४ वैशाख २०८१ मंगलबार
समाज

खोलाले बगाउँदा सिन्धुपाल्चोकमा दुईको ज्यान गयाे

सिन्धुपाल्चोक - छुट्टाछुट्टै घटनामा खोलाले बगाएर सिन्धुपाल्चोकमा बिहीबार दुईको मृत्यु भएको छ। खोला तर्ने क्रममा भएका घटनामा दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार पश्चिमी क्षेत्रमा पर्ने सिन्धु खोलाले बगाउँदा मेलम्ची नगरपालिका १२ का ५५ वर्षीय लक्ष्मीबहादुर माझीको मृत्यु भएको हो। बिहान ७ बजेतिर उक्त खोला तरेर कोदो रोप्न जाने क्रममा बर्खामा उर्लिएको खहरेले उनलाई बगाएको डिएसपी बिमलराज कडेलले बताए। घटनापछि खोजीमा जुटेको प्रहरीले साढे नौ घण्टापछि अपराह्न साढे ४ बजे भीमटारस्थित इन्द्रावती नदीमा माझीलाई मृत अवस्थामा फेला पारेको थियो। 

यस्तै भोटेकोसी नदीले बगाएर बाह्रविसे नगरपालिका ५ गातीका २७ वर्षीय निमाछिरिङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई कसरी नदीले बगायो भन्ने खुल्न सकेको छैन। 

चालक फेला परेनन् 
उता ब्रह्मायणी नदीमा बुधबार ट्रिपरसहित बगेर बेपत्ता भएका चालक साङ लामा अझै फेला पर्न सकेका छैनन्। जुगल गाउँपालिकामा निर्माणाधीन बलेफी खोला–ए जलविद्युत आयोजनामा कार्यरत उनी सुरुङ (टनेल) बाट निक्लिएको ढुंगामाटो फाल्ने क्रममा बा४प ९५८० नम्बरको ट्रिपरसहित चिप्लिएर नदीमा खसेका थिए। घटना लगत्तैदेखि प्रहरी खोजीमा जुटिरहे पनि बेपत्ता चालक र ट्रिपर फेला पार्न नसकेको डिएसपी कडेलले जनाए। 

 

प्रकाशित: ३१ श्रावण २०७५ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App