ठेकेदारकै हुन्छ।

सडक डिभिजन कार्यालय काठमाडौं १ का सूचना अधिकारी सुशील राजभण्डारीले कालोपत्रे गरेको केही महिनामै उप्किएर सडक भत्किएको स्वीकारे।

‘कालोपत्रे गरेको तीन–चार महिनामै भत्किनुले ठेकेदारको पनि कमजोरी देखिन्छ,’ उनले भने, ‘हामीले सडक अनुगमन गरेर ठेकेदार कम्पनीलाई यसबारे पत्रचारसमेत गरेका छौं।’ उनका अनुसार ठेकेदार कम्पनीले काम सम्पन्न गरेर हस्तान्तरण गरेको छैन । निर्माण सम्पन्न गरेर कार्यालयलाई हस्तान्तरण गरेपछि पनि वर्ष दिनसम्म सडक बिग्रिए÷भत्किए मर्मतको जिम्मा ठेकेदारकै हुन्छ। ठेकेदार कम्पनीले पनि सडक मर्मत गर्ने बताएको जानकारी उनले दिए । सडक डिभिजन कार्यालय काठमाडौं १ बाट ठेकेदारले काम गरेको रकम भुक्तानी लिन बाँकी छ । ठेकेदारले ठेक्का रकमको ७५ प्रतिशत भुक्तानी लिइसकेको कार्यालयले जनायो।

ठेकेदार कम्पनीका अरुण खड्काका अनुसार स्थानीयको दबाबका कारण हतारिएर कालोपत्रे गर्दा सडक भत्किएको हो । ‘सबैतिरबाट सडक चाँडो बनाउन दबाब आयो,’ खड्काले भने, ‘हतारिएर गर्दा कालोपत्रे धेरै दिन टिकेन।’ हिउँद लागेपछि सडक मर्मत गरिने उनले बताए।

ठेकेदारले सडक मर्मत गर्ने प्रतिबद्धता जनाए पनि स्थानीयले उसलाई कारबाहीसमेत गर्नुपर्ने माग राखेका छन्। ‘कालोपत्रे गरेको तीनचार महिनामा भत्किनु ठेकेदारकै कमजोरी हो,’ स्थानीय पूर्णबहादुर खप्तरीले भने, ‘यसरी कमसल काम गर्ने ठेकेदारमाथि कारबाही हुनुपर्छ ।’ कपनमा व्यवसाय गर्दै आएका कुन्दन कुसवाह पनि ठेकेदारमाथि कारबाही हुनुपर्ने बताउँछन् । ‘कारबाही गरिएन भने ठेकेदारले फेरि पनि यस्तै कमसल काम गर्नेछ,’ उनले भने, ‘सचेत गराउनकै लागि भए पनि कारबाही गर्नुपर्छ ।’ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का सांसद थापा पनि यति चाँडै सडक भत्किनुको कारण पत्ता लगाउन छानबिन हुनुपर्ने बताउँछन्।

प्रकाशित: १ भाद्र २०७५ ०१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App